रामेश्वर खनालले नयाँ शक्ति छोडे
काठमाडौं : पूर्व अर्थसचिव एवम् नयाँ शक्ति, नेपालका आर्थिक विभाग प्रमुख रामेश्वर खनालले आफू कुनै पार्टीमा नभएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा निराजन शर्माले ‘नयाँ शक्ति छोड्नुहोस् कि नयाँ शक्तिको नेतृत्व परिवर्तन गर्नुहोस्’ भनेर दिएको सुझावको प्रतिक्रियामा खनालले आफू कुनै पार्टीमा नभएको बताएका हुन्।
ट्वीटरमा खनालले राजनीति आफ्नो क्षमताको विषय नभएको समेत प्रष्ट पारेका छन्। ‘म कुनै पार्टीमा छैन। राजनीति मेरो क्षमताको विषय रहेनछ। अब के भन्नु’, खनालले ट्वीट गरेका छन्।
@davils_advocate म कुनै पार्टीमा छैन। राजनीति मेरो क्षमताको विषय रहेनछ। अब के भनु।
— Rameshore Khanal (@rameshore) March 14, 2017
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति पार्टी स्थापना गरेसँगै पार्टीमा सक्रिय भएका खनालले मंगलबार पार्टी छोडेको सार्वजनिक गरेका हुन्। खनालले बाबुराम प्रधानमन्त्री हुँदा उनको आर्थिक सल्लाहकारका रुपमा समेत काम गरेका थिए।