आकाशमा महिला
काठमाडौ: सबै आमाबाबुको चाहना हुन्छ आफ्ना सन्तानले प्रगति गरून् । समाजमा प्रतिष्ठित पेसा अपनाऊन् । नाम र दाम दुबै कमाऊन् । त्यसैले त बालबालिका तथा छोराछोरीलाई आशिक दिँदा भन्ने गरिन्छ डाक्टर, इन्जिनियर, पाइलट भए ।
विगतदेखि वर्तमानसम्म समाजमा प्रतिष्ठित पेसा हो पाइलट । त्यसमा पनि महिलाका लागि पाइलट हुनु सान, मान र प्रतिष्ठा सँगसँगै जोडिएको हुन्छ । नेपाली समाजमा महिला पाइलट पेसामा स्थापित हुन जति गाह्रो छ, त्यसमा टिकिराख्न चुनौती पनि त्यति नै धेरै छ ।
नेपालमा महिलाले हवाईजहाज उडाउनु कल्पना मात्रै थियो सन् १९९० सम्ममा । सन् १९९१ मा सोनी राणाले पहिलोपटक पाइलट लाइसेन्स लिएपछि यो क्षेत्रमा नारीको पनि प्रवेश हुन पुग्यो । सोनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट १९९१ को मार्च २९ का दिन ११९ नम्बरको लाइसेन्स लिएपछि उनले सोही वर्षबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा जागिर पाइन् ।
नेपालकै पहिलो महिला पाइलटका रूपमा वायुसेवा निगमको ट्वीनअटर जहाज उडाउन थालेकी सोनीको पाइलट करियर अहिले २८ वर्ष भइसकेको छ । निगमको ट्वीनअटर विमानमा को–पाइलटबाट सुरु गरेको आकाश उडानको यात्रा अहिले अन्तर्राष्ट्रिय उडानतर्फ 'बोइङ ७५७’ को क्याप्टेन तहसम्म पुगिसकेको छ । उनले निगमको १९० सिट क्षमताको जहाजको कमान्ड गर्न थालेकै तीन वर्ष भएको छ ।
वायुसेवा निगममा १४ वर्ष आन्तरिक उडान र बाँकी ११ वर्ष अन्तर्राष्ट्रिय उडानमा कोपाइलट भएर जहाज उडाएकी सोनी बोइङको क्याप्टेनपछि पनि आफ्नो क्षमता र प्रतिभालाई खुम्च्याएर राख्न तयार छैनन् । निगमले बोइङ जहाज विस्थापन गर्न थालेको छ । बोइङ विस्थापन भयो भने एयरवसको उडान गर्न पनि उनी तम्तयार छिन् । उड्डयनको नियमअनुसार एउटा प्रकृतिको जहाज उडाइरहेको पाइलटले अर्को प्रकृतिको उडाउन पाइँदैन । आवश्यक तालिम लिएर भए पनि बोइङको उडान छाड्ने र एयरबसमा जाने उनको धोको भने अझै बाँकी छ ।
परिवारको साथले एकपछि अर्को सफलता पाउँदै बोइङको क्याप्टेनसम्म बन्न पुगेकी सोनीका श्रीमान् विजय गिरी पनि क्याप्टेन नै थिए । स्काई लाइनको जहाज उडाउने क्रममा जुम्लाबाट फर्कंदा सुर्खेतमा दुर्घटना भएर श्रीमान्ले संसार छाडे । पेसागत मर्यादा र आत्मविश्वासले नै सोनीलाई यही पेसामा टिकाइरहेको छ । अहिले कक्षा १० मा पढ्दै गरेकी उनकी एउटी छोरी छिन् । छोरीको चाहना भने पाइलट नभएर डाक्टर बन्ने रहेको सोनीले सुनाइन् ।
वायुसेवा निगमले नै सोनीलाई आजको स्थानसम्म पु¥यायो । पहिलो महिला पाइलट हुँदै अन्तर्राष्ट्रिय उडानको क्याप्टेनसम्मको परिचय दियो । 'निगम मेरा लागि सबैभन्दा ठूलो आस्थाको केन्द्र हो’, राणा भन्छिन् । उनको करिअरमा धेरैपटक निजी वायुसेवाबाट प्रस्ताव आएका र विदेशी वायुसेवामा जान सुझाव आए पनि उनी भने राष्ट्रिय ध्वजावाहकमै रमाइन् ।
पहिलो को ?
