भ्यानले ठक्कर दिँदा होली खेल्न हिडेका बालकको मृत्यु
राजविराजः सप्तरीमा भ्यानले ठक्कर दिँदा होली खेल्न हिडेका एक बालकको मृत्यु भएको छ।
साइकलमा आमासँग मामाघर गइरहेका मैनाकडेरी–२ का सात वर्षीय बालक प्रवेशकुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ। बालककी आमा होली खेल्न छोरासहित कोइलाडीस्थित माइती घरतर्फ गइरहेकी थिइन्।
भारदह–राजविराज सडक खण्डस्थित हनुमाननगर योगिनीमाई नगरपालिका–३ मा रहेको पेट्रोल पम्प नजिक नम्बर नखुलेको मारुती भ्यानले दिएको ठक्करबाट बालक गम्भीर घाइते भएका थिए। घाइते बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउँदै गर्दा बालकको मृत्यु भएको प्रहरी नायव निरीक्षक भगवानी ठाकुरले बताए।
दुर्घटनास्थलमा ठक्कर दिने भ्यानको एउटा ढोका सडकमा झरेको मृतकका बुवा रमेश कुमार साहले बताए। होलीका बेला मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाएको मारुती भ्यान अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।