किन बिदेसिन्छन् नेपाली खेलाडी
नेपाली अर्थतन्त्रको प्रमुख हिस्सा बनेको रेमिट्यान्सको एउटामात्रै स्रोत हो वैदेशिक रोजगार । यसको अर्को पाटो हो सक्षम युवा देशबाट बाहिरिएका छन् । पछिल्लो समय बिदेसिने खेलाडीको संख्या पनि बढ्दो छ । जापान, अस्ट्रेलिया, अमेरिका, क्यानडा, मकाउ, मलेसिया र हङकङमा नेपाली खेलकर्मीको बाक्लो उपस्थिति छ । ती देशले अरू देशबाट आफ्नो देशमा भित्वयाउँदा सक्षम र योग्य व्यक्तिलाई प्राथमिकता दिने अन्य देशको नीतिअनुसार खेल पृष्ठभूमिका व्यक्तिले बढी प्राथमिकता पाए । यसकारण पनि विदेशमै जाने खेलाडीको संख्या बढ्यो । नेपालको आर्थिक अवस्था त मुख्य कारण नै भइहाल्यो ।
नेपालबाट बिदेसिनेले त्यहाँ रहेर गरेको प्रगतिले नेपाली खेलकुद पनि संस्थागत, बलियो संरचना र नेतृत्वमा प्रतिबद्ध भए नेपालीले केही गर्न सक्छन् भन्ने बारम्बार पुष्टि भइसकेको छ । चाहे त्यो जुडोका प्रशिक्षक राजेश कर्माचार्यको सन्दर्भमा होस् वा खेलाडी मोहन बमको हकमा । त्यही लागू हुन्छ चेस खेलाडी तथा प्रशिक्षक सुरवीर लामामा । अनि एथलेटिक्स खेलाडी सिद्धान्त अधिकारीमा पनि । यी सबै नेपालमा राम्रै चर्चामा रहेकै समयमा बिदेसिएका थिए । यी केही प्रतिनिधि नाम हुन्, सूचीमा अरू नाम पनि थप्न सकिन्छ ।
पाकिस्तानमा भएको नवौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका तेक्वान्दो टोलीका धेरै खेलाडी अमेरिकामा बसेपछि नेपाली तेक्वान्दोले पुरानो साख कहिल्यै राख्न सकेन । झट्ट हेर्दा आर्थिक कारण देखिए पनि व्यक्तिको योगदान अनुसारको सम्मानजनक व्यवहार नहुँदा आउने निराशा बिदेसिनुको प्रमुख कारण बनेको छ । खेलमा हुने भेदभावजन्य व्यवहार यो निराशाको स्रोत हो । कुनै खेलका विदेशी प्रशिक्षकको पदावधि सकिँदा थप्न आतुर नेपाली अधिकारी महत्ववपूर्ण सफलत तर्फ डोर्याउने खेलाडी तथा प्रशिक्षक बिदेसिँदासमेत मौन रहे । तेक्वान्दो राष्ट्रिय टोलीकी कप्तान मनिता शाही नेपालबाट बिदा हुँदा होस् वा राजेशले अमेरिकामा पाइला टेक्दा।
बिदेसिएका धेरै नेपाली खेलाडी अन्य पेसामा रहे पनि खेल क्षेत्रमै रहेका नेपालीले उल्लेख्य सफलता पाएका छन् । कुनै समय वीरगन्जलाई नेपाली जुडोको शक्तिकेन्द्र बनाउने राजेश हाल अमेरिकामा व्यस्त रेफ्रीका रूपमा रहेका छन् । करातेमा रवि शाही रेफ्रीकै रूपमा सफल छन् । अमेरिकामा सफल बनिरहेछन् कराँतेका सरोज भट्टराई पनि ।
छैटौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता मोहन बमले अस्ट्रेलियामा कातामा राष्ट्रिय च्याम्पियन तथा कुमुतेमा राष्ट्रिय उपविजेता बन्ने अवसर पाइसकेका छन् । चेसका पूर्वराष्ट्रिय च्याम्पियन सुरवीर लामा थाइल्यान्डमा प्रशिक्षकका रूपमा त्यत्तिकै सफल छन् । तेक्वान्दोका कुमार कार्की अमेरिकाका तेक्वान्दो क्लबमा छाइरहेका छन् । मलेसियामा र मकाउमा नेपाली मार्सल आर्टिस्टको प्रभाव यथावत् छ । छैटौं राष्ट्रिय खेलकुदका दुई स्वर्ण पदक विजेता सिद्धान्त अधिकारी त भारतका स्टार एथलेटिक्स खेलाडीको कोटिमा पुगिसकेका छन् ।
