तिनवटै चुनाव नगरी उपलब्धी रक्षा हुँदैनः उपराष्ट्रपति पुन
पर्वतः उपराष्ट्रपति नन्दबहादुर पुनले सात दशक लामो संघर्षपछि प्राप्त संविधानको सफल कार्यान्वयनका लागि तीनै तहको चुनाव सम्पन्न गर्नुपर्ने बताएका छन् ।
सदरमुकाम कुश्माबजारमा मंगलवारदेखि सुरु भएको नवौं पश्चिमाञ्चल स्तरीय महिला महोत्सवलाई सम्वोधन गर्दै उपराष्ट्रपति पुनले अबको ११ महिनामा तीन वटै चुनाव सम्पन्न गर्नुपर्ने बताएका हुन् । थोरै समयमा तीनवटै चुनाव गर्न ठुलो चुनौती रहेपनि राजनीतिक दलहरुको सहमति र प्रतिवद्धता भएमा कुनै समस्या नहुने पुनले बताए ।
संविधानमा व्यवस्था भएका तीनै तहको निर्वाचन नभएसम्म संविधानको सफल कार्यान्वयन हुन नसक्ने बताउँदै राजनीतिक दलहरुले यसलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनले वैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको चुनावले आम नेपालीमा खुसियाली छाएको बताउँदै उक्त निर्वाचनलाई उत्सवको रुपमा सम्पन्न गर्नुपर्ने बताए । झण्डै २० वर्षसम्म जनप्रतिनिधि बिहीन बनेको स्थानीय तहले अब नयाँ नेतृत्व पाउने बताउँदै कुनैपनि बहानामा निर्वाचन रोक्न नहुनेमा जोड दिए । २०७४ साल चुनावी वर्षको रुपमा रहने दावी उपराष्ट्रपति पुनले गरे ।
एक सय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा बोल्दै नेपालको संविधानले महिलाहरुलाई पूर्ण अधिकार दिएको बताए । राष्ट्रपति, सभामुख, प्रद्यानन्यायधिश जस्ता सर्वोच्च पदमा महिलाले नेतृत्व गर्नु आम नेपाली महिलाहरुको गौरबको कुरा रहेको पुनले बताए ।
उनले मुलुकको विकास र अग्रगमनका लागि सञ्चार माध्यामको भूमिका महत्वपुर्ण हुने बताए । उनले संविधान कार्यान्वयन र तीनै तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्ने बतावरण बनाउनका लागि सञ्चार माध्यामले पनि आवश्यक पहल गर्नुपर्ने बताए ।
सामुदायिक रेडियो दिदीबहिनीले आयोजना गरेको महोत्सव फागुन ३० गतेसम्पन्न हुनेछ । उद्घाटन लगत्तै उपराष्ट्रपति पुनले बृद्धबृद्धा, एकल महिला, उत्कृष्ट कृषक, उद्यमी तथा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री, पञ्चेवाजा समेत वितरण गरेका थिए ।
कार्यक्रममा सांसद तथा व्यवस्थापिका संसद अर्थसमितिका सभापति प्रकाश ज्वाला, सांसद अर्जुनप्रसाद जोशी, कल्पना चापागाई, लगायतले धारणा प्रस्तुत गरेका थिए ।
महोन्सवमो भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, भजन तथा पञ्चेवाजा प्रतियोगिता लगायतका आकर्षणहरु रहेका छन् । महोत्सवमा २ लाख दर्शक भित्र्याउने र ४० लाखको कारोबार गर्ने लक्ष्य छ ।
पुनले सम्झिए द्वन्द्वकाल
महोत्सवको उद्घाटन गर्न आएका उपराष्ट्रपति पुनले द्वन्द्वकालमा आफू पर्वतमा आएर गरेका गतिविधि स्मरण गरेका छन् । उनी वि.सं.२०५८ सालमा पर्वत आउँदा भएका घटना स्मरण गरेका हुन् । त्यतिवेला आफू पर्वतमा आक्रमण गर्ने योजना बनाउन पार्टीले खटाएर सदरमुकाम कुश्माबजार आएको बताए । तत्कालीन सरकारले मेरो टाउँकोको मुल्य समेत तोकेको थियो, अर्कोतिर पर्वत जिल्ला आक्रमण गर्ने योजनाका साथ पार्टीले मलाई खटाएको थियो । त्यस्तो अवस्थामा म कुश्माबजारमा आएको थिएँ ।
त्यसवेला जिल्ला प्रशासन कार्यालय पुरेर प्रमुख जिल्ला अधिकारीको कार्याकक्ष लगायत सवै कक्षहरु अवलोकन गरेको उनले सुनाए । जिल्लाका अन्य सरकारी कार्यालय, जिल्ला कारागार शाखा लगायतमा पुगेर पूर्ण विवरण लिनुका साथै नक्सा समेत तयार पारेर स्याङ्जातर्फ फर्किएको उनले स्मरण गरे ।