यी हुन् नयाँ पुस्ताका उम्दा खेलाडी

यी हुन् नयाँ पुस्ताका उम्दा खेलाडी

विश्वका धेरै मुलुकमा जस्तै नेपालमा पनि महिला र पुरुषबीच विभेद छ। यहाँको सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिक र खेलकुदलगायतका क्षेत्रमा पुरुषको तुलनामा महिलाको पहुँच ज्यादै न्यून छ। नेपालमा कुल जनसंख्याको आधाभन्दा बढी ५१.५०५ प्रतिशत हिस्सा ओगटेका महिला राज्यका हरेक क्षेत्रमा पछाडि परेका छन्।

कुनै समय नेपाली खेलकुदमा महिला सहभागिता वर्जित थियो। 'खेलकुद पुरुषले मात्र खेल्ने हो' भन्ने मानसिकताका कारण धेरै पछि मात्र महिला यस क्षेत्रमा लागे। अहिले अवस्था फेरिएको छ। पुरुषसँगै थुप्रै प्रतिभाशाली खेलाडीले नेपाली खेलकुदलाई अगाडि बढाइरहेका छन्।

राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय हरेक क्षेत्रमा महिला खेलाडीले अब्बल प्रदर्शन गर्दै आएका छन्। प्रतिभाशाली खेलाडीको खेलप्रतिको लगाव, समर्पण र प्रदर्शनले नेपाली खेलकुद क्षेत्रले फड्को मारेको छ।

गत वर्ष भारतको सिलिगुडी र सिलोङमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी एक सय ८७ महिला खेलाडीमध्ये तीनजनाले स्वर्ण पदक जिते। जसमा उसुकी नीमा घर्ती मगर र जुडोकी फुपूल्हामु शेर्पाले गर्विलो प्रदर्शन गरे। २३ स्वर्ण जित्ने खेलाडीमा महिला फुटबलका २० सहित ३२ महिला थिए। ३४ कांस्यमा भलिबल, हक्की र खोखाका ५१ खेलाडीसहित ६४ महिला खेलाडी सहभागी थिए।


गतवर्ष सम्पन्न ३१ औं गृष्मकालीन रियो ओलम्पिक खेलकुदमा नेपालबाट जुडोकी फुपूल्हामु खत्री, पौडीकी गौरिका सिंह, तेक्वान्दोकी निशा रावल र एथलेटिक्सकी प्रमिला रिजालले सहभागिता जनाए।

गत पुसमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एक हजार ६ सय ६९ महिला खेलाडी सहभागी भए। खेलकुदमा लागेको छोटै समयमा पछिल्लो पुस्ताका थुप्रै महिला खेलाडीले आफ्नो सम्भावना उजागर गरेका छन्। लोभलाग्दो प्रदर्शनबाट नेपाली खेलकुद क्षेत्रमा नयाँ ऊर्जा र सम्भावना देखाएका केही महिला खेलाडीको चर्चा यहाँ गरिएको छ।
००

सानी जलपरी
गौरिका सिंह (पौडी)
गत वर्ष ब्राजिलको राजधानी रियो दि जेनेरियोमा सम्पन्न ३१ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा संसारभर नेपालको नाम तरंगित भयो। कुनै खेलाडीले पदक जितेर वा चमत्कारिक प्रदर्शनले नेपालको नाम गुञ्जायमान भएको थिएन।

सात समुद्रपारिको देशबाट संसारभर नेपाललाई चिनाउने काम गरेकी थिइन्-जलपरी गौरिका सिंहले। आफ्नो इभेन्टमा हिट चरणबाटै बाहिरिए पनि गौरिका रियो ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी बनिन्।

सानै उमेरमा विश्व खेलकुदको कुम्भमेलामा सहभागी भएर उनले प्रशंसा त कमाइन् नै आफ्नो देशको पनि नाम संसारभर चिनाउन सफल भइन्। १३ वर्षीया गौरिका रियो ओलम्पिकमा सहभागी हुनुअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा एक रजतसहित चार पदक जितेर कीर्तिमान बनाएकी थिइन्। व्यक्तिगत स्पर्धामा पौडीमा पदक जित्ने पहिलो खेलाडी बनेर कीर्तिमान बनाइन्। उनले गत वर्ष विभिन्न प्रतियोगितामा २२ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

विदेशमा चर्चा
प्रतिभा माली (भलिबल)
भनिन्छ, निरन्तरको साधना र समर्पणबाट नै प्रतिभाशाली खेलाडी जन्मन्छन्। यही कुरा लागू हुन्छ भलिबल खेलाडी प्रतिभा मालीमा पनि। दुई कक्षा पढ्दादेखि डिगिङ र रेजिङ गर्न थालेकी प्रतिभा अहिले नेपालकी नम्बर एक भलिबल खेलाडी बनेकी छिन्। कक्षा १० मा अध्ययनरत १५ वर्षीया किशोरी प्रतिभाले स्वदेशमा त आफ्नो जादु देखाएकै छिन् विदेशमा पनि चर्चा बटुल्दै आएकी छन्।

