एमालेको मेची-काली अभियान आज हेटौडाबाट सुरु हुँदै
हेटौंडाः सप्तरी घटनापछि स्थगित भएको नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान शुक्रबारदेखि हेटौंडाबाट पुनः सुरु हुँदैछ । सप्तरीको राजविराजमा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा तीनजना मोर्चा कार्यकर्ताको ज्यान गएपछि उच्च सुरक्षा व्यवस्थासहित हेटौंडामा आमसभा आयोजना गर्न लागेको एमाले मकवानपुरले जनाएको छ ।
सभामा सहभागी हुन करिब एक हजार अभियान टोली सदस्य बिहीबार साँझसम्म हेटौंडा आइसकेको एमाले मकवानपुरका प्रचार विभाग प्रमुख एकलाल श्रेष्ठले बताए । उच्च सुरक्षामा रहनुपर्ने नेताबाहेक अन्य सबै नेता कार्यकर्तालाई कार्यकर्ता र जनताको घरमा राखिने व्यवस्था गरेको उनले बताए । ‘नेकपा एमाले मकवानपुरले पहिलो पटक एक हजार नेता कार्यकर्तालाई होमस्टेमा राख्ने व्यवस्था गरेको छ’, उनले भने, ‘यसले गर्दा नेता, कार्यकर्ता र जनताबीचको सम्बन्ध थप प्रगाढ हुने हाम्रो विश्वास छ ।’ अभियान प्रचारप्रसारका लागि पर्चा, पम्प्लेट, घरदैलो अभियान गरिएको श्रेष्ठले बताए ।
हेटौंडाको भुटनदेवी उच्च माविको चौरमा हुने जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । सप्तरी घटनापछि हेटौंडाबाट सुरु हुन लागकोे एमाले अभियान शान्तिपूर्ण ढंगले सफल पार्न एमालेले करिब दुई हजार स्वयंसेवक परिचालन गर्ने तयारी गरेको एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले बताइन् ।
जनसभा कार्यक्रमलाई शान्तिपूर्ण बनाउन करिब सात सय प्रहरी परिचालन गरिने मकवानपुर प्रहरी प्रमुख एसपी वसन्तकुमार लामाले बताए । जनसभामा छिमेकी जिल्लासहितका २० हजार सहभागी हुने एमाले मकवानपुरको अनुमान छ । टोली २८ गते बिहान हेटौंडाबाट चितवनतर्फ लाग्ने कार्यक्रम छ ।
सप्तरी घटनापछि एमालेले अभियानविरुद्ध षडयन्त्र भएको भन्दै तीन दिनका लागि अभियान स्थगन गर्ने निर्णय गरेको थियो । पूर्व निर्धारित कार्यक्रमअनुसार गत फागुन २३ गते राजविराजपछि कञ्चनपुरमा सभा गर्ने एमालेको तयारी थियो । पूर्व निर्धारित कार्यक्रमअनुसार गोलबजार, जनकपुर, बर्दिबास, हरिपुर, गरुडा, चन्द्रनिगाहपुर र जितपुरको सभा स्थगित गरी हेटौंडाबाट अभियान पुनः सुरु गर्न लागेको हो ।