महिला दिवसमा राजधानीमा ‘मार्च पास’
काठमाडौँ : अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर राजधानीमा युवा समूहले मार्च पास गरेका छन्। राजधानीको सामाखुसी चोकबाट सुरु भएको मार्च पास बालाजुको माछापोखरी चोकसम्म पुगेर कोणसभामा परिणत भएको छ।
सकारात्मक विकास सञ्चार केन्द्र, सुस्मिता फाउण्डेशन, युथ एड्भोकेसी नेपाल, प्रगतिशिल महिला समाजलगायतका संस्थाले संयुक्त रुपमा कार्यक्रम गरेका हुन्।
कार्यक्रममा बोल्दै एमाले सांसद शेरबहादुर तामाङले संविधानमा महिलालाई अधिकार दिइएकाले अब कोही महिला पिल्सिएर बस्नु नपर्ने बताए। त्यस्तैगरि कांग्रेस सांसद दिलमान पाख्रिनले नयाँ संविधानले राजनीतिक क्षेत्रमा महिलालाई पुरुष बराबर अधिकारको सुनिश्चित गरेको भन्दै यो कागजमा मात्र सिमित हुन नदिन महिलालाई आग्रह गरे।
कार्यक्रममा बोल्दै सकारात्मक विकास केन्द्रका अध्यक्ष भीम लामाले नेपाल महिलाको प्रतिनिधित्वको हिसाबले दक्षिण एशियामै अगाडि रहेको बताए ।