स्थानीयले बनाए नयाँ गाउँपालिका
धनकुटा: छथर गाउँपालिकाअन्तर्गत तीन गाविसका स्थानीय बासिन्दाले सरकारले तोकेको गाउँपालिकाको केन्द्रप्रति असन्तुष्टि जनाउँदै जोरपाटीमा नयाँ कार्यालय स्थापना गरेका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार स्थानीय विकास मन्त्रालयले छथर जोरपाटी गाउँपालिकाको केन्द्र कार्यालय तांखुवा गाविसको काजिमाने बजारमा राख्न जिल्ला समन्वय समितिलाई परिपत्र गरेको थियो । तर उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै तीन गाविसका बासिन्दाले सोमबार जोरपाटी बजारमा छथर जोरपाटी गाउँपालिकाको कार्यालय स्थापना गरेका हुन् ।
स्थानीय जनताले काजिमाने बजारमा गाउँपालिका कार्यालय स्थापनाका लागि हिँडेका गाउँपालिका प्रमुख उपेन्द्र श्रेष्ठलगायतको टोलीलाई जोरपाटी बजारमा अबिर–मालासहित भव्य स्वागत गरेर नयाँ कार्यालयमा भित्र्याएका थिए । जोरपाटीमा भेला भएका स्थानीयले सर्वदलीय भेला गरी जोरपाटीमै केन्द्र राख्ने गरी दबाब दिन हस्ताक्षर अभियान गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको सिफारिस गर्ने क्रममा साविक चारै गाविसको सर्वदलीय भेलाले तांखुवाको जोरपाटीमा गाउँपालिकाको केन्द्र राख्ने निर्णय गरेको सर्वदलीय समितिका संयोजक मेघेन्द्र गुरुङले बताए ।