आतंकवाद प्रतिवाद सम्मेलनमा गृहमन्त्रीले सम्झिए इराकमा मारिएका नेपाली
नयाँदिल्ली : उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले मंगलबारदेखि दिल्लीमा सुरु भएको आतंकवाद प्रतिवाद सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा केही वर्षअघि इराकमा मारिएका नेपालीको सम्झना गरेका छन्।
आतंकवाद प्रतिवाद अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै निधिले भने, ‘इराकमा भएको नेपालीको हत्या तथा काबुलको बम विस्फोटमा परी गुमाएका नेपाली पनि आतंकवादी क्रियाकलापकै शिकार भएका हुन् ।’
सम्बोधनका क्रममा निधिले नेपालले आतंकवादी गतिविधिमा संलग्न कुनै पनि समूहलाई नेपाली भूमि प्रयोग हुन नदिने अन्तरारष्ट्रिय समुदायलाइ विश्वास समेत दिलाएका छन् ।
निधिले आतंकवादका लागि राष्ट्रिय, क्षेत्रीयका साथै विश्व समुदाय नै एकजुट हुनुपर्ने आवश्यकता औल्याए । कुनै पनि मुलुकको शान्ति सुरक्षा तथा विकासका लागि आतंकवाद खतरा रहेको भन्दै आतंकवादको प्रतिवाद गर्न एकजुट हुनका लागि विश्व समुदायलाई उनले आह्वान समेत गरेका छन् ।
तीन दिने सम्मेलनको उद्घाटन सत्रमा भारतीय उपराष्ट्रपति हामिद अन्सारी, रेलमन्त्री सुरेश प्रभु, हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले आतंकवादको चपेटमा रहेको भारतीय महासागर क्षेत्रको अवस्थाको बारेमा अन्तराष्ट्रिय समुदायको ध्यानाआकर्षण गराएका छन् । उद्घाटन सत्रलाई श्रीलंकाका प्रधामन्त्री रनिल विक्रेमिसिंघेले स्काइमार्फत् सम्बोधन गरेका छन् ।
अलकायदा तथा इस्लामिक संगठनको बढदो आतंककारी गतिविधिबाट अत्यधिक प्रभावित भारतीय महासागर क्षेत्र (इण्डियन ओशियन रिजन) मा फैलिएको आतंकवादको मुद्दामा केन्द्रित रहने सम्मेलनमा अमेरिका, बेलायत, जर्मनी, रुस विश्वका ३० बढी मुलुकका विज्ञको सहभागिता रहेको छ ।
आतंकवादका विषयमा विश्वका विज्ञहबीच बृहत छलफल गर्नका लागि आयोजना गरिएको सम्मेलनमा सम्बन्धित विषयमा विभिन्न कार्यपत्रमाथि छलफल भइरहेको छ।
सत्तारुढ भारतीय जनता पार्टी निकट थिंक ट्याकको संस्था इन्डिया फाउन्डेसनले आयोजना गरको सम्मेलनमा भारत सरकारको राष्ट्रिय सुरक्षा एजेन्सीको सहयोग रहेको छ ।