दक्षिण एसियामा नेपाली भलिबलले ठूलो उपलब्धि हासिल गर्न नसकेको अवस्थामा प्रतिभाकै प्रेरणामा १२ औं सागमा कांस्यपदक जित्न सफल भयो। न्यु डायमन्ड एकेडेमीकी प्रमुख खेलाडी प्रतिभा घरेलु प्रतियोगितामा रुचाइएको नाम हो। उनकै प्रेरणामा गत पुसमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मध्यमाञ्चलले रजत पदक जितेको थियो।

सन् २०१६ मा माल्दिभ्सको राष्ट्रिय क्लब च्याम्पियनसिप प्रतियोगितामा सहभागी उनले टोलीलाई उपाधि जिताएर आएकी थिइन्। उनको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै हुन थालेको छ। हरेकजसो प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिंदै आएकी प्रतिभाले अहिलेसम्म चारवटा स्कुटर जितिसकेकी छन्। 

गत वर्ष भारतको सिलिगुडी र सिलोङमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी एक सय ८७ महिला खेलाडीमध्ये तीनजनाले स्वर्ण पदक जिते। त्यही वर्ष रियो ओलम्पिक खेलकुदमा नेपालबाट जुडोकी फुपूल्हामु खत्री, पौडीकी गौरिका सिंह, तेक्वान्दोकी निशा रावल र एथलेटिक्सकी प्रमिला रिजालले सहभागिता जनाए। 

'अहिले मैले जुन उचाइ र परिचय हासिल गरेकी छु। त्यो भलिबलकै कारण पाएको हुँ। त्यसैले भोलिका दिनमा पनि भलिबललाई नै निरन्तरता दिन्छु', प्रतिभा भन्छिन्। उनी यसको श्रेय भने न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल एवं भलिबल प्रशिक्षक कुमार राईलाई दिन्छिन्।

'मैले अहिले जुन सफलता हासिल गरेकी छु, यसमा न्यु डायमन्ड र गुरु कुमार सरको महत्वपूर्ण भूमिका छ। हामीलाई सानै उमेरदेखि खेलाएर तिखार्ने काम कुमार सरले गर्नुभएको हो', उनी भन्छिन्।

००
पराइ भूमिमा सफल रेजिना
रेजिना कार्की (तेक्वान्दो)
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक र प्रदर्शनका हिसाबले सबैभन्दा सफल खेल तेक्वान्दो हो। संगीना वबैद्य र दीपक विष्ट छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी भएको गौरवमय पदचापलाई अहिले धेरै युवा खेलाडीले पछ्याइरहेका छन्। तिनैमध्येकी एक हुन्-रेजिना कार्की।

इटहरीकी २३ वर्षीया कार्की लामो समयदेखि राजधानीमा बसेर खेललाई अगाडि बढाइरहेकी छन्। पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेकी उनले १२ औं सागमा पनि सडनडेथमा स्वर्ण पदक गुमाएकी थिइन्। पहिलो अन्तर्राष्ट्रिय सहभागितामै प्रभावशाली प्रदर्शन गरेकी उनीबाट भविष्यमा निकै आशा गर्न सकिने उनको खेललाई नजिकबाट नियालेका प्रशिक्षकहरू बताउँछन्।

रेजिना तेक्वान्दोबाट टाढा हुने कल्पनासम्म नगरेको बताउँछिन्। 'मैले सानै उमेरदेखि तेक्वान्दो सिकें। अहिले पनि यही खेलमै रमाइरहेकी छु। यसबाट टाढा रहने कल्पना गरेकी छैन', रेजिनाले भनिन्।
००
पाँच वर्षमै टेनिस
मायांका राणा (लनटेनिस)
नेपालमा सन् १९८७ मा टेनिस भित्रिएको हो। सन् १९८८ बाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको हो। तर नेपालमा महिला टेनिस खेलाडीको खडेरी नै थियो भन्दा फरक नपर्ला।

अन्य खेलमा महिला सहभागिता उलेख्य रहे पनि टेनिस र सफ्ट टेनिस दुवैमा अत्यन्त न्यून मात्र महिलाको सहभागी पाइन्छ तर अहिले अवस्था फेरिएको छ। पछिल्लो पुस्ताका थुप्रै छात्रा टेनिसमा लागेका छन्। तिनैमध्येकी एक हुन्-मायांका राणा।

