मनाङ र मुक्तिनाथमा हिमपात
पोखराः चर्चित पदयात्रा क्षेत्र मुस्ताङ र मनाङ जिल्लामा भीषण हिमपात हुँदा पर्यटक बीचमै अड्किएका छन् । बिहीबार साँझ सुरु भएको हिमपात शनिबारसम्म जारी रहेकाले मनाङको चामेभन्दा माथि करिब एक मिटर हिउँ जमेको प्रहरीले जनाएको छ ।
हिमपातपछि त्यस क्षेत्रमा गएका पर्यटक यात्रा रोकी सुरक्षित क्षेत्रमा बसेको जानकारी प्रहरीले दिएको छ । मुस्ताङका मुक्तिनाथ र उपल्लो मुस्ताङ क्षेत्रमा हिमपात भएकाले मुक्तिनाथ दर्शनमा गएका आन्तरिक पर्यटक र विदेशी पर्यटक पनि रोकिएका छन् । हिमपातपछि सञ्चार सेवा पनि अवरुद्ध भएको छ ।
अन्नपूर्ण पदयात्रा क्षेत्रमा भीषण हिमपातपछि त्यस क्षेत्रमा गएका सबै पर्यटक सुरक्षित रहेको जानकारी प्राप्त भएको पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । मनाङबाट पाँचजना नेपालीलाई उद्धार गरी हेलिकोप्टरबाट पोखरा ल्याइएको जानकारी पनि उनले दिए । १८ जना नेपाली र विदेशी पर्यटक हिमपातपछि पदयात्रा रोकी मनाङको टंकीमा सुरक्षित रहेको जानकारी पनि उनले दिए ।
कास्कीको अन्नपूर्ण आधारशिविर पदयात्राको देउराली र बगरबीच ठूलो हिमपहिरो गएको टान पोखरा च्याप्टरका अध्यक्ष दीपक अधिकारीले बताए । पहिरोले मानवीय क्षति भएनभएको जानकारी आइनसकेको उनले बताए । अन्नपूर्ण र माछापुच्छ्रे आधारशिविर क्षेत्रमा पथप्रदर्शक पोल नहुँदा ठूलो हिमपात भए हराउने अवस्था रहेको टान पोखरा कार्यसमितिका सदस्य उदय सुवेदीले बताए । बगर र माछापुच्छ्रे आधारशिविरबीच पनि निकैवटा हिमपहिरो गएकाले पदयात्रामा जान र फर्कन समस्या परेको उनले सुनाए ।
भीषण हिमपातले पदयात्रा र सवारीसाधन चलाउनसमेत नसकिने अवस्था भएकाले पर्यटक होटेलमै सुरक्षित रहेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले बताए । यस वर्षको भीषण हिमपात भएकाले जनजीवन प्रभावित भएको उनले सुनाए । पुसमा हिमपात भए पनि अहिलेको जस्तो ठूलो नभएको होटेल ग्रान्ड साम्बालाका सञ्चालकसमेत रहेका गुरुङले बताए । मुक्तिनाथ दर्शनमा आएका र पदयात्रामा गएका पर्यटक पहिले हिउँ खेलेर रमाए पनि ठूलो हिमपातपछि घर जान नसक्ने अवस्था आएको उनले बताए ।
जीवनमै पहिलोपटक हिउँमा खेल्न पाउँदा निकै खुसी लागेको मुक्तिनाथ दर्शनमा गएका काठमाडौंका प्रदीप आचार्यले बताए । मुक्तिनाथ दर्शन गरेर फर्कने तयारीमा रहे पनि हिमपातले सवारीसाधन नचल्दा यहीं बस्नु परेको उनले सुनाए । बिहेको वर्षगाँठमा घुम्न र मुक्तिनाथ दर्शन गर्न परिवारसहित पुगेकी पोखराकी सुनिता बरालले पनि हिमपातका कारण सवारीसाधन चल्न नसक्ने अवस्था भएकाले मन्दिरको दर्शनपछि पोखरा फर्कने योजना रोकिएको बताइन् ।
मुक्तिनाथमा २२ वटा होटेल सञ्चालनमा छन् । पछिल्लो समयमा विदेशमा गएका स्थानीय युवा पनि गाउँमा फर्केर होटेलमा लगानी गर्न थालेपछि यहाँ होटेलको संख्या बढेर एक हजारजनासम्म बस्न सक्ने सुविधा रहेको गुरुङले बताए । अहिले मुक्तिनाथमा करिब तीन सय पर्यटक रहेको पनि उनले बताए । मुस्ताङका लेतेदेखि मार्फा, जोमसोम, मुक्तिनाथ र उपल्लो मुस्ताङसम्म हिउँ परेको हो । मनाङमा पनि ठूलो हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा घुम्न गएका पर्यटक सुरक्षित रहेको जानकारी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाकी पर्यटन अधिकृत रश्मि आचार्यले दिइन् ।
अन्नपूर्ण पदयात्रा क्षेत्रको मनाङको चामे क्षेत्रमा पदयात्रा गर्दै पर्यटक ।
तस्विरः बेलायती पर्यटक लिईको फेसबुकबाट