होली पर्खंदै पोखरा
पर्यटकको बसाइ लम्ब्याउन पोखराको लेकसाइडमा १० वर्षदेखि फागुपूर्णिमामा ‘होली उत्सव' आयोजना गरिँदै आएको छ । उत्सवमा सहभागी पर्यटकलाई फागुपूर्णिमा र यसको महत्ववको बारेमा जानकारी दिने गरिएको छ ।
नेपालको सांस्कृतिक विविधतासँगै होलीको महत्वव बुझेपछि उत्सवमा सहभागी पर्यटक अबिर, पानी अनि विभिन्न रङमा यति रमाउँछन् कि कतिपय त होली उत्सव मनाउनकै लागि पोखरा आउने गरेका छन् । रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा हुँदै आएको यस उत्सवमा पञ्चैबाजाका साथ पर्यटकलाई अबिर दलेर स्वागत गरेपछि होलीको रौनक साँच्चिकै उत्सवमा परिणत हुन्छ ।
पोखरामा होलीको रौनक छाउने मुख्य स्थान पर्यटकीय केन्द्र बैदामको लेकसाइड नै हो । नेपाली संस्कृतिमा रमाउने विदेशी पर्यटकदेखि पोखरा र आसपासका युवायुवती जम्मा हुने रेवान पोखराका पूर्वअध्यक्ष गोपी भट्टराई बताउँछन् । विभिन्न प्रकारका रङ एकआपसमा लगाएर युवायुवती र पर्यटक होली उत्सवमा रमाउने गर्छन् । लामो समयदेखि पोखरा बस्दै आएका विदेशी पर्यटक, विभिन्न गैरसरकारी संस्थामा काम गर्ने र विदेशी प्याराग्लाइडिङ पाइलट पनि होलीमा रङको पिच्करी हान्ने र अबिर एकआपसमा दलेर रमाउने गर्छन ।
पछिल्लो समय होली उत्सव पोखराको पहिचान बनेको छ । रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङका अनुसार होली उत्सवका कारण पोखरा आएका पर्यटकले बसाइ लम्ब्याउने गरेका छन् । ‘कतिपय विदेशी पर्यटक त होली मनाउनकै लागि पोखरा आउन थालेका छन्', अध्यक्ष गुरुङले भने । यस वर्ष पनि पोखरामा होलीको तयारी सुरु भइसकेको छ । पोखरेलीमात्रै होइन विदेशी पर्यटक पनि होली उत्सवको पर्खाइमा छन् ।
होली उत्सवका क्रममा लेकसाइडमा ६ वर्षदेखि म्युजिकल कन्सर्ट पनि हुँदै आएको छ । कन्सर्टमा नेपाली, अंग्रेजी, हिन्दीलगायत विभिन्न भाषाका गीत प्रस्तुत गरिँदै आएको छ । बैदाममा कन्सर्ट गर्दै आएको संस्था बैदाम सांस्कृतिक युवा क्लबका कोषाध्यक्ष जोनी तामाङका अनुसार प्रत्येक वर्ष होलीमा रमाउन पोखरा आउने विदेशी र स्वदेशी पर्यटकलाई सांगीतिक वातावरणमा झुमाउन कन्सर्ट आयोजना गरिएको हो । कन्सर्टमा चारदेखि ६ हजारसम्म दर्शक उपस्थित हुने गरेका छन् । यस वर्ष पनि कन्सर्ट भव्य रूपमा हुने उनले जानकारी दिए ।
होली उत्सवमा चिनियाँ, भारतीय, युरोपेली एवं अमेरिकी मुलुकका सयौं पर्यटक आउने गरेको रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बराल बताउँछन् । नेपाली संस्कृतिको प्रवद्र्धनसँगै पोखरामा पर्यटकलाई आकर्षित गर्न होली उत्सव, असार १५ मा रोपाइँ महोत्सव, तिहारमा भाइटीका महोत्सवसमेत आयोजना हुँदै आएको छ । यी सबै सांस्कृतिक उत्सवमा पर्यटकको बाक्लो उपस्थिति हुने गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाको भनाइ छ।