यसवर्ष पनि निमार्ण सकिएन लुंग्रिमाडी सिंचाई अायाेजना
प्यूठानः सारी-२ प्यूठानका लोक बहादुर सुनार यसपाली आफ्नो बाँझो खेतबारीमा सिंचाई गर्न पाउने भएपछि खुसीले ‘गदगद' थिए । २९ वर्षदेखि निर्माणधिन अवस्थामै रहेको लुंग्रिमाडी सिंचाई आयोजना पुरा हुने भएपछि ऊनीमा खुसी पलाएको हो ।
सिंचाइको अभावमा गाउँमा थुप्रै खेतीयोग्य जमिन बाँझै राख्नुपरेको उनले गुनासो गरे । तर, यसपाली पनि आयोजना पुरा नहुने देखेपछि निराश हुनुपरेको उनी गुनासो पोख्छन् । ‘यसवर्ष जसरी पनि आयोजना पुरा हुनेमा आशावादी थियौँ',सुनारले भने,‘रोल्पा पुर्याउने बाटोले नहर पुरिदिएछ । एउटाले बनाउने अर्कोले पुरिदिने कस्तोखालको विकास निर्माण होला ? ' निर्माण सकिनेबेला आयोजना यसवर्ष पनि अँधुरै रहने भएपछि धेरै किसानको सिंचाइ गर्ने आशा निराशामा बदलिएको उनले बताए ।
रोल्पा सुलिचौर-गाम र सुलिचौर-तेवाङ जोड्ने सडक निर्माण गर्ने क्रममा सुलिचौरको जुतुङखोलादेखि लुंग्रिखोला मुहानसम्मको पक्की नहर पुरिएर क्षति भएको उनले बताए । करिव ३ सय मिटरको पक्की नहर प्रयोगमा ल्याउनै नमिल्ने गरी पुरिएर क्षति भएको भएको छ । ‘नहर बन्ला र सिंचाई गरौँला भन्ने आशामै २९ वर्ष वितिसक्यो',सुनारले दुखेसो गर्दै भने,‘एउटा पुस्ता हुँर्किसक्यो नहर अझै पुरा हुन सक्दैन ।'
राज्यकै एउटा निकायले बनाएको विकास अर्कोले क्षति पुर्याउँदा समेत रोल्पा जिल्ला विकास समिति र स्थानीय प्रशासनले चासो नदेखाएको सारीकै स्थानीय सामाजिक अगुवा हिरामणी भण्डारीले बताए । ‘सडक खन्ने बाहानमा बनिसकेको नहरमा क्षति पुर्याउनु हुँदैन्थ्यो',उनले भने,‘किसानको भविष्यमाथी खेलवाड गरियो ।'
रोल्पा निर्वाचन क्षेत्र नम्वर १ का सांसद्, उपप्रधान एवं अर्थमन्त्री कृष्ण बहादुर महाराको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत तेवाङ जोड्ने सडक निर्माण गर्न लागिएको निर्माण व्यवसायी सुलिचौरका रतिमान पुन(अग्रिम)ले जानकारी गराए । १५ लाख रुपैयाँमा उक्त सडक निर्माण गर्न लागिएको उनको भनाई छ ।
‘आरआरएसडिपी' दोस्रोचरणको कार्यक्रम अन्तर्गत रोल्पा मार्फत सुलिचौर गाम जोड्ने सडक निर्माण गरिएको जिल्ला विकास समिति रोल्पाका स्थानीय विकास अधिकारी शुसिल वैद्यले जानकारी गराए । उनका अनुसार मध्यपहाडी मार्ग अन्तर्गत यस सडक निर्माण गरिएको हो । ‘११ करोड रुपैयाँमा सडक निर्माण गरिएको छ',उनले टेलिफोनमा कुरागर्दै उनले भने,‘नहरमा क्षति नपुर्याउने गरी सडक निर्माण गर्न भनेका थियौँ । क्षति भएछ स्थलगत अनुगमन गरी मर्मत गर्न पहल गर्छौ ।' जिल्ला प्राविधिक कार्यालय मार्फत सडक निर्माण हुने बताउँदै उनले छिट्टै प्राविधिकको टोलीलाई अनुगमन गर्न पठाउने समेत उनले जानकारी गराए ।
‘सडक निर्माण गर्नुपूर्व नहरमा कुनै क्षति नपुर्याउने भनेर लिखित सहमती भएको थियो',सिंचाई विकास डिभिजन कार्यालय प्यूठानका डिभिजन प्रमुख कृष्ण बहादुर वि.क.ले भने,‘लिखित रुपमै गरेको सहमती कार्यान्वयन गरिएन । काम सकिने बेला निराशा बनाइयो ।'
