सप्तरी घटनाः झडप निरन्तर

 सप्तरी घटनाः झडप निरन्तर

राजविराज/काठमाडौः सप्तरी झडपपछि आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताले सप्तरी र आसपासका जिल्लामा मंगलबार दिनभर प्रदर्शन र नाराबाजी गरेका छन् । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख एसपी र सशस्त्र प्रहरी प्रमुख एसपीलाई मन्त्रालयमा तानेको छ । गृहले प्रजिअ उद्धव तिमिल्सिना, प्रहरी प्रमुख एसपी दिवेश लोहनी र सशस्त्र प्रहरी प्रमुख एसपी जयबहादुर खड्कालाई मन्त्रालयमा तानेको हो । गृहले सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीलाई पनि फिर्ता बोलाएको छ ।मन्त्रालयले अर्घाखाँचीका प्रजिअ कृष्ण कटुवाललाई निमित्त प्रजिअ, अनुराग द्विवेदीलाई प्रहरी प्रमुख र रामआधार यादवलाई सशस्त्र प्रहरी प्रमुखको जिम्मा दिएको जानकारी मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले दिए ।
 
स्थिति सामान्य बनाउन निर्देशन
 गृहमन्त्री विमलेन्द्र निधिले मंगलबार बिहान तीनवटै सुरक्षा निकायका प्रमुखलाई घटनापछि सप्तरीमा उत्पन्न स्थिति सामान्य बनाउन निर्देशन दिएका छन् । गृहमन्त्रीले प्रहरी मुख्यालय नक्सालमा तीनै सुरक्षा प्रमुखबाट घटनाको ब्रिफिङ लिँदा यस्तो निर्देशन दिएका हुन् । बैठकमा नेपाल प्रहरीका कार्यवाहक प्रमुख डा. दिनेशचन्द्र पोखरेल, सशस्त्रका प्रमुख सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीप रेग्मीलगायत उपस्थित थिए ।
 
मंगलबार पनि झडप 
सदरमुकाम राजविराजमा अनिश्चितकालीन बन्द आह्वान गर्दै प्रदर्शनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच अदालत रोडमा मंगलबार पनि झडप भएको छ । प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले तीन सेल अ श्रुग्यास प्रहार गरेको छ । मोर्चाका कार्यकर्ताले बिहानैदेखि राजविराजसहित विभिन्न बजारका चोकमा टायर बालेर सरकार र स्थानीय प्रशासनको विरोधमा चर्को नाराबाजी गर्दै प्रदर्शन गरे ।
आक्रोशित प्रदर्शनकारीले एमाले आमसभाको कार्यक्रमस्थल रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तोडफोड गरी आगो लगाएका छन् । उनीहरूले मिलन डेरी उद्योगमा ढुंगा प्रहार गरी सिसाहरू फुटाएका छन् । दिउँसो औद्योगिक क्षेत्रको कार्यालय प्रमुखको कार्यकक्षमा आगो लगाएका प्रदर्शनकारीले साँझ पुनः उनको निवासमा आगो लगाएका छन् ।
 
औद्योगिक क्षेत्रको मुख्य गेटअगाडि बमजस्तो देखिने दुई थान शंकास्पद वस्तु र सात दशमल ६२ को तीन राउन्ड गोली फेलापरेको सुरक्षा स्रोतले जनाएको छ । यस्तै मोर्चाका कार्यकर्ताले राजविराज ६ मा रहेको स्थानीय शान्ति समितिको कार्यालयमा आगो लगाएका छन् । मोर्चा कार्यकर्ताले राजविराजमै रहेको जिल्ला बन कार्यालय र क्वार्टरमा पनि आगो लगाउने प्रयास गरे । उनीहरूले राजविराजस्थित दूरसञ्चार कार्यालय र नगरपालिका कार्यालयमा ढुंगा प्रहार गरी सिसा फुटाएका छन् भने राष्ट्रिय वाणिज्य बैंकमा पेट्रोल बम प्रहार गरेका छन् । राजविराज ८ मा सशस्त्र प्रहरी सवार स १ प ५८४४ नम्बरको मोटरसाइकलमा आगो लगाइएको छ ।
 
प्रदर्शनकारीले भारदह १ कोसी ब्यारेजस्थित सशस्त्र प्रहरीको चेक पोस्टमा समेत आगो लगाएका छन् । मोर्चाका एक कार्यकर्ताले अधिवक्ता सुजित पोखरेललाई उनको ल फर्म अगाडि मोसो दलेर भागेका छन् ।
 
प्रहरीसँगको झडपमा गोली लागेर सप्तरी जिल्ला बार एकाइका कोषाध्यक्ष दिगम्बर यादव गम्भीर घाइते भएपछि आक्रोशित कानुन व्यवसायीले राजविराजमा मौन जुलुस प्रदर्शन गरेका छन् । घटनाको विरोधमा नयाँ शक्ति पार्टीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै राजविराजमा प्रदर्शन गरेको छ । मोर्चा बैठकले एमालेका समर्थकलाई सप्तरी जिल्लामा सामाजिक बहिष्कार गर्न आह्वान गरेको छ । मोर्चा बैठकले प्रहरीको गोलीबाट मारिएका तीनैजनालाई सहिद घोषणा, परिवारलाई राहत तथा पीडित परिवारका एक सदस्यलाई सरकारी जागिर दिन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.