सशस्त्र वन रक्षकको पदपूर्ति गरिदैँ
काठमाडौः वनजंगलको सुरक्षाका लागि सरकारले नेपाली सेना परिचालन गर्ने भएको छ । सरकारले रिक्त रहेका सशस्त्र वनरक्षकको दरबन्दी सेनाबाट पूर्ति गर्न लागेको हो ।
मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलका अनुसार लामो समयदेखि रिक्त पदमा पूर्ति गर्न नियमावली नभएकाले हाल सेनाको सहयोगमा परिचालन गर्न लागेको हो । वन विभागको नेतृत्वमा रहने गरी प्रमुख सेनानी (कर्णेल) सहित १ हजार ८३ जना सशस्त्र वनरक्षकको दरबन्दी सिर्जना गर्न लागिएको छ । तनहुँ, कास्की, पाल्पा, सुर्खेत, काठमाडौं, ललितपुरसहित तराईका २२ गरी ३१ जिल्लाका वनरक्षकमध्ये अहिले ७ सयभन्दा बढी रिक्त रहेको वन विभागका सूचना अधिकारी चन्द्रमान डंगोलले बताए ।
वनको सुरक्षाका लागि हतियारसहित सशस्त्र वनरक्षकको दरबन्दीका कर्मचारीले अवकाश पाएपछि ती पद रिक्त रहेको विभागले जनायो । नियमावली नभएकाले विभागले कर्मचारी भर्ना गर्न नसक्ने भएकाले तत्काल सेनाबाट पूर्ति गर्नुको विकल्प नभएको डंगोलले बताए । राज्यले वन रेखदेख गर्न प्राविधिकका रुपमा वनरक्षकको व्यवस्था गरेको छ । लोकसेवा आयोगसँग सहकार्य गरी ४ सय २० वनरक्षकको दरबन्दीे पूर्ति गर्ने तयारीमा जुटे पनि सशस्त्र वनरक्षकका सम्बन्धमा भने केही गर्न नसकेको उनको भनाइ छ । विभाग नियमावली ल्याउने तयारीमा जुटेको छ ।
वन सुरक्षाका लागि २०४६ सालमा गैंडा गस्तीका नाममा हतियारसहित सुरक्षाकर्मी खटाएसँगै पछिल्लो समय सशस्त्र वनरक्षक नाम दिइएको हो । २०४९ मा सेनाबाट भर्ना लिएको र पछिल्लो समय केही संख्या काजमा लिएर काम चलाइरहेको विभाग बताउँछ । वन ऐन २०५९ को दफा ५६ ले विशेष अधिकारअन्तर्गत सशस्त्र वनरक्षकले कसुरदार पक्राउ गर्न नसक्दा र प्रतिकार गर्न खोजे घुँडामुनि गोली हान्न पाउने अधिकार दिएको छ । हतियारसहितको रक्षकले राष्ट्रिय वन क्षेत्रको अतिक्रमण रोक्न पनि जिल्ला वन कार्यालय र विभागसँग समन्वय गरी वन संरक्षण गर्नेछ ।
मन्त्रालयका प्रवक्ता पौडेलले भने सरकारले वनरक्षकका दरबन्दी तत्काल पूर्ति नगरे वन संरक्षणमा चुनौती थपिने भएकाले पदपूर्तिको काम सुरु गरेको बताए । सेना पठाउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको सशस्त्र वनरक्षक कमान्डर कर्णेलको दरबन्दी र जिल्लास्तरमा सुबेदारको दरबन्दी खाली रहेकाले पूर्ति गर्न नियमावली नआएसम्म सेनाबाट लिने तयारी गरिएको उनले बताए ।