हरेक मान्छेलाई प्रकृतिले केही दिएर जन्माएको हुन्छ । भगवान्ले या प्रकृतिले दिएको उपहारलाई नै गड गिफ्ट भनिने हो । महान् खेलाडी जिनेदान जिदानको भाषामा यसै गड गिफ्टलाई अभ्यासबाट परिस्कृत गर्नेहरू नै राम्रो खेलाडी बन्नेछन् । अभ्यासमै बढी मेहनत र अन्यले भन्दा फरकपन दिने र अरूले नगर्ने हिम्मत गरेर प्रशिक्षण गर्ने नै स्टार हुन्छन् । मानवीय सचेतना र समाजकी भावना भएको स्टार सुपरस्टार हो । खेलकुदको यसै सर्वमान्य मान्यतालाई अस्वीकार गरिएकै कारण धेरै खेलाडी बिदेसिएको तीतो यथार्थ नेपालले वर्षौंदेखि भोग्दै आएको छ ।
संसारका सबै मानिस उस्तै हुन् तर नेपालीले किन जित्दैनन् ? राजेशले अमेरिका पुगेपछि यसको जवाफ पाए । नेपाली र अमेरिकाको खेलाडीमा के फरक छ भन्ने थाहा पाए ।
राजेश अमेरिकामा रहँदा पनि नेपालको विगत भने भुल्दैनन् । राष्ट्रिय टोलीमा आधाभन्दा धेरै आफैंले सिकाएको खेलाडी रहँदा र अन्तर्राष्ट्रिय पदक जित्दा पनि राजेश कहिल्यै सहायक प्रशिक्षकबाट उठ्न सकेनन् । एसियाली स्तरमा पदक जिताइसकेका राजेशले नेपालको वातावरणमा त्योभन्दा माथिल्लो सफलता दिलाउने सम्भावना पनि देखेका थिएनन् । राजेशकै कार्यकालमा सुव्रत श्रेष्ठ र लीला अधिकारीसहितको उदय वीरगन्जमा भएको थियो । तर, विडम्बना ! काठमाडौं भित्रँदा लीलाको ट्र्याक केही खलबलियो । सुव्रतले जुडो छोडे । पटियालामा एनआईएस कोर्समा सबैभन्दा धेरै स्कोर गरेका नेपाली राजेशले जुडोमा पर्साको राज रहेपछि अन्तर्राष्ट्रिय क्षेत्रमा छाउने लक्ष्य राखेका थिए ।
उनको दाबी छ, ‘नेपाली खेलकुद सही ट्र्याकमा थियो भने सुव्रत श्रेष्ठ र लीला अधीकारीलगायत एसियाली स्तरमा छाउन सक्थे । तर, खेलकुदको वातावरणले उनीहरूको लय बिग्रियो ।' संसारका सबै मानिस उस्तै हुन् तर नेपालीले किन जित्दैनन् ? राजेशले अमेरिका पुगेपछि यसको जवाफ पाए । नेपाली र अमेरिकाका खेलाडीमा के फरक छ भन्ने थाहा पाए । ब्यालेन्स डाइट र इक्विपमेन्टका कारण यो फरक रहेको उनले महसुस गरे ।
खेलकुदलाई विज्ञान नमान्ने नेतृत्व, राजनीतिक हानथाप, शक्ति समीकरणका माझ राजेशले सोचेको नेपालमा पूरा भएन । तल्लो तहमा आफूलाई पुष्टि गरेपछि माथिल्लो जिम्मेवारी स्वतः पाउनुपर्ने हो । तर, उनले पाएका थिएनन् । राष्ट्रिय टोलीमा आफ्ना खेलाडीको अत्यधिक प्रभाव रहेपछि राष्ट्रिय टोलीको मुख्य जिम्मेवारी किन नपाउने ? यो प्रश्नको जवाफ सायद कुनै पनि नेपाली खेल अधिकारीसँग छैन । सही वातावरण र अनावश्यक अवरोधको सामना गर्न नपरे आफ्ना शिष्यलाई अन्तर्राष्ट्रिय सफलता दिलाउन सक्षम हुने उनको दाबी छ । यसैका लागि उनी अमेरिकी जुडोमा तल्लीन छन् । क्लबमा छाएका छन् । जुनियर तहमा पाएको सफलतापछि केही वर्षमा नै उनको क्लब स्थापित हुने उनको विश्वास छ । उनी अमेरिकी जुडोको मूलधारकै एउटा हिस्सा पनि बनिसकेका छन् ।
जुडो खेलाडी मोहन बमले जुडोको कातामा राष्ट्रिय च्याम्पियन भएपछि कुमुतेमा पनि राष्ट्रिय च्याम्पियनको लक्ष्य राखेका छन् । कुमुतेमा च्याम्पियन हुँदा अन्तर्राष्ट्रिय खेलकुदमा अघि बढ्न सहयोग पुग्ने उनको विश्वास छ । जहाँसम्म एथलेटिक्सका सिद्धान्तको सवाल छ, उनी नेपालमा रहेको भए एसियाली स्तरको प्रतियोगितालाई लक्ष्य बनाउने तहसम्म पुग्दैन थिए । यही तथ्य सबैमा लागू हुन्छ नै ।
