रंगमञ्‍चमा अब्बल महिला

 रंगमञ्‍चमा अब्बल महिला

काठमाडौँ: केही वर्ष अघिसम्म पनि रंगमञ्चमा महिला भनेपछि सुन्दरी कलाकार बुझ्ने गरिन्थ्यो। त्यो धारणा अब पुरानो भइसकेको छ। किनभने थिएटरमा अब महिला रंगकर्मीहरू केवल नाटकका पात्रको रूपमा सीमित छैनन्। उनीहरू गर्दै अभिनय पनि गरिरहेका छन्।

सिर्जना सुब्बा त्यस्तै निर्देशकमध्ये एक हुन्। चलचित्रमा अभिनय गर्ने रहर बोकेर रंगकर्ममा प्रवेश गरेकी अभिनेत्री सुब्बा विविध कारणले रंगमञ्चतिर आइपुगिन्। रंगमञ्च उनको सपना थिएन। जे हुन्छ, राम्रोकै लागि हुन्छ भनेजस्तै उनलाई रंगमञ्चले नै स्थापित कलाकार बनायो।

अहिले उनी केवल कलाकार मात्र होइनन्। चलचित्रमा अभिनय सँगसँगै नाटक निर्देशन पनि गरिरहेकी छन्। उनले निर्देशन गरेको नाटक 'युमा' यो वर्षको चर्चित नाटक सूचीको अग्रपंक्तिमा पर्छ। चर्चित भनिएका पुरुष कलाकारहरूले निर्देशन गरेको फिल्मले महिलाकै कारण वैदेशिक रोजगारीमा रहेका पुरुषको घरबार बिग्रेको प्रचार गरिरहँदा सुब्बाले निर्देशन गरेको नाटकले महिलाको वास्तविक मुद्दा सतहमा ल्याइदियो।

सुब्बा रंगमञ्चमा महिलाको उपस्थिति बलियो भएको धारणा राख्छिन्। रंगमञ्चमा महिला केवल निर्देशकको इसारामा चल्ने पात्रको रूपमा मात्र छैनन्। सुब्बाका अनुसार रंगमञ्चमा प्रवाह हुने विचारमा पनि महिला कलाकार उल्लेखनीय हिस्सा राख्छन्। उनी भन्छिन्, 'हामी वैचारिक हिसाबले बोल्ड कुरा गर्छौं।'

१२ वर्षे रंगमञ्च यात्रामा उनले महिला भएकै कारण पछि परेको महसुस गरिनन्। विविध भूमिकामा अभिनय गरेपछि उनले निर्देशनमा हात हालिन्। अभिनयको क्रममा अरूको निर्देशनमा मात्र सीमित थिइन्। निर्देशक भएपछि विचार अभिव्यक्त गर्ने राम्रो अवसर पाइन्। आफ्नो पहिलो निर्देशन रहेको नाटकमा उनले महिलाको मुद्दालाई नै प्रमुख विषय बनाइन्। महिलाले महिलाको मुद्दा झनै राम्रोसँग प्रस्तुत गर्न सक्छन् भन्ने पुष्टि गरिन्।

मण्डला थिएटरकी उपाध्यक्ष सुब्बा रंगकर्मलाई केवल मनोरञ्जन ठान्दिनन्। उनका लागि रंगमञ्च सामाजिक स्वर प्रवाह गर्ने माध्यम हो। उनले महिलालाई समाजको अग्रपंक्तिमा ल्याउन आफ्नो भूमिका महसुस गरेकी छन्। त्यसैले उनीसँग दीर्घकालीन योजना छन्।

आफ्नो दक्षताअनुसार समाजमा योगदान गर्नुलाई सुब्बा कर्तव्य ठान्छिन्। रंगमञ्चमै केही गर्ने उनको योजना छ। अहिले पनि नाटक ठूलो जमातको दर्शकसम्म पुग्न सकेको छैन। तर नाटक हेर्ने समुदायसम्म भए पनि नाटककै माध्यमबाट महिलाको साँचो आवाज पुर्‍याउने प्रयत्नमा छिन् उनी। त्यसो त नाटकले नै उनलाई अहिलेको बोल्डनेस दिएको छ।

