मधेसी मोर्चाले यात्रु बसमा बम प्रहार गरेपछि हवाई फायर
नेपालगन्ज : मधेसी मोर्चाका कार्यकर्ताले सडकमा गुडिरहेको यात्रु बसमा पेट्रोल बम प्रहार गरेपछि प्रहरीले हवाई फायर गरेको छ।
बर्दियाको राजापुरबाट तुलसीपुरका लागि छुटेको भे १ ख २०४२ नम्बरको यात्रु बसमा नेपालगन्ज गुलरिया सडकखण्डको उढरापुरमा पेट्रोल बम प्रहार गरी आगजनी गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो।
पेट्रोल बम प्रहारपछि बसमा रहेका यात्रुलाई ओरालेर मोर्चाका कार्यकर्ताले आगो लगाएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी नायब निरीक्षक भागिराम नेपालीले जानकारी दिए।
बसमा बम प्रहार भएपछि प्रहरीले केही राउण्ड हवाई फायर गरेको थियो। प्रहरीले फायर खोलेपछि प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप समेत भएको छ।
आगजनी भएको ठाउँ नेपालगन्जदेखि करिब १२ किलोमिटर पश्चिममा पर्छ। एमालेले नेपालगन्जमा आयोजना गर्न लागेको आमसभालाई लक्षित गरी आगजनी गरिएको भनिए पनि प्रहरीले त्यस्तो नभएको बताएको छ।
एमालेको आमसभालाई लक्षित गरि संयुक्त मधेसी मोर्चाले बाँके बन्द आह्वान गरेको छ। मोर्चाका कार्यकर्ता दक्षिणमा चौलिका चोक र पश्चिम गुनानामा सवारी आवागमन बन्द गराएका छन्। एमालेका कार्यकर्ता बोकेको गाडी प्रहरीले स्कटिङ गरेर कार्यक्रमस्थल पु¥याएको छ।