भारतीय सेनामा रहेका सिद्धान्त खेलकुद प्रतियोगिताको अभाव, खेलकुदमा राजनीति र आफ्नै खेलको ज्ञान नहुनेले खेलकुदको नेतृत्व गरेका कारण बढेको निराशा नै बिदेसिनुको प्रमुख कारण भएको बताउँछन् । ज्ञानको कमीले वितरणमा असमानता देखिनु अर्को कारण । नेपालमा रनिङ ट्र्याकको समेत अभाव भएपछि उनी सुधारको सम्भावना देख्छन् ।
बिदेसिने धेरै नेपालीको मत एउटै छ— खेलकुदमा विज्ञको भन्दा राजनीतिक व्यक्तिको प्रभाव समस्याको कारण हो । सत्ताले खेलकुदलाई ग्ल्यामरमात्र मान्यो, विज्ञान मानेन । समाजले मनोरञ्जन मान्यो, शिक्षा मानेन । नेतृत्वमा व्यक्तिगत लाभको मोह देखियो, प्रतिबद्धता देखिएन । यसबीचमा आफूमा रहेको क्षमता पुष्टि गर्न सकिँदैन भन्ने ठहर नेपाली खेलकुदका जानिफकारहरूको छ । यसैबीच आफूलाई पुष्टि गर्ने अभियानमा बिदेसिनेको यो जमात नेपालले गुमाएको महत्ववपूर्ण सम्पत्ति भएकोमा विमति हुन सक्दैन ।
छैन नीति
थुप्रै व्यक्तित्व नेपाली परिचयसहित खेल क्षेत्रमा छाउने सम्भावनाको अन्त्य भए पनि धेरैले नेपालीको परिचय खोजेका छन् । नेपालबाट प्रतिनिधित्व गर्ने उनीहरूको चाहना बारम्बार देखिएको छ । तथापि यसमा राज्यको एउटै नीति बन्न सकेको छैन । सामान्यतः प्रविधि र पेसाले संसार बाँधिएको २१औं शताब्दीमा कुन व्यक्तिको बसोबास कहाँ छ भन्ने गौण हो । खेलाडीका रूपमा उसको नाम कुन राष्ट्रिय संघमा आबद्धता छ भन्नेमात्र हो । तर, विडम्बना नेपाल यति धेरै पछि रहेको छ, धेरै राष्ट्रिय संघसँग आफ्ना खेलाडीको सूचीसमेत छैन । दर्ता भएपछि मात्र प्रतियोगिता खेल्न पाउने प्रावधान पनि छैन ।
यसैको परिणाम हो— नीतिले भन्दा शक्ति समन्वयले विदेशमा बस्ने नेपालीबारे धारणा तय हुन्छ । मलेसियामा बस्ने कराते खेलाडी शान्ति अधिकारीले एकपटक नेपालको प्रतिनिधित्व किन गर्न नपाउने भन्ने विषय उठाउँदै पत्रकार सम्मेलन नै आयोजना गरिन् । मलेसियामा नेपाली कराते खेलाडीको ठूलो संगठन छ । योगेन्द्र कोइरालाले नेतृत्व गरेको यो समूहले त्यहाँ हुने र अन्य खाडी देशमा हुने प्रतियोगितामा सफलता पनि पाएको छ ।
तर, अफिसियल खेलमा उनीहरूको उपस्थिति हुने या नहुने भन्नेबारे नेपाली अधिकारी मौन छन् । यही प्रश्न विदेशमा रहने थुप्रै तेक्वान्दो खेलाडीले विगतदेखि उठाउँदै आएका छन् । एसियाड पदक विजेता राजकुमार राईको नेतृत्वमा रहेको नेपाली तेक्वान्दो खेलाडीहरूको संगठन युएनटीएफले नै यसको आवाज उठाउँदै आएको छ । विदेशमा बस्ने नेपाली खेलाडीबाट आर्थिक सहयोग लिने तर प्रतियोगितामा उपस्थितिको पहल नगर्ने नीति तेक्वान्दो संघको नै विगतदेखि रहँदै आएको छ ।
अर्कोतिर विदेशमै रहेर पनि उतैबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानेको पनि कमी छैन । यसरी जानेहरू एथलेटिक्समा धेरै छन् । योमात्र होइन, नेपालमा बस्ने गैरनेपालीलाई समेत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराएको नाममा विगतमा केही विवाद भएको थियो । रुक्मशमशेर राणा नेपाल ओलम्पिक कमिटीको अध्यक्ष रहँदा नै शीतकालीन ओलम्पिकमा गैरखेलाडी खेलाएको आरोप लागेको थियो । यी नीतिगत सवालमा नेपालका खेल अधिकारीको आधिकारिक धारणा अझै बाहिर आएको छैन ।