मापदण्ड मिच्दै जगदम्बा

मापदण्ड मिच्दै जगदम्बा

काठमाडौः मापदण्डविपरीत सहरको मध्यभागमा बन्दै गरेको जगदम्बा हस्पिटालिटीको होटेल हिल्टनबारे छानबिन गर्न काठमाडौं महानगरपालिका, सडक विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले बेग्लाबेग्लै चार टोली बनाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोग र व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले छानबिन थालेपछि महानगरपालिका र विभागलाई पनि होटल निर्माणका क्रममा भएको बदमासीबारे छानबिन गर्न दबाब बढेको हो ।महानगरपालिकाले ठूलो रकमको चलखेलमा हिल्टनको नक्सा पास गरेको आरोप लाग्दै आएको छ । महानगरपालिकाबाट यस क्रममा भएका अनियमितता छानबिन गर्न भवन निर्माण इजाजत विभागका इन्जिनियर वीरबहादुर खड्काको संयोजकत्वमा पाँच सदस्यीय क्षतिपूर्ति मूल्यांकन समिति गठन भएको छ । त्यस्तै, सडक विभागले मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख अयोध्याप्रसाद श्रेष्ठको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको छ।

समितिमा भवन निर्माण विकास विभाग, खानेपानी, नेपाल टेलिकम, विद्युत् प्राधिकरण र नगरपालिका सदस्य थिए । सडक विभागका प्रवक्ता तथा सूचना अधिकारी दयाकान्त झाले होटल निर्माणका क्रममा भएको बदमासीका कारण सडक संरचना भास्सिएको र अन्य क्षति विवरणबारे छानबिन गर्न टोली गठन गरिएको बताए ।उनले अन्नपूर्णसँग भने, ‘अयोध्याजी संयोजकत्वको टोलीले प्रतिवेदन बुझाइसकेको छ । हामीले सडक र पेटी निर्माणका लागि धरौटी बुझिसकेका छौं ।'

टोलीका संयोजक श्रेष्ठले होटेल बनाउँदा जगदम्बा हस्पिटालिटीले मुख्य सडकबाट ६ मिटर छाडेर निर्माण गर्नुपर्नेमा सडकसँगै टाँसेर नियामक निकायलाई बेवास्ता गरेको बताए ।उनले भने, ‘मापदण्डभित्रै नपर्ने होटल निर्माणका लागि कसरी महानगरपालिकाले नक्सा पास गर्‍यो ? सडक पेटी जगदम्बाले अझै किन बनाएन ? हामीले जगदम्बाको ६५ लाख रुपैयाँ धरौटीमै राखेका छौं । पेटी नबनेसम्म धरौटी फिर्ता गर्दैनौं ।' उनले होटलको डिजाइन गर्ने बेलामा माटो परीक्षण नगरी हचुवामा काम गरेर जगदम्बा हस्पिटालिटीले बदमासी गरेको आरोप लगाए ।

‘मापदण्डभित्रै नपर्ने जगदम्बा हस्पिटालिटीको निर्माणका लागि कसरी महानगरपालिकाले नक्सा पास गर्‍यो ? '
अयोध्याप्रसाद श्रेष्ठ, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय प्रमुख

काठमाडौं महानगरपालिकाले जगदम्बा हस्पिटालिटीद्वारा नक्सालमा बन्दै गरेको होटेल हिल्टनको नक्सा पास गर्नुअगाडि फिल्डमा गएर हेर्ने, स्थानीयको रोहबरमा स्वीकृति लिने र होटेल स्थापना गर्दा हुनसक्ने क्षतिको आकलनसमेत नगरी हचुवामै गत जेठ १७ मा नक्सा पास गरेको थियो । अख्तियारले पनि होटेलको नक्सापासलगायत फाइल तानेर अनुसन्धान थालेको छ । महानगरपालिकाका केही कर्मचारी हिल्टनको नक्सा पासमा करोडौं रकमको चलखेल भएको दाबी गर्छन् । यही काण्डमा कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई मन्त्रालय तानिएको स्रोत बताउँछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको विरोध रहँदारहँदै पनि जगदम्बाले आफूखुसी कार्यान्वयन पक्षलाई रिझाएर होटल निर्माणको काम थालेको हो । महानगरपालिकाले काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयले दिएको योजना स्वीकृतिका आधारमा आफूले ‘प्लिन्थ लेभल' सम्मको निर्माण कार्य गर्न इजाजत दिएको दाबी गरेको छ । अख्तियार प्रवक्ता जीवराज कोइरालाले हिल्टन प्रकरणमा प्राविधिक संलग्न अध्ययन टोली गठन गरिएको बताए । ‘विज्ञ समूहले प्रतिवेदन तयार गर्दैछ । त्यसपछि छानबिन गरी अगाडि बढ्ने वा नबढ्ने विषयमा टुंगो लाग्छ', उनले भने ।

अख्तियारको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी रिपोर्ट तयार गर्नेछ । अनुगमन प्रतिवेदन अन्तिम चरणमा पुगेको अख्तियार स्रोतले बताएको छ । जगदम्बालाई होटेल निर्माणका क्रममा सडक पेटी खन्न सरकार आफैंले स्वीकृति दिएको थियो । सडक पेटी खन्न स्वीकृति लिँदै मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयको डिभिजन सडक कार्यालयलाई उसले दुई लाख ७८ हजार नौ सय ५ रुपैयाँ धरौटी बुझाएको थियो । जेठ मसान्तभित्रै सडक पेटी निर्माण गरिसक्ने बताए पनि हिल्टनले पुनः म्याद थप गरी साउन २५ सम्मको समय डिभिजन कार्यालयसँग मागेको छ ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.