प्रधानमन्त्री प्रचण्ड चीन जाँदै
काठमाडौंः सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण तयारी सुरु गरेको छ ।परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले भ्रमण तयारी अघि बढाएका छन् । दाहालले सोमबारै केही सचिवसँग भ्रमणका एजेन्डाबारे छलफल गरेका छन् ।
परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री दाहाल चैत १० वा ११ मा चीन भ्रमणमा जाने तयारी भइरहेको छ । सरकारले प्रधानमन्त्रीको चीन भ्रमणको मिति र एजेन्डा केही दिनभित्रै निर्णय गर्नेछ । काठमाडौंस्थित चिनियाँ दूतावासका एक अधिकारीले भ्रमणबारे छलफल जारी रहे पनि मिति तय भइनसकेको बताए । ‘प्रधानमन्त्री दाहालको भ्रमण हुनेमा हामी विश्वस्त छौं’, उनले भने । दोस्रोपल्ट प्रधानमन्त्री बन्दा दाहाल भारतसँग नजिकिएको तर चीनसँग दूरी राखेको भन्दै आलोचना भइरहेका बेला दाहालको चीन भ्रमण तयारी गरिएको हो ।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चीन भ्रमणको मिति प्रस्ताव गरिए पनि तय भने भइनसकेको बताएका छन् । ‘यो प्रस्तावित मितिमात्र हो,’ मन्त्री महतले अन्नपूर्णसँग भने ।दाहालको भ्रमणमा चीनले प्रस्ताव गरेको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपाल सहभागितासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने भनिए पनि टुंगो लागिनसकेको परराष्ट्रका अधिकारीले बताए । ‘सकेसम्म वान बेल्ट वान रोड अवधारणामा नेपालको सहभागिता सुनिश्चित गर्न चीनसँग सम्झौता गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ’, प्रधानमन्त्रीनिकट अधिकारीले भने ।
ओली सरकारका पालामा भएका पारवहनलगायत सम्झौता कार्यान्वयनमा आनाकानी गरिरहेको आरोप खेपेका दाहालले चीनसँगको सम्बन्धमा आफूले बेवास्ता नगरेको सन्देश चिनियाँ नेतृत्वलाई दिन चाहेको बताइन्छ । चैत १०–१३ सम्म चीनले हाइनान प्रान्तस्थित बोआओमा आयोजना गर्ने बोआओ फोरम फर एसिया सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीलाई निमन्त्रणा दिइसकेको छ ।
चिनियाँ दूतावासका अधिकारीले सोमबार बिहान प्रधानमन्त्री दाहालसँग भेटी सम्मेलनको निमन्त्रणा दिएका थिए । त्यसलगत्तै दाहालले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र परराष्ट्रसचिव शंकरदास बैरागीसँग सोमबार बिहानै चीन भ्रमणबारे परामर्श गरेका थिए ।दाहाल काठमाडौंबाट सीधै बेइजिङ जाने र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तयारी छ । ‘चिनियाँ राष्ट्रपतिसँग भेट तय भए प्रधानमन्त्री पक्कै चीन जानुहुनेछ’, दाहालका एक सल्लाहकारले भने । बेइजिङपछि दाहालले बोआओ सम्मेलनमा सहभागिता जनाउनेछन् ।
दाहालले सम्भावित भ्रमणबारे चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसँग हालै परामर्श गरेका थिए । पौड्याल परामर्शपछि आइतबारै बेइजिङ फर्केका छन् । ‘ग्लोबलाइजेसन एन्ड फ्री ट्रेड—एसियन पर्सपेक्टिभ्स’ शीर्षकमा हुने सम्मेलनमा दाहालले सम्बोधन गर्ने सम्भावना छ ।
‘तातोपानी खुलाउन पहल गर्नुस्’
प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा तातोपानी नाका खुलाउन पहल गर्नुपर्ने सुझाव सचिवहरूले दिएका छन् । प्रधानमन्त्री दाहालले सोमबार सरोकारवाला मन्त्रालयका सचिवलाई बोलाएर सुझाव मागेका थिए । भूकम्पपछि चीनले असुरक्षाको कारण देखाउँदै तातोपानी नाका बन्द गरेको छ । भ्रमणक्रममा तातोपानी नाका खोल्न र रसुवागढी नाकाको स्तरोन्नति गर्न पहल गर्नुपर्ने सचिवको सुझाव छ । चीनले दुवै नाका निर्बाध रूपमा सञ्चालन गर्न सहयोग गर्नुपर्ने नेपालको माग छ ।
तातोपानी नाका बन्द भएपछि सिन्धुपाल्चोकको लार्चामा बनिरहेको सुक्खा बन्दरगाहको काम पनि रोकिएको छ । चिनियाँ सहयोगमा बनिरहेको बन्दरगाहको आधाभन्दा बढी काम सकिएको छ । नाका सञ्चालन गरेर बन्दरगाह निर्माणकार्य अगाडि बढाउन पहल गर्न पनि सचिवले सुझाव दिएका छन् । यस्तै रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह पनि भ्रमणको विषय बनाउनुपर्ने सुझाव छ ।
ऊर्जासचिवले पश्चिम सेती जलविद्युत् आयोजनाको विषय उठाउन सुझाव दिएका छन् । पश्चिम सेती चिनियाँ लगानीमा निर्माण हुँदैछ । तर निर्माणकार्य अहिलेसम्म अगाडि बढ्न सकेको छैन । चीनसँग बढ्दो व्यापारघाटा कम गर्न सहजीकरणका लागि सहयोग गरिदिन पहल गर्नुपर्ने वाणिज्यसचिवको सुझाव छ । आपूर्तिसचिवले पेट्रोलियम भण्डारणका लागि सहयोग गर्न पहल गर्नुपर्ने सुझाव दिएका छन् । पेट्रोलियम भण्डारण निर्माणका लागि चीनले सहयोग गर्ने आश्वासन दिइसकेको छ ।
प्रधानमन्त्रीसँगको भेटवार्तामा अर्थ, उद्योग, ऊर्जा, वाणिज्य, आपूर्ति र भौतिक योजना मन्त्रालयका सचिवलगायतको सहभागिता थियो । सोमबार प्रधानमन्त्री र सचिवको भेटवार्तामा आसन्न चीन भ्रमणका क्रममा उठाउनुपर्ने विषयमा छलफल भएको हो । यस विषयमा परराष्ट्र मन्त्रालयले अन्तिम टुंगो लगाउनेछ ।