पाकिस्तानमा १२ राष्ट्रको सहभागितामा महिला सांसद सम्मेलन सुरु
इस्लामाबाद: बाह्र राष्ट्रका महिला सांसदहरुको सहभागितामा 'प्रजातन्त्रको सशक्तिकरणमा महिलाहरुको भूमिका विषयक एक अन्तर्राष्ट्रिय सम्मेलन पाकिस्तानमा सुरु भएको छ।
पाकिस्तानले आतिथ्य गरेको यो सम्मेलन हिजो सोमबारबाट सुरु भएको हो। पकिस्तानका प्रधानमन्त्री नवाज सरिफकी पुत्री मारियम नवाजले हिजो आयोजित एक समारोहकाबीच उक्त तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको थियो। यो सम्मेलन १३ बाट १५ सम्म जारी रहने भएको छ।
उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री सरिफपुत्री मारियमले महिलाबिना कुनै पनि प्रजातान्त्रिक समाजको परिकल्पना गर्न नसकिने बताउनुभएको थियो।
उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा आतिथ्य राष्ट्र पाकिस्तानलगायत इरान, इराक, टर्की जोर्डन, अस्ट्रेलिया, रोमानिया, म्यानमार, श्रीलङ्का, माल्दिभ्स, इन्डोनेसिया र नेपालका उल्लेख्य महिला सांसदको सहभागिता रहेको छ। रासस/एपी