मायांका पाँच वर्षको उमेरदेखि र्‍याकेट बोकेर टेनिस कोर्टमा धाउन थालेकी हुन्। आमा बुवा नै टेनिस खेलसँग नजिक रहेका र लनटेनिसको पनि नेतृत्व सम्हाल्दै आएकाले उनलाई टेनिस खेल्न गाह्रो भएन।

उनले बहिनी माहिकासँगै टेनिस सिक्न थालिन्। पाँच वर्षको उमेरदेखि र्‍याकेट समातेकी मायांका नेपालकी नम्बर एक टेनिस सुन्दरी हुन्। कक्षा ११ मा पढ्दै गरेकी १६ वर्षीया मायांकाले गत पुसमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लनटेनिसका तीनवटै इभेन्टमा स्वर्ण पदक जितेर इतिहास रचिन्।
लनटेनिसको एकल, युगल र टिम इभेन्टमा मायांकाले स्वर्ण पदक जितेकी थिइन्। छैटौं राष्ट्रिय खेलकुदमा पनि उनले एकल र युगलमा गरी दुई स्वर्ण पदक जितेकी थिइन्।

आइटीएफ यु-१८ सर्किट एक र दुईमा पहिलो चरणको खेल जितेर उनी अंक हासिल गर्न सफल भइन्। ब्रिटिस कलेजमा कक्षा ११ मा अध्ययनरत मायांका भविष्यमा पनि टेनिसलाई निरन्तरता दिने बताउँछिन्। 'सानै उमेरदेखि टेनिस खेल्न थालें। अहिले यसैमा रमाइरहेकी छु र भविष्यमा पनि निरन्तरता दिन्छु', राणाले भनिन्।
००
पहिलो ब्याडमिन्टन खेलाडी
ज्योति पाण्डे (क्रिकेट)
सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट क्रिकेट खेल्ने ज्योति पाण्डे पहिले ब्याडमिन्टनकी राष्ट्रिय खेलाडी हुन्। विराटनगरकी ज्योतिले सन् २००७ देखि सन् २०११ सम्म ब्याडमिन्टन खेलिन्। राष्ट्रियस्तरका प्रतिस्पर्धामा भाग लिइसकेपछि उनलाई क्रिकेट मन पर्न थाल्यो।

'बुवा र दाइहरूले खेलेको देखेपछि क्रिकेटमा रुचि बढेर आयो', उनले भनिन्, 'पछि विराटनगरमा पनि केटीहरू खेल्ने रहेछन् भन्ने थाहा पाएपछि क्रिकेट खेल्न थालेँ।' त्यसपछि पूर्वाञ्चलको टिममा सहभागी भएर क्रिकेट खेल्न थालिन्।

पूर्वाञ्चलको टिमबाट पाँचौं राष्ट्रिय प्रतियोगिता खेलिन्। एपीएफमा आएपछि उनले छैटौं र सातौं राष्ट्रिय प्रतियोगिता खेलिन्। एपीएफमा अनुभवी खेलाडीबाट धेरै कुरा सिक्न पाएको उनको अनुभव छ। 'एपीएफमा आएपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका सिनियर दिदीहरूसँग खेल्न र सिक्न पाएँ', उनले भनिन्।

उनी व्यवस्थापन विषयमा स्नातक सकेर स्नातकोत्तरका लागि शंकरदेव क्याम्पसमा भर्ना भएकी छन्। अहिले उनी एपीएफ क्लबमा सिपाही पदमा नियुक्त छिन्। एपीएफ क्लबमा उनले खेल र अभ्यासको राम्रो अवसर पाएकी छिन्। सातौं राष्ट्रिय प्रतियोगितामा उनको प्रदर्शनी औसत मात्र रह्यो।

उनले भनिन्, 'अभ्यास राम्रो गर्न पाइनँ, लामो समय ग्याप थियो।' प्रतियोगिताको फाइनलमा पूर्वाञ्चल टिमसँगको विवादपछि एपीएफ उपविजेतामा सीमित रह्यो। उनका बुवा प्रदीपराज पाण्डे प्रशिक्षक रहेको पूर्वाञ्चल टिमले जित हात पार्‍यो।

विवादपछि उनीसँगै खेल्दै आएका एपीएफ क्लबका सहकर्मीहरूले पूर्वाञ्चलको टिमलाई गाली गर्दै मैदान छोडे। ज्योति भने रुँदै हिँडेकी थिइन्। 'त्यो विवाद अनि त्यसपछि उत्पन्न परिस्थिति मेरो सोचविपरीत थियो', उनले भनिन्, 'जित्छौं भनेर गएको, विवादपछि पूरै खेल समेत खेलिएन, निकै दुःख लाग्यो।'
०००


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.