सोनीले सन् १९९१ मै पाइलट लाइसेन्स लिएर वायुसेवा निगमको जहाज उडान गरेकी थिइन् । तर, सन् १९९२ मा लाइसेन्स लिएकी रक्षा राणाको नाम अगाडि आएका कारणले उनको मन दुख्यो । सोनीले सन् १९९१ को मार्च २९ मा ११९ नम्बरमा पाइलट लाइसेन्स लिएकी हुन् । तर, सन् १९९२ को मे २० मा लिएको १२३ नम्बरको रक्षा राणाको लाइसेन्सलाई भने पहिलो महिला भन्ने हल्ला गर्नुले सोनीको मन दुखायो । सोनीले निगमको ट्वीनअटर जहाज उडाउन थालेको २ वर्षपछि मात्रै रक्षाले एभरेष्ट एयरको डोर्नियर जहाज उडाएको दाबी पनि उनको छ । महिला पाइलटमा आफ्नो नाम आउनुपर्नेमा अर्कोको नाम अगाडि आएकाले सोनीले आफ्नो प्रमाण महिला आयोगमा बुझाएकी छन् । उनले सरकारी निकायमा पनि आफ्नो पहिलो महिला भएको प्रमाण पेस गरिरहेकी छन् ।
पेसागत मर्यादा र आत्मविश्वासले नै सोनीलाई यही पेसामा टिकाइरहेको छ ।
बढ्दो महिला
नेपालमा विभिन्न आन्तरिक तथा अन्तर्राष्ट्रिय जहाज उडानमा २८ जना महिला सक्रिय छन् । पाइलट पेसामा महिलालाई बढी अवसर दिने वायुसेवामा 'यती एयरलाइन्स’ रहेको छ । यो वायुसेवामा १२ जना महिलाले जहाज उडान गरिरहका छन् । यस्तै बुद्धमा ८ जना, वायुसेवा निगममा ४ जना, तारा एयरमा २ जना, सौर्य र एयर डाइनेस्टीमा १/१ जना महिला पाइलट छन् ।
आन्तरिक उडानको सबैभन्दा धेरै यात्रु उडान क्षमता राख्ने बुद्ध एयरमा भएका ८ महिलामध्ये ६ जना क्याप्टेन छन् । बाँकी २ जना मात्रै को–पाइलट छन् । '९९ गु्रप अफ वुमन पाइलट’ नेपालकी अध्यक्ष क्याप्टेन पेमा लामाका अनुसार यो पेसामा लाग्नै गाह्रो छ । क्याप्टेन लामाले सन् २०१० को जुलाईमा फिलिपिन्सबाट तालिम सकेर नेपाल आएपछि तत्कालीन अग्नि एयरबाट ग्राउन्ड क्लास अर्थात् तालिम लिएकी दिइन् । उनले पाइलटमै अवसर पाउन भने सन् २०१२ को सेप्टेम्बरसम्म पर्खनुपर्यो । २०१२ देखि उनी बुद्ध एयरमै कार्यरत छिन् ।
आफूले पाइलट अध्ययन गरेर नेपालबाट लाइसेन्स लिइसकेपछि पनि चार÷पाँच वर्ष कुरेर मात्रै अवसर पाएको सम्झन्छिन् लामा । उनका अनुसार पहिले जत्तिकै गाह्रो छ अहिले पनि ।
कमान्डमा १२
