ग्राहकको रोजाइमा ह्याचब्याक कार
काठमाडौं: आकर्षक डिजाइनमा उत्कृष्ट विशेषता, उपभोक्ता सुहाउँदो मूल्य र चलाउन पनि सजिलो भएकाले नेपालमा ह्याचब्याक कार लोकप्रिय बनेको छ । नेपाल भित्रिने प्यासेन्जर कारमा झन्डै ८५/९० प्रतिशत ह्याचब्याक कार हुने गरेको व्यवसायी बताउँछन् । सुरुमा कार चढ्ने नेपालीको रोजाइमा ह्याचब्याक पर्ने गरेको छ ।
सानो आकारको ह्याचब्याक कार विश्वभर लोकप्रिय छ । बढ्दो लोकप्रियतासँगै विश्वका अधिकांश कम्पनीले ह्याचब्याक कार उत्पादन गर्छन् । औषत आम्दानी भएका नेपालीमाझ ह्याचब्याक झनै लोकप्रिय छ । सरकारले चर्को भन्सार लगाउँदा नेपालमा कारको मूल्य महँगो पर्छ । सोही कारण पनि तुलनात्मक रूपमा कम मूल्य पर्ने ह्याचब्याक कार लोकप्रिय बनेको देखिन्छ । नेपालमा रोजीरोजी ह्याचब्याक कार खरिद गर्न सकिन्छ ।
नेपालमा ह्याचब्याक कारको मूल्य १५ लाख रुपैयाँबाट सुरु हुन्छ । महँगो मूल्य पर्ने ह्याचब्याक कार पनि नेपालमा पाइन्छन् । ह्याचब्याक कार सानो आकारको हुन्छ । ह्याचब्याक कार साँघुरो सडकमा पनि कुदाउन सकिन्छ । राजधानीजस्तो ट्राफिक जाम र पार्किङ अभाव भएको ठाउँमा चलाउन ह्याचब्याक कार सबैभन्दा उपयुक्त हुन्छ । ह्याचब्याक कारमा मध्यम खालको इन्जिन प्रयोग गरिने हुनाले किफायती पनि छ । आकर्षक डिजाइन र आधुनिक विशेषताले सुसज्जित ह्याचब्याक कारले धेरैको विश्वास जित्न सफल भएको छ ।
पछिल्लो समय सेडान कारको बिक्री घट्दै गइरहेको छ । सेडानका ग्राहक ह्याचब्याकमा सिफ्ट भइरहेको गो फोर्डका उपमहाप्रबन्धक सुनिल क्षेत्री बताउँछन् । ह्याचब्याक कार सेडानको तुलनामा सस्तो पनि हुन्छ । कम्प्याक्ट ह्याचब्याक र कम्प्याक्ट एसयूभी कारमा आकर्षण बढिरहेको पाइन्छ । यसमा कम्प्याक्ट ह्याचब्याक कार सर्वाधिक बिक्री हुन्छन् ।
नेपालमा हुन्डाई, सुजुकी, फोर्ड, भक्सवागन, टोयोटा, डाटसन, स्कोडा, टाटा, रेनोल्ट, फियाटलगायतका कम्पनीले ह्याचब्याक कार भिœयाएका छन् । यसमा पनि फोर्ड, सुजुकी, हुन्डाई सर्वाधिक लोकप्रिय छन् । रेनोल्टको ह्याचब्याक क्विड लोकप्रिय बनेको छ । बाइकबाट कारमा सिफ्ट हुन खोज्नेहरू इन्ट्री लेबलका कारमा आकर्षित हुन्छन् । ह्याचब्याक सजिलै चलाउन सकिने गरी उत्पादन गरिएको हुन्छ । महिला तथा पुरुष दुवैले ह्याचब्याक सजिलै कुदाउन सक्छन् । सानो भएकाले साँघुरा सडकमा सजिलै कुदाउन सकिने हुँदा ह्याचब्याक बढी बिक्री भएको क्षेत्रीको भनाइ छ । प्यासेन्जर कार सेगमेन्टमा सबैभन्दा धेरै बिक्री हुने ह्याचब्याक नै हो ।
ह्याचब्याक कार विश्वभर लोकप्रिय मानिन्छ । विश्वभरका गाडी उत्पादक कम्पनी ह्याचब्याक कारमा प्रतिपस्र्धा गरिरहेको पाइन्छ । कमभन्दा कम मूल्यमा उत्कृष्ट विशेषता भएको गाडी बजारमा आइरहेका छन् । यसले कम मूल्यकै ह्याचब्याक कारमा विलासी कारको सुविधा उपभोग गर्न पाइरहेका छन् । ह्याचब्याकको फिचरमा कम्पनीबीच प्रतिस्पर्धा देखिन्छ ।
ह्याचब्याक कारमा डिक्कीको स्पेस बढाउँदै लगिएको छ । पछाडीको सिट फोल्ड गरेर लगेज राख्न सकिन्छ । कम्पनीले खुट्टा राख्ने स्पेस पनि बढाइरहेका छन् । डिजाइन उत्कृष्ट बन्दै गइरहेको छ । पछिल्लो समय नेपाल भित्रिएको रेनोल्टको क्विड एसयूभी डिजाइनमा छ । यसको ग्राउन्ड क्लियरेन्स पनि धेरै छ । सेडान कारभन्दा ह्याचब्याकको ग्राउन्ड क्लियरेन्स बढी हुन्छ । नेपालका भत्किएका खाल्टाखुल्टी सडकमा ह्याचब्याक उत्तम देखिन्छ । यो सेगमेन्टका कारले धेरै माइलेज दिन्छन्, सर्भिसिङ पनि कम खर्चिलो हुन्छ । ह्याचब्याकमा ब्लुटुथ, लेदर सिट, लिड लाइट, मल्टी ड्राइभ मोड, इन्फोटेन्मेन्ट सिस्टम, एसी, अटो एडजस्टेड सिट, फ्युल इफिसेन्सी, उत्कृष्ट पर्फमेन्स, पावरफुललगायतका विलासी कारमा हुने सुविधा उपलब्ध हुन थालेका छन् ।
ह्याचब्याकमा मध्यम आयस्रोत भएका उपभोक्ता मात्र होइन, उच्च आयस्रोत भएका उपभोक्ता पनि आकर्षित देखिन्छन् । यसको कारण हो, बढ्दो ट्राफिक जाम, साँघुरा सडक, पार्किङ स्थलको अभाव । कतिपय ठूला एसयूभी कार चढ्नेले ह्याचब्याक पनि किनेर राख्ने गरेको पाइन्छ । राजधानीको सडकमा ह्याचब्याक भरपर्दो साधन बन्दै गएको छ । नेपालमा सार्वजनिक यातायातको सुविधा राम्रो छैन । यसले पनि निजी सवारी प्रयोगकर्ता बढाएको छ ।