यो क्षेत्रमा नभएको भए सायदै यति बलियो विचारधारा बोक्न सक्थिन् होला। उनको बोल्डनेसले नै प्रस्ट्याउँछ, उनी आत्मविश्वासी महिला हुन्। यही आत्मविश्वासका साथ रंगकर्मलाई नछोडी अघि बढ्ने प्रण गरेकी छन्।

करिब एक दशकको रंगमञ्च यात्रामा सिर्जना अधिकारीले पनि भर्खरै निर्देशकको रूपमा परिचय थपेकी छन्। उनको निर्देशनमा मञ्चन भएको नाटक 'मिल्क टी' ले रंगमञ्चमा फरक धारको विचार प्रवाह गर्‍यो। निर्देशन गर्नुपूर्व कसैले उनको विश्वास गरेका थिएनन्। 'महिलाले के निर्देशन गर्न सक्छे र ? ' भन्ने धारणा भएका मानिसहरूले उनको खुट्टा तान्ने प्रयास गरे।

'एकपटक कस्तो काम गर्छन् हेरौँ न त'सम्म पनि नभन्नेहरूलाई बलियो झापड हानिन् सिर्जनाले। त्यो पनि चानचुने विषय होइन, समाजले जिब्रो टोक्ने अविवाहित आमाको मुद्दा उठाइन्। महिलाको स्वतन्त्रता, आमा बन्ने अधिकार र वंशजको विषय उठान गरेर अधिकारीले बोल्डनेस देखाइन्। यो उनको पहिलो निर्देशन थियो तर उनले कहिल्यै पनि महिला भएकैले 'यो काम गर्न सक्दिनँ कि' भनेर आफैंप्रति शंका गरिनन्। उनको पहिलो निर्देशनले नै तहल्का मच्चाइदियो। 

रंगमञ्चमा महिला केवल निर्देशकको इसारामा चल्ने पात्रको रूपमा मात्र छैनन्। सिर्जना सुब्बाका अनुसार रंगमञ्चमा प्रवाह हुने विचारमा पनि महिला कलाकार उल्लेखनीय हिस्सा राख्छन्।

अधिकारीको बोल्डनेसमा उनको पृष्ठभूमिले पनि मद्दत पुर्‍याएको छ। परिवारमा दुई बहिनी मात्र भएकाले छोरा र छोरीबीचको विभेद कस्तो हुन्छ उनलाई थाहा भएन। आमाले पनि उनलाई कहिल्यै 'यस्तो काम सक्दिनौ नगर' भनिनन्। इच्छाशक्ति भए जस्तो काम पनि गर्न सकिन्छ भन्ने प्रेरणा उनले सधैं पाइरहिन्।

अधिकारी भन्छिन्, 'द्वन्द्व त जहाँ पनि हुन्छ तर आफ्नो काममा प्रतिबद्ध भएपछि कसैले रोक्न सक्दैन।' विवाहपछि श्रीमान्को साथले उनलाई अझ बलियो बनाएको छ। रंगकर्मी श्रीमान्को सहकार्यले उनको कामलाई अझ उत्कृष्ट बनाउन मद्दत गरेको छ। परिवर्तनको एउटा उदाहरण उनी आफैँ हुन्। त्यसैले ठूला गफ गर्नुभन्दा काममा केन्द्रित भए परिवर्तन आफैँ हुने उनी विश्वास गर्छिन्।

यौनका विषयमा पुरुषले पनि खुलेर कुरा गर्न नसक्ने समाजमा महिलाले योनिको कुरा गर्नु सजिलो काम होइन। स्वतन्त्रताको जति गफ हाँके पनि महिलालाई अझै पनि यौनिक दृष्टिकोणबाटमात्र हेर्ने समाजमा आकांक्षा कार्कीले आँट गरेर 'भजाइना मनोलग' अर्थात् 'योनिका कथा' नाटक निर्देशन गरिन्। यस्तो विषयमा महिलाले काम गर्ने आँट गरे भनेर सुन्नु पनि हाम्रो समाजको लागि नौलो थियो।