राज्यकै एउटा निकाय विकास निर्माण गर्दै जाने र अर्को भत्काउँदै जाँदा दिगो विकासमा बाँधा पुग्ने उनको भनाई छ । २०४४ सालमा राजा विरेन्द्रको पालामा ‘हुकुमबक्स'बाट उक्त आयोजना निर्माण थालिएको उनले जानकारी गराए । ‘निर्माण थालेदेखि १३ जना कार्यालय प्रमुख परिवर्तन भइसके',उनले भने,‘यसपाली जसरीपनि पुरा गर्ने योजनामा थियौँ । सडककै कारण रोकिने भयो ।' हालसम्म १२ करोड २३ लाख ७५ हजार १ सय ४६ रुपैयाँ खर्च भइसकेको उनले जानकारी गराए । ‘प्रति किलोमिटर नहरमा एक करोड रुपैयाँ खर्च भएको छ',वि.कले भने,‘सडकले क्षति पुर्यायो । खर्च अझै बढ्ने भयो ।' उनका अनुसार नेपाल सरकारद्धारा ११ करोड ७६ लाख ९४ हजार ९ सय ६२ र प्रभावित क्षेत्रका स्थानीयले ४६ लाख ८० हजार १ सय ८३ रुपैयाँ जन श्रमदान गरेका छन् ।
नहरको लम्वाई १२ दशमलव २७९ किलोमिटर रहेको कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर विशाल के.सी.ले जानकारी गराए । हालसम्म पक्की र कच्ची गरी झण्डै १२ किलोमिटर बढी नहर निर्माण भइसकेको उनले बताए । सारी १, २, ३ र ४ नम्वर वडाका ७ सय ६२ घरधुरी किसानको २ सय ३० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा बाह्रैमहिना सिंचाइ पुर्याउने उद्देश्यले आयोजना निर्माण गर्न लागिएको उनको भनाई छ । ‘जुतुङ खोलामा मुहान बनिसकेको छ',उनले भने,‘आगामी आवभित्रै लुंग्रिको मुहानबाट पनि पानी नहरमा झार्ने तयारीमा थियौँ ।
सडकले क्षति पुर्यायो ।' आयोजनाको करिव ९० प्रतिशत काम पुरा भइसकेको दावी गर्दै उनले चालु आवमै गाउँमा पानी झार्ने योजना अँधुरै रहेको गुनासो गर्छन । ‘सडक निर्माणले नहर पुरिँदा १ करोड ५० लाख रुपैयाँ क्षति भएको प्रारम्भिक आँकलन गरेका छौँ',उनले भने,‘राजनीतिक रुपमै यसको निकासा खोजिनुपर्छ ।'
जुतुङ खोलादेखि लुंग्रीखोला मुहानसम्मका अधिकांश पुराना संरचना पूर्नमर्मत र नवनिर्माण गर्ने अवस्थामा क्षति पुगेको उनले जानकारी गराए । ‘काम गर्दागर्दै विचमै रोकेका छौँ',विकले भने,‘पुस २५ गते स्थानीय सरोकारवालाहरुसंग बैठक बसेर नहरमा क्षति नपुर्याउने गरी सहमती भएको थियो । ठोस निकास नआउँदासम्म काम अघि बढ्दैन ।'
सिंचाइको अभावमा यस क्षेत्रको थुप्रै क्षेत्रफल खेतीयोग्य जमिन बाँझै राख्नुपरेको सारीका स्थानीय भरत राउतले गुनासो गरे । ‘धेरै ठाउँमा भएको कडा चट्टान हटाएर नहर बनाइएको छ',उपभोक्ता समितिका सदस्य समेत रहेका उनले भने,‘मुहानमै सडकले क्षति पुर्यायो । यसवर्ष गाउँमा पानी आउने देखिएन ।' राजनीतिक संयत्रबाट यसमा चासो देखाउनुपर्ने उनको माग छ । आयोजना पुरा भएमा यस क्षेत्रका किसानको जीवनस्तर परिवर्तनमा मद्दत पुग्ने उनले विश्वास गरे । ‘लुंग्रिमाडी जिल्लाको आर्थिक समृद्धिसँग जोडिएको आयोजना हो',राउतले,‘चौतर्फी चासोले मात्र आयोजना पुरा हुनसक्छ ।' उपभोक्ता समिति मार्फत चालु आवमा ३० लाख रुपैँया बरावरको काम भएको कार्यालयले जनाएको छ ।
गत माघ ४ गते ‘२९ वर्षमा पनि पुरा भएन लुंग्रिमाडी सिंचाई आयोजना' शिर्षकको समाचार अन्नपूर्णमा प्रकाशित भएपछि प्रधानमन्त्रीको कार्यालयले सिंचाई विकास डिभिजन कार्यालय प्यूठानको ध्यानाकर्षण गराई आयोजना पुरा गर्नतर्फ निर्देशन दिएको थियो ।