खानेपानीको धारा पाउँदा दलित वस्तीमा खुसियाली

खानेपानीको धारा पाउँदा दलित वस्तीमा खुसियाली

सुर्खेतः गाउँदेखि टाढा रहेको एक मात्र पानीको मुहान । सबैलाई उछिनेर मुहानमा नपुगे पानी भर्ने पालो नपाइने । समयमै पुगेर पानी भर्दा आफ्नै छिमेकीले नै छोइछिटो गर्ने । त्यतिमात्र होइन, पहिले नै पानी भरेको दिन त छिमेकीको दुव्र्यवहार सहनुपर्ने बाध्यता । सुर्खेतको सहारेस्थित दमारगाउँमा रहेको दलित वस्तीले खानेपानीका लागि वर्षौसम्म यो भन्दा ठूला पीडा भोग्यो ।

घण्टौं लगाएर मुहानमा पानी लिन पुगे पनि दलित भएकै कारण गैरदलितहरुले सहज रुपमा पानी भर्न दिएनन् । पानी छोएको, कुवा धमिलो बनाएको र आफूहरु भन्दा पहिले नै मुहानमा आएको भन्दै छिमेकीले दुव्र्यवहार मात्र गरेनन्, मुहानको पानी नै बहिस्कार गर्थै ।

तर वर्षौंपछि यो दलित वस्तीले पानीकै लागि छिमेकीले गर्ने दुव्र्यवहार र छोइछिटोबाट भने मुक्ति पाएको छ । कारण अहिले दलित वस्तीमै खानेपानीका धारा निर्माण भएका छन् । छिमेकीको अपहेलना र पानीको जोहो गर्दै हैरान बनेको दलित वस्तीको अहिले मुहार नै उज्यालो बनेको छ । एक महिनादेखि आफ्नै आँगनमा धाराको पानी भर्न पाएपछि दलित वस्तीमा खुसीयाली छाएको हो ।

‘एक घण्टा लगाएर पानी ल्याउनुपथ्र्यो, पानीका लागि छिमेकीसँग संधै झगडा हुन्थ्यो' दमारगाउँ निवासी जैसरा कामीले भनिन्,‘हामीले पहिला नै पानी भरेको दिन त छिमेकीले पानी नै बहिस्कार गर्थे, मुहानमा छोएको र धमिलो बनाएको भन्दै गाली गर्थे ।' हिजोआज आँगनमै धारा बनेको र पानीका लागि धाउनुपर्ने बाध्यता टरेको भन्दै उनले खुसीका दिन सुरु भएको बताइन् ।

आँगनमै रहेको धारामा पानी भर्दै गरेकी उनले थपिन्,‘दलित भनेर हेला गर्थे, पानी भर्न निकै मुस्किल हुन्थ्यो । अहिले त हाम्रो वस्तीमा तीन वटा धारा बनेका छन्, अब पानीका लागि कसैसँग झगडा गर्नुपर्ने अवस्था छैन ।' वस्तीका सबैले पानीका लागि निकै कष्ट भोगको सुनाउँदै उनले आफूहरुका सुखका दिन फिरेको भन्दै सबैभन्दा महिलाहरुलाई सजिलो भएको उल्लेख गरिन् ।

यो दलित वस्तीमा अहिले २० परिवार वसोवास गरिरहेका छन् । उत्पादन नहुने र खानेपानीकै लागि संघर्ष गर्दै आएको दलित वस्तीमा तीन वटा आधुनिक धारा निर्माण गरिएको छ । ति धारामा दुबैतर्फ पानी भर्न मिल्ने सुविधा रहेको छ । स्थानीय ममता चुनाराले भनिन्,‘पानीका लागि धेरै दुख पायौं, गाग्री बोकेर घण्टौंसम्म धाउनुपथ्र्यो ।

अहिले भने आँगनमै धारा छन्, बारीमा तरकारीलाई सिँचाइ गर्न समेत पुगेको छ ।' विगतमा आफूहरुले पानीकै लागि धाउँदा घरको अन्य काम छुट्ने गरेको र बालबालिकालाई स्कुलको साटो पानीको जोहो गर्न पठाउने गरेको उनले स्मरण गरिन । ‘म मात्र होइन, पुरै वस्ती नै पीडित थियो' धारामा पानी भर्न पाउँदा खुसी हुँदै उनले भनिन्,‘अहिले त आफ्नै धारा छन्, कसैसँग झुक्नु परेको छैन । हामी पीडाबाट मुक्त भएका छौं, अहिले पुरै वस्तीको मुहार नै उज्यालो भएको छ ।'

खानेपानीका लागि धेरैले आश्वासन दिए । चुनावमा मत माग्न आउनेहरु पनि वस्तीमा फिर्ता भएनन् । पुरुषहरु मजदुरीका लागि भारत जाने भएकाले गाउँमा महिला र बालबालिका मात्र । कसैले आफ्नो पीडा नसुनेपछि स्थानीय महिलाहरुको नेतृत्वमा गाविसमा धारा माग गरे । गाविसको सहजिकरणमा सुन्दर नेपाल संस्थाले खानेपानीको लागि आर्थिक सहयोग उपलब्ध गरायो ।

संस्थाको एक लाख ९६ हजार रकम र स्थानीयकै जन श्रमदानको बलमा वस्तीमा खानेपानी आएको हो । स्थानीयकै सक्रियतामा तीन वटा धारा, पानी संकलन गर्ने ट्यांकी र अन्य पूर्वाधार निर्माण गरिएको छ । तिरतिरेपाखा बहुउदेश्यीय खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयको मुहारमा खुसीयाली छाएको छ । अहिले रातको समयमा संकलन भएको पानी स्थानीयले पालैपालो तरकारी खेतीमा सिँचाइ गर्दै आएका छन् । यसले तरकारी उत्पादनमा समेत बृद्धि भएको छ ।

जलवायु परिवर्तनका कारण सिमान्तकृत समुदायहरु बढी जोखिममा रहेको र आफुहरुले दलित वस्तीमा खानेपानी आयोजना सम्पन्न गर्न सहयोग गरेको सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कँडेलले बताए । उनका अनुसार स्थानीयले माग गरेपछि सहयोग उपलब्ध गराइएको हो । अनुकुलन परियोजना अन्तर्गत खानेपानी आयोजना सम्पन्न भएको भन्दै कँडेलले धारा निर्माण भएपछि दलित वस्तीमा खानेपानी संकट टरेको जनाए ।

खानेपानीको समस्या समाधान भएसँग यो वस्तीको शीर ठाडो बनेको उनको भनाइ छ । उनका अनुसार खानेपानी र सिँचाइमा प्रयोग गर्न मिल्नेगरी आयोजनाको काम सम्पन्न भएको हो । खानेपानीको सहजतासँगै स्थानीयले आयआर्जनका काममा सहभागिता जनाउन थालेका छन् । यसले उनीहरुको आयस्रोतसमेत बढेको उनले दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.