जहाज उडानको कमान्डमा रहेका अर्थात् सक्रिय २८ महिला पाइलटमध्ये १२ मात्रै क्याप्टेन हुन् । बाँकी १६ जना कोपाइलट हुन् । महिलाको कमान्डमा सबैभन्दा बढी बुद्ध एयरमा रहेको छ । बुद्धमा रहेका ८ जना महिलामध्ये ६ जना क्याप्टेन छन् । बुद्धमा रहेका ६ जना क्याप्टेन यशोधरा थापा, कोमल बस्नेत, सुनिता धिताल, आस्ना आचार्य, पेमा लामा र रीता प्याकुरेल हुन् । यो वायुसेवामा कोपाइलटका रूपमा मार्किस थापा र शैलाजा मुनकर्मी रहेकी छन् ।
यती एयरमा क्याप्टेनद्वय लुना प्रधान र महेश्वरी डंगोल छिन् । यो वायुसेवामा रहेका अन्य कोपाइलट अञ्जु खतिवडा, मोनिता प्रजापति, प्रतिभा राई, बन्दा शेर्पा, सोनाम छोकी शेर्पा, नेहा पूरी, आङतेमी शेर्पा, प्रतिष्ठा कार्की, श्रद्धा खड्का र रेनु कठायत हुन् । तारा एयरमा राजेश्वरी श्रेष्ठ र यशोधा भट्टराई कोपाइलट छन् । सौर्य एयरमा क्या. भावना पन्त र एयर डाइनेस्टीमा क्याप्टेन प्रिया अधिकारी छिन् । सरकारी वायुसेवामा रहेका चार जना पाइलटमध्ये सोनी र हीरा थापा क्याप्टेन हुन् । कोपाइलटमा लिभटी भण्डारी र सिर्जना राउत रहेकी छन् । नेपालमा सक्रिय रहेका यी पाइलट सबै महिला पाइलटको समूह '९९ ग्रुप अफ विमन पाइलट नेपाल’मा आबद्ध छन् । यो संस्था महिलाको अन्तर्राष्ट्रिय समूह हो । यो समूहमा हालसम्म ६ हजारजति महिला पाइलट सदस्य छन् । नेपाल यसैको एउटा च्याप्टर हो ।
कसरी बन्ने पाइलट ?
पाइलट बन्न इच्छाशक्ति मात्रै नभएर आर्थिक स्रोत पनि राम्रै हुनुपर्छ । नेपालमा पाइलट अध्ययन नहुने भएकाले विदेशमा गएर कम्तीमा दुई सय घन्टाको तालिम लिएर आउनुपर्छ । पाइलट अध्ययनका लागि 'नेपाल नागरिक उड्डयन प्राधिकरण’ले तोकेको सिंगापुर, फिलिपिन्स, अमेरिकालगायत देशका संस्थामा गएर अध्ययन गर्नुपर्छ । नेपालमा विज्ञान विषय लिएर १० जोड दुई अध्ययन गरेका विद्यार्थीले पाइलट अध्ययन गर्न जान पाउँछन् । दुई सय घन्टाको तालिम लिएर नेपाल आएपछि प्राधिकरणले लिने परीक्षामा उत्तीर्ण हुनेले मात्रै कमर्सियल पाइलट लाइसेन्स (सीपीएल)को लाइसेन्स पाउँछन् । यो लाइसेन्स लिएका व्यक्तिलाई मात्रै एयरलाइन्स कम्पनीले आवश्यकताका आधारमा अवसर दिने गरेका छन् ।
पहिले एयरलाइन्सले सीपीएल तालिम लिएका व्यक्तिलाई रोजगारीसँगै तालिम दिने गरेका थिए । पछिल्लो समय नेपालमा पाइलट अध्ययन गरेर आउने धेरै र एयरलाइन्सले सिर्जना गर्ने अवसर थोरै हुन थालेपछि तालिम खर्च सम्बन्धित पाइलट नै व्यहोरेर वायुसेवामा प्रवेश गर्नुपर्ने भएकाले खर्चिलो पनि छ । पछिल्लो समय पाइलट बन्न करोडसम्म लाग्न सक्छ ।