मन्त्रिपरिषद् हेरफेर हुँदै : कमल थापा उपप्रधानमन्त्री
काठमाडौ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको मन्त्रिपरिषद् विस्तार गरी आफूलाई सुरक्षित गराउन लागेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्री र राप्रपाका नेता दीलनाथ गिरीले संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको जिम्मेवारी दिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन। थापा र गिरीको सपथ केहिबेरपछि हुनेछ।
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनबहादुर शाहीलाई शाहीलाई खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिइदैछ भने खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहलाई प्रधानमन्त्री दाहालले सम्हालेको विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइदैँछ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले मन्त्रीबाट हटनु पर्ने सूचना पाइसकेको उनी निकट स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार मन्त्री पाण्डेले आफू पार्टीमा रहेर सरकारलाई सहयोग गर्न तयार रहेको जनाऊ दिएका छन्।
प्रधानमन्त्री दाहालले भने मन्त्री पाण्डेलाई अर्को मन्त्रालयमा स्थानान्तरण हुन आग्रह गरेका थिए। ‘म सरकार भन्दा बाहिर बसेर सरकारलाई सहयोग गर्छु अन्य मन्त्रालयमा जान्न मन्त्री पाण्डेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। मन्त्री पाण्डेले आफनो कार्यकालको अन्तिम कामका रुपमा सात सय ४४ स्थानीय तहलाई राजपत्रमा सूचना प्रकाशित गर्ने तहमा पुर्याएका छन्।
स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपीशर्मा ओली आफनै निवासमा आइ सरकारमा सहभागी नहुन आग्रह गरे लगत्तै अध्यक्ष थापाले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा गएर भेटवार्ता गरी सरकारमा सहभागी हुने समझदारी बनाएका हुन्।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले पनि प्रधानमन्त्री दाहाललाई भेटेर सरकारमा सहभागी हुने जानकारी गराएको स्रोतले जनाएको छ।
गच्छादार थापा निवासमा पुगेर पनि छलफल गरेका थिए। प्रधानमन्त्री दाहालले सरकार विस्तारका बारेमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए। ‘प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने चाहना व्यक्त गर्नु भएको हो, देउवा काठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुनु पर्ने भएकोले केही दिनपछि मन्त्रिपरिषद विस्तार गर्ने प्रस्ताव राख्नु भएको हो,’ प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले अन्नपूर्णसँग भने।
खनालका अनुसार कांग्रेस र माओवादी केन्द्रका एक–एक मन्त्रीलाई हटाएर राप्रपा र फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउने योजना हो। राप्रपाबाट थापासहित अर्का एक नेतालाई मन्त्री बनाउने तयारी भइरहेको छ।
स्रोतका अनुसार प्रधानमन्त्री दाहालले सम्हाल्दै आएको पशुपंक्षी विकास मन्त्रालय र कांग्रेसका एक मन्त्रीलाई हटाएर रिक्त हुने मन्त्रालय फोरम लोकतान्त्रिकबाट सिफारिस हुने नेतालाई दिइनेछ।