आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपःनेपाल आज केन्यासँग भिड्दै
काठमाडौः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसीएलसी) मा नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी केन्यासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेपछि सुरु हुनेछ ।
डब्लूसीएलसीमा नेपालका लागि केन्या अहिलेसम्मकै बलियो प्रतिस्पर्धी मानिएको छ । यसअघि तीन पटक एकदिवसीय विश्वकपसमेत खेलिसकेको केन्या नेपालभन्दा अनुभवी टोली हो । यद्यपि अंकतालिकामा एक स्थान तलमाथि रहेकाले नेपाल र केन्याबीचको यो खेल प्रतिस्पर्धात्मक र रोचक बन्ने अनुमान गरिएको छ । डब्लूसीएलसी तालिकामा केन्या पाँचौं र नेपाल छैटौं स्थानमा छन् ।
शनिबार र सोमाबार हुने दुई खेलमा जित हात पार्न सके केन्यालाई पछि पार्दै नेपाल पाँचौं स्थानमा उक्लनेछ । यो अवस्थामा सन् २०१९ मा आयोजना हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्ने अवसर पनि नेपालसामु रहनेछ । आईसीसीको नियमअनुसार डब्लूसीएलसीको शीर्ष चार स्थानमा रहने चार टोलीले सन् २०१८ मा हुने ग्लोबल छनोट प्रतियोगितामा सहभागिताको अवसर पाउनेछन् । ती टोलीले सन् २०१९ मा हुने विश्वकपका लागि सन् २०१७ को सेप्टेम्बरसम्म एकदिवसीय क्रिकेटको वरीयताको अन्तिमका चार टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले केन्याविरुद्धको जितका लागि आफ्नो टोली तयार रहेको बताएका छन् । ‘पछिल्लो डेढ महिना हामीले राम्रो तयारी गरेका छौं । यसअघिको लोअर अर्डरमा देखिएको ब्याटिङ कमजोरीलाई पनि हामीले सुधार गरेका छौं । त्यसका लागि हामीसँग प्रशस्तै विकल्पहरू छन्', प्रशिक्षक टमाटाले पत्रकारहरूसँग भने, ‘केन्याविरुद्ध खेल्न हाम्रा खेलाडी मानसिक र शारीरिक रूपमा तयार छन् ।'
केन्याले स्पिन बलिङमा राम्रो खेल्ने भए पनि प्रशिक्षक टमाटाले आफ्नो मुख्य हतियार स्पिन बलिङलाई नै बनाउने संकेत गरेका छन् । ‘केन्याले स्पिनमा राम्रो खेल्छ तर, हामी सबैलाई थाहा भएकै कुरा हो, हाम्रो मुख्य हतियार पनि स्पिन बलिङ नै हो । केन्याविरुद्ध पनि हाम्रो मुख्य हतियार स्पिन बलिङ नै हुनेछ', उनले भने, ‘हामीले शनिबार बिहान पिचको कन्डिसन हेरेर मिडियम पेस बलरका बारेमा निर्णय लिनेछौं ।'
प्रशिक्षक टमाटाका अनुसार केन्याविरुद्ध कप्तान पारस खड्काले पनि खेल्ने सम्भावना रहेको बताए । पेटको सफल शल्यक्रियापछि हालै अस्पतालबाट फर्किएका पारस अभ्यासमा पनि फर्किसकेका छन् । अभ्यासमा उनको मेहनत र प्रदर्शनमा सुधार आएकाले पनि प्रशिक्षक टमाटाले पारसको खेल्ने सम्भावना रहेको बताए । यद्यपि त्यसको टुंगो भने खेलअघि मात्रै लाग्नेछ । केन्याविरुद्ध उपकप्तान ज्ञानेन्द्र मल्लले सुरुवाती ब्याटिङ गर्नेछन् । उनलाई राष्ट्रिय टोलीबाट डेब्यु गर्ने तयारीमा रहेका सुनील धमलाले साथ दिने प्रशिक्षक टमाटाले बताए ।
पारसले खेल्न सकेको अवस्थामा उनीसहित सागर पुन र शरद भेषावकरले मिडल अर्डर सम्हाल्नेछन् । विनोद भण्डारी लोअर अर्डरमा क्रिजमा ओर्लने छन् । उनीसँगै राष्ट्रिय टोलीमा पुनरागमन गरेका मेहबुब आलम र आरिफ शेखसहित डेब्युको तयारीमा रहेका दीपेन्द्रसिंह ऐरीले पनि अवसर पाउन सक्नेछन् । आईसीसीको एकदिवसीय प्रतियोगितामा तेस्रो पटक आमनेसामने हुन लागेको केन्याविरुद्ध नेपालले घरेलु मैदान र दर्शकको साथलाई पनि महत्ववका साथ लिएको छ । नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा घरेलु मैदानमा भएका अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट नतिजा दिँदै आएको छ ।
त्यसको ठीकविपरीत केन्याले विपक्षीको ठूलो घरेलु समर्थकविरुद्ध खेल्न सकेको छैन । त्यसैले पनि नेपाली टोलीका मुख्य प्रशिक्षक टमाटा घरेलु समर्थक र दर्शक आफ्ना लागि १२औं खेलाडीका रूपमा रहेको बताउँछन् । नेपाल एकदिवसीय क्रिकेटमा केन्यासँग यसअघि भएका दुई भेटमा पराजित भएको छ । सन् २०१४ को विश्वकप क्रिकेट छनोटअन्तर्गतको अभ्यास खेलमा नेपाल एक विकेटले पराजित भएको थियो ।
सन् २०१५ मा नामिबियामा भएको डिभिजन दुईको प्रतिस्पर्धामा पनि नेपाली टोली केन्यासँग पराजित भएको थियो । केन्याले पनि नेपाल आउनुअघि गतिलो तयारी गरेको छ । केन्याको टोली नेपालको हावापानीसँग मिल्ने भारतमा केही समय तयारी गरेर नेपाल आएको हो । बिहीबार नेपाल आइपुगेको केन्याले शुक्रबार त्रिवि क्रिकेट मैदानमा केही समय अभ्याससमेत गरेको थियो ।