अब गच्छदारको पालो
काठमाडौः मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मधेसीहरूको सबैभन्दा ठूलो पर्व फागुलगत्तै सरकारमा सहभागी हुने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएपछि गच्छदारलाई सरकारमा ल्याउन गठबन्धन राजी भएको हो । मोर्चाले सरकारलाई आफूले दिँदै आएको समर्थन चैत १ पछि स्वतः समाप्त हुने भन्दै अल्टिमेटम दिएको छ । मोर्चाको यो अल्टिमेटमपछि दाहाल नेतृत्वको गठबन्धन सरकारले आफ्नो स्थानसमेतलाई गम्भीरताका साथ विश्लेषण गर्दै गच्छदारलाई सरकारमा ल्याउन लागेको हो ।
प्रधानमन्त्री दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारबीच शनिबार बिहान भएको भेटमा गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वको दाबी गरेका थिए । तर प्रधानमन्त्री दाहालले सूचना तथा सञ्चार मन्त्रालय र अर्को सिँचाइ मन्त्रालय दिने प्रस्ताव राखेका थिए । कांग्रेस आफ्नो भागमा परेको सिँचाइ मन्त्रालय फोरम लोकतान्त्रिकलाई दिन राजी भएको दाबी स्रोतको छ ।
संविधान संशोधन गरी असन्तुष्ट मधेसी मोर्चालाई मूल धारमा ल्याएर स्थानीय तहको निर्वाचन गराउन यतिबेला माओवादी केन्द्र अर्थ र कांग्रेस गृहबाहेक कुनै पनि मन्त्रालय छाड्न तयार छन् ।
सत्ताको ठूलो घटक कांग्रेससँग नियुक्तिलगायतको टक्कर र प्रमुख प्रतिपक्षी दल एमालेले मेची-महाकाली अभियानका नाममा जारी राखेको सरकारविरोधी गतिविधिसमेतलाई ध्यान दिँदै प्रधानमन्त्री दाहाल आफ्नो नेतृत्वको मन्त्रिपरिषद् विस्तार गरी आफूलाई सुरक्षित गराउने गृहकार्यमा व्यस्त छन् । यसैक्रममा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकासमन्त्री र राप्रपाका नेता दिलनाथ गिरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा सहभागी गराइसकेका छन् ।
संसद्को कुल संख्या पाँच सय ९४, बहुमत संख्या दुई संय ९६, दुईतिहाइका लागि आवश्यक सख्ंया तीन सय ९७
कांग्रेस- दुई संय ७, माओवादी केन्द्र -७८, राष्ट्रिय प्रजातन्त्र पार्टी- ३६, फोरम लोकतान्त्रिक- १४, मधेसी मोर्चा- ३९, कुल तीन सय ७४ । दुईतिहाइका लागि आवश्यक २३ मतमा साना दलको २२ र मन्त्रिपरिषद्बाट मनोनीत २४ मध्ये बहुमतको आशा र विश्वास सरकारले गरेको छ ।
फोरम लोकतान्त्रिकका एक नेताले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीले हामीलाई उपप्रधानमन्त्रीसहित सञ्चार र अर्को कुनै एक मन्त्रालय दिने आश्वासन दिएका छन् तर हाम्रो जोड मधेसी मोर्चाले उठाएको मागको सम्बोधन र सरकारमा जाँदा मधेसमा पर्ने चुनावी असरका बारेमा पार्टीभित्र गम्भीर गृहकार्य भइरहेको छ ।'
एमालेसहित दुई सय एक सांसद संशोधनको विपक्षमा देखिएको अवस्थामा सत्ता पक्षमा दुईतिहाइ मत पुर्याउने उद्देश्यका साथ हुन लागेको गठबन्धनप्रति फोरम लोकतान्त्रिक सकारात्मक भएको प्रतिक्रिया ती नेताले दिए । प्रधानमन्त्री दाहालका प्रशासनिक सल्लाहकार नारायण दाहालले अन्नपूर्णसँग भने, ‘गच्छदार नेतृत्वको फारेम लोकतान्त्रिक केही दिनभित्र सत्तामा आउनेछ । आजै पनि प्रधानमन्त्री र गच्छदारबीच यस विषयमा अनौपचारिक छलफल भयो ।'
फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले फागुलगत्तै पार्टीमा छलफल गरी वर्तमान सरकारमा लोकतान्त्रिकको सहभागिताका बारेमा निर्णय लिइने बताए ।