‘स्थानीय तह आजैदेखि लागु
काठमाडौः उपप्रधान तथा स्थानीय विसका मन्त्री कमल थापाले स्थानीय निकाय आजैदेखि लागु भएको घोषणा गरेका छन् । गाविस, नगरपालिका तथा जिल्ला विकास समिति आजै शुक्रबारदेखि खारेज भएको उनको भनाई थियो ।
पूर्व स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा बनेको कार्यदलले सिफारिस गरेको ७ सय ४४ (गाउँपालिका र नगरपालिका) लागु गर्ने गरी सरकारले घोषणा गरेको हो ।संघीय मामिला तथा स्थानीय विकास मन्त्री को कार्यभार सम्हाल्दै उपप्रधानमन्त्री कमल थापाले राजपत्रमा प्रकाशित ७४४ तहको आजैबाट कार्यान्वयन भएको घोषणा गरेका हुन् ।
उनले सञ्चारकर्मीसँग भने-गाविस, नगरपालिका र जिविस कागजीरुपमा परिवर्तन नभई आधारभुतरुपमै परिवर्तित भएका हुन् ।' आजैका मितिदेखि स्थानीय तहसँगै प्रदेश, संघीय गरी मुलुकमा तीन सरकारले काम गर्ने उनले बताए । उनले स्थानीय निर्वाचनका लागि बाटो खुलेको पनि बताए ।
‘मधेसी मोर्चालाई पनि चुनावमा ल्याउन अधिकतम प्रयास गर्ने छौं र साझा मिलनबिन्दु खोज्ने छौं' उनले भने । स्थानीय तहको ७ सय ४४ संख्या बढाउन पनि विकल्प खुल्ला रहेको उनको भनाई थियो ।