वेपत्ता टोली आठ दिनपछि सम्पर्कमा
काठमाडौँ : खानेपानी तथा सरसफाइ सम्बन्धी अनुगमनको लागि फागुन २४ गते शे फोक्सुण्डो ताल तर्फ गएको टोली मंगलबार दिउँसो सकुसल सम्पर्कमा आएको छ । अपरान्न दुई बजे टोलीमा सवार १२ जना नै सकुसल सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक समुति खड्काले बताए ।
फागुन २७ गते आउने गरी सो टोली फागुन २४ गते बिहान शे फोक्सुण्डोको लागि प्रस्थान गरेको थियो। टोलीमा सिनियर डिभिजन इन्जिनियर आबिद हुसेनसँगै खानेपानी कार्यालय डोल्पाका कार्यालय सहयोगि काशिराम उखेडा, नयाँ शक्ति नेपालका प्रतिनिधि चन्द्र गुरुङ, गैरसरकारी सँस्था सेप्ड्रा नेपालकी फिल्ड सुपरभाइजर जुनकुमारी हिराचन, त्यही संस्थाका अर्का कर्मचारी छेवाङ लामा, नेपाल जलबायु परिवर्तन सहयोग कार्यक्रमका क्षेत्रिय संयोजक अब्दुल सइम अन्सारी, जिल्लाका त्यो संस्थाका संयोजक सन्तोष खनाल,उनकी श्रीमती, लेखापाल तारा प्रसाद आचार्य र कार्यालय सहयोगी धनरुप कार्की र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका दुई जना गेम स्काउट रहेको थियो।
सञ्चारको साधन नहुनु र केही स्थानमा भएका साधन पनि भारी हिमपातले सञ्चारको व्याट्रीले काम नदिनु, हिउँले बाटो अवरुद्ध गरेपछि टोली आठ दिन देखि सम्पर्क बिहिन भएको डिएसपी खड्काले बताए ।