आँट गरेको कुरा सुन्दा पनि आँखी भौँ उचाल्ने थुप्रै थिए। त्यस्तो सोच्नेहरूलाई उनले काम गरेरै जवाफ दिइन्। आफूले राम्रो काम गरेपछि अरूले विश्वास गर्छन्। 'योनिका कथा'मा काम गरेपछि उनको आत्मबल बढ्यो। सबैभन्दा गाह्रो काम आँट गर्नु हो। आँटेपछि काम गर्न गाह्रो हुँदैन। कार्की भन्छिन्, 'आँटेको देखिनसक्ने धेरै छन्, तर ससहयोग गर्ने पनि उत्तिकै छन्।'

भारतमा रंगमञ्च विषयमा स्नातक र मनोविज्ञानमा स्नातकोत्तर अध्ययन गरेर आएकी उनलाई नेपालमा काम गर्न सुरुमा गाह्रो भयो। रंगमञ्च विषयमै स्नातकोत्तर गर्न मन भए पनि 'परिवारले के भन्ला' भन्ने डरले मनोविज्ञान पढेको बताइन् उनले। त्यहीँबाट सुरु भएको थियो समाजसँग उनको द्वन्द्व। नेपाल आएर साइकोलोजिस्टको जागिर खाए पनि नाटकको तृष्णाले उनलाई चुप लागरेर बस्न दिएन। राम्रो कमाइ गर्ने जागिर छोडेर नाटक गर्न हिँडेपछि उनलाई कतिले 'साइको' पनि भने।

अझै पनि हाम्रो समाजमा महिलाले कुनै काम गर्नुभन्दा पहिला 'समाजले के भन्छ, परिवारले के भन्छ' भनेर सोच्नुपर्ने अवस्था छ। कार्कीको असन्तोष त्यसैमा छ। त्यसमाथि पनि पढेलेखेका मान्छेले रंगमञ्चमा काम गर्दैनन् भन्ने सोच भएकाहरू उत्तिकै छन्।

आकांक्षा पढेर आएका मान्छेले रंगमञ्चप्रतिको मानिसहरूको सोच परिवर्तन गरून् भन्ने चाहना राख्छिन्। स्कुलमा पढाउने कामलाई पनि निरन्तरता दिइरहेकी उनी आफ्ना विद्यार्थीहरूलाई उत्प्रेरित गर्छिन्। विचार मन्थन गर्ने उनको स्वभाव छ। अरूको निर्देशनमा अभिनय गर्दा पनि उनी केवल कलाकार भएर बस्दिनन्। नाटकबारे नै उनी आफ्ना विचार दिइरहेकी हुन्छिन्।

केवल अभिनयमा मात्र सीमित रहन नसक्ने उनको आकांक्षा धेरै फराकिलो छ। तर उनको आकांक्षाको वेगलाई सामाजिक संरचनाले धेरथोर असर गरिरहेकै छ। चाहेका कति काम अझै गर्न सकेकी छैनन्। परिवर्तन एक्लै कहाँ गर्न सकिन्छ र ? जति गरे पनि थोरै नै हुन्छ।

परिवर्तनका लागि सामूहिक प्रयत्न चाहिन्छ। अकांक्षा परिवर्तनका लागि साथको खोजीमा छिन्। आकांक्षाको अनुभव छ, काम गर्न पुरुषलाई जति सजिलो नभए पनि असम्भव भने छैन।

कुनै समय 'सहनशीला सुशीला'हरूको उपदेश दिने रंगमञ्च अब महिला मुक्तिको विद्रोह फुक्ने मञ्च बनेको छ। पछिल्लो समय महिलाको विषयमा बनेका नाटकले सामाजिक मनोविज्ञानमै परिवर्तनका लागि घच्घचाइरहेको छ। रंगमञ्चमा बढ्दो महिला कलाकार र निर्देशकको संख्याकै कारण रंगमञ्चको चिन्तन धार फेरिएको हो। रंगमञ्चमा महिला उपस्थिति पनि बढ्दो छ।

पशुपति राई, सरिता गिरी, अरुणा कार्की र उनीहरू पछिको पुस्ताले रंगमञ्चमा आफ्नो सिर्जनात्मकता प्रमाणित गरिरहेका छन्। रंगमञ्च केवल मनोरञ्जनका लागि होइन भन्ने मान्यता स्थापित भइसकेको छ भने महिलालाई केवल सजावट ठान्ने चिन्तनमाथि प्रश्नचिन्ह उठिसकेको छ। किनभने महिलाले आफ्नो बौद्धिकता र सिर्जनशीलता पुष्टि गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.