संकेतको एकल कविता वाचन
काठमाडौं : केदार संकेतको एकल कविता वाचन गरिएको छ । संकेतले आफ्ना छोटा मीठा कविता सुनाए । बेलायतबाट केही दिनको छुट्टी लिएर नेपाल आएका संकेतले चिन्डो कुक्सको आयोजनामा २ दर्जन कविता सुनाए ।
आयोजक संस्थाका कवि गशेणकुमार राईले कवि र अतिथिहरूलाई स्वागत गरे । उनको कवितावाचन शैली केही औपचारिक र केही अनौपचारिकले रोचकता दिएको थियो । कविता वाचनमा संकेतलाई निबन्धकार युवराज नयाँघरे, गोपीकृष्ण प्रसाईं, प्रगति राई, राजन समीप, चन्द्रा चाम्लिङ, स्वप्निल स्मृति र सांकेन वान्तवाले साथ दिएका थिए । कलाकार रमेश पौडेलले एकल कवितावाचन गर्ने कवि संकेतको कविता लेखन र साहित्यिक लगावको बारेमा चर्चा गरे ।
संकेतका कृति नेपालका विश्वविद्यालयमा अध्यापन हुने गरेका छन् । उनका कवितामा पाखण्डीपन र ढोगप्रति व्यंग्य गरिएका थिए । कैयौं कवितामा प्रवासमा रहँदाका पीडा र सुस्केरा ओकलिएका थिए । देशप्रेमका भावना पनि प्रस्फुटित भएका थिए । कविता, नियात्रा, निबन्ध विधामा उनका संग्रह प्रकाशित छन् । बेलायती सैनिक उनी अफगानिस्तानमा कार्यरत छन् ।
नयाँघरे पढ्दै थिए —
किन
आजका हामी मान्छेहरू
रमाइलो गाउँसहरको बस्तीलाई बनाउन खोजिरहेछौं
आलो लासका चिहानहरू ।
संकेत वाचन गर्दै थिए —
महारानी हजुर !
यो गोर्खे
आज हिस्सा माग्न तपाईंको दरबारसम्म आएको छ ।
विगतका हरेक लडाइँमा
यो सिपाहीको आँखा फुट्यो ।
आशाको आँखा मात्र हेरेर बाँच्न सक्दैन यो गोर्खे अब ।
कवि उपेन्द्र सुब्बाले एकल कवितावाचनको बधाई सहित समापन गरेका थिए ।