'संशोधन नभए मधेसमा चुनाव हुँदैन'
काठमाडौः मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका नेताहरूले संविधान संशोधन पास नभए मधेसमा स्थानीय चुनाव हुन नसक्ने बताएका छन् । चुनावी रणनीति तय गर्ने विषयमा छलफल गर्न मंगलबार बिहान कांग्रेसले बोलाएको वर्तमान तथा पूर्वपदाधिकारी र मधेसका केन्द्रीय सदस्यहरूको बैठकमा संशोधन पास नभए मधेसमा चुनाव गर्न सम्भव नहुने धारणा आएको हो ।
‘सरकारले पेस गरेको संशोधन प्रस्ताव पास नभए मधेसमा स्थानीय चुनाव हुन सक्दैन', मधेसी केन्द्रीय सदस्यले बैठकमा राखेको धारणा उद्धृत गर्दै केन्द्रीय सदस्य रामकृष्ण यादवले अन्नपूर्णसँग भने, ‘त्यसैले जसरी भए पनि संशोधन पास गराएर स्थानीय चुनावमा जानुपर्छ ।'
कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, यादव, महेन्द्र यादव, फरमुल्ला मन्सुरलगायत केन्द्रीय सदस्यले संशोधन प्रस्ताव पास नहुने हो भने मधेसमा चुनाव गर्न नसकिने धारणा एकै स्वरमा राखेका थिए । ‘संशोधन पास हुन सकेन भने मधेसमा चुनाव हुनै सक्दैन', यादवले भने, ‘त्यो अवस्थामा मधेसबाहेक मात्रै चुनाव गर्नुपर्ने अवस्था आउन सक्छ ।'
मधेसी नेताले एकै स्वरमा संशोधन पारित नगराई चुनाव सम्भव नहुने धारणा राखेपछि सभापति शेरबहादुर देउवाले कांग्रेस संशोधन पास गराएरै चुनाव गराउने पक्षमा रहेको धारणा राखेका थिए । उनले संशोधन प्रस्ताव पारित गराउन सुरुदेखि प्रस्तावका विपक्षमा रहेका दलसँग छलफल भइरहेको जानकारी पनि गराएका थिए । ‘संशोधन र चुनाव दुवै सँगसँगै अघि बढाउने हो', देउवाले बैठकमा भने, ‘संशोधनका पक्षमा दुईतिहाइ बहुमत पुर्याएर पास गराउने अडानमा कांग्रेस छ ।'
बैठकमा सरकारले संशोधन प्रस्ताव स्थगित गराउने तयारी गरेको बारेमा पनि पार्टीको धारणा माग गरेका थिए । ‘संशोधन प्रस्ताव स्थगन गरियो भने त्यसले पार्टीलाई घाटा पुग्छ भन्ने धारणा धेरैको थियो', यादवले भने ।
बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर संशोधन पास गराउने र स्थानीय चुनावमा जानुपर्ने निष्कर्ष निकालेको छ । ‘संशोधन प्रस्ताव पास गराएर चुनावमा अघि बढ्ने निष्कर्ष बैठकले निकालेको छ', अर्का केन्द्रीय सदस्य महेन्द्र यादवले भने, ‘त्यसका लागि पार्टीले विभिन्न दलसँग वार्ता गर्ने सहमति भएको छ ।'
बैठकमा नेता रामचन्द्र पौडेलले संशोधन प्रस्ताव र चुनाव एकआपसमा पूरक भएको भन्दै दुवैलाई सँगै अघि बढाउनुपर्ने धारणा राखेका थिए । ‘संशोधन र चुनाव दुवै आवश्यक छन्', पौडेलले बैठकमा भने, ‘दुवैलाई प्राथमिकता दिएर अघि बढाउनुपर्छ ।' बैठकमा नेता प्रकाशमान सिंहले संशोधन प्रस्ताव फेल भएको अवस्थामा चुनावमा जाँदा पार्टीलाई कस्तो असर पुग्छ भन्ने विषयमा पनि छलफल गरेर रणनीति बनाउनुपर्ने धारणा राखेका थिए । उनले पाँच नम्बर प्रदेशका विषयमा पार्टीभित्रै दुई विचार देखिएकाले त्यसमा पनि स्पष्ट हुनुपर्ने धारणा राखेका थिए ।
बैठकमा केन्द्रीय सदस्य रामकृष्ण यादवले तराई मधेसमा संविधान जारी गर्ने बेलामा पनि असहमति देखिएकाले संशोधन गरेर विगतको प्रतिबद्धता पूरा गर्नुपर्ने धारणा राखेका थिए । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सभापति देउवा, नेता पौडेल, पूर्वमहामन्त्री सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, रमेश लेखक, रामशरण महत, मीनेन्द्र रिजाललगायत सहभागी थिए ।
कांग्रेस बैठक चैत १० मा
कांग्रेसले स्थानीय तहको निर्वाचन रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल गर्न चैत १० मा केन्द्रीय समिति बैठक डाकेको छ । स्थानीय तहको नयाँ संरचना लागू भइसकेको, सोहीअनुसार पार्टीको संरचना हेरफेर गर्नुपर्ने र चुनावी रणनीति पनि बनाउने गरी बैठक डाकिएको हो । कांग्रेसको देशभरको स्थानीय पार्टी संरचना पुरानै स्थानीय निकायअनुसार छ । नयाँ संरचनासँगै संगठनको संरचनामा केही हेरफेर गर्नुपर्ने दबाब पार्टीभित्र परेको छ।
सभापति देउवाले चैत ५ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने प्रस्ताव गरे पनि पौडेलले आफू पूर्व जाने कार्यक्रम रहेको भनेपछि १० गतेलाई तोकिएको हो । बैठकमा संविधान संशोधन, स्थानीय तहको चुनावलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।