न्याम्सलाई छाता विश्वविद्यालयको रुपमा रुपान्तरण गर्न सुझाव
काठमाडौँ: चिकित्सा शिक्षा अध्ययन सुझावसम्बन्धी गठित समितिले विशेषज्ञ चिकित्सकको अभाव पूर्ति गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई छाता विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न सरकारलाई सुझाव दिएको छ।
स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकको पदपूर्ति गर्न विज्ञापन गराउँदासमेत दर्खास्त दिन चिकित्सक नआएपछि दक्ष जनशक्तिको वैकल्पिक बाटो खोज्न स्वास्थ्य मन्त्रालयले गत मङ्सिर २ गते सुझाव समिति गठन गरेको थियो।
तीन महिना लगाएर समितिले त्यस्तो सुझावसहित समेटिएको प्रतिवेदन गत फागुन १३ गते स्वास्थ्यमन्त्री गगनकुमार थापालाई बुझाएको थियो।
सोही प्रतिवेदनबारे आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्रीसँगको छलफलमा समितिका संयोजक डा चोपलाल भुसालले छाता विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रुपमा वीर अस्पताल, अन्य केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल, अञ्चल अस्पताल र जिल्ला अस्पताल रहने गरी कानुनी व्यवस्था गर्न र स्नातकोत्तर तह अध्यापन गराउने विषयमा पनि छलफल भएको बताए।
उनले नेपालमा आवश्यकताअनुसारको विशेषज्ञ चिकित्सक नभएको र त्यसमा पनि एनेस्थेसियाको सङ्ख्या कम रहेको, फिजिसियन र सर्जनलाई चाहिने प्याथोलोजिस्ट, रेडियोलोजिस्टको सङ्ख्या आवश्यकताभन्दा निकै कम रहेकाले अभाव पूर्ति गर्न तत्कालका लागि ती अस्पतालबाट तालिम दिई अध्यापन सुरु गराउनु पर्ने बताए।
समितिले जनस्वास्थ्य, इमेजिङ, ल्याब टेक्नोलोजी र फिजियोथेरापीलगायतका विषयमा स्नातकोत्तर तहका विशेषज्ञ चिकित्सक आवश्यकताभन्दा निकै कम भएकाले सो व्यवस्था गर्न आवश्यक भएको सुझाव दिएको छ।
त्यसको सुरुआत आगामी शैक्षिकसत्रबाट अध्यापन सुरु गर्ने र आवश्यक पूर्वाधारका लागि पनि छिट्टै काम सुरु गर्ने निर्णय गरिएको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिए।
उनले भने, 'समितिले सेवानिवृत्त चिकित्सकलाई समावेश गराएर आवश्यक ठाउँमा आगामी शैक्षिकसत्रबाट पठनपाठन गराउन सकिने सुझाव दिएको छ, काम गर्दै गरेका चिकित्सकलाई अध्यापनका लागि लाँदा नेपाल मेडिकल काउन्सिलबाट समस्या हुने भएकाले काउन्सिलको ऐन, नियम र कानुन परिमार्जनका लागि छलफल भइरहेको छ ।”
हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहत २२ वटा अस्पताल छन्। आवश्यक परे जिल्लाका सक्षम अस्पताललाई पनि शिक्षण अस्पतालका रूपमा विकास र बिस्तार गरेर लान सकिने समितिले जनाएको छ।
आगामी शैक्षिकसत्रबाट विशेषज्ञ चिकित्सकको पठनपाठन सुरु गर्न उपयुक्त अस्पतालमा मेची अञ्चल अस्पताल झापा, कोसी अञ्चल अस्पताल विराटनगर, गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल राजविराज, उपक्षेत्रीय अस्पताल हेटौँडा, भरतपुर अस्पताल चितवन रहेको सुझावसमेत समितिको छ।