बस ‘कुरेर' घरसम्म खानेपानी

बस ‘कुरेर' घरसम्म खानेपानी

प्यूठानः खानेपानीको मुहान टाढा भएपछि ढुंगेगढी-३ बडडाँडा प्यूठानका स्थानीयले सार्वजनिक बसमा यात्रा गरेर घरसम्म खानेपानी पुर्‍याउने गरेका छन् । करिब डेढ किलोमिटर टाढा रहेको पाँकुरीखोला मुहानबाट स्थानीयले बस कुरेर पानीको जोहो गर्ने गरेका हुन् । बडडाँडा-विजुवार सडक खण्ड अन्तर्गत सडक छेउँमै पानीको मुहान रहेको स्थानीय लुमे धामीले बताए । ‘मोटरसाइकल हुनेले आफैँ लैजान्छन्',२३ वर्षिय धामीले भने,‘धेरैले बस कुरेर घरमा पानी लैजान्छौँ । कोहीकोही बसले त भाडा पनि लिन्छन् ।' गाउँका झण्डै ३० घरधुरीले यसैगरी खानेपानी घरसम्म पुर्‍याउने गरेको उनले जानकारी गराए।

बुढिचौर-धनकोट जोड्ने सडकले गाउँसम्म आउने डिङडिङखोला खानेपानी आयोजनाको पाइपमा क्षति पुर्‍याएपछि हप्तौदिनदेखि गाउँलेले खानेपानीको समस्या झेल्दै आइरहेको ढुंगेगढी-३ बडडाँडाका स्थानीय बोम बहादुर रेश्मीमगरले जानकारी गराए । ‘दिनमा ५/६ खेप बाइकमा पानी बोक्छु',खानेपानी मुलमै भेटिएका उनले भने,‘विहानभरीको समय पानी बोक्दैमा वित्छ ।'

मोटरवाटो निर्माण गर्दा खानेपानी लाइनलाई क्षति नपुर्‍याई गर्नुपर्नेमा उनले सुझाव दिए । सरुमारानी गाउँपालिकाको केन्द्र रहेको बडडाँडाका स्थानीयले वर्षेनी खानेपानीको समस्या झेल्दै आउने गरेका छन् । सुख्खायाममा धेरै समस्या हुने गरेको बताउँदै रेश्मीमगरले यसपाली बाटोकै कारण समस्या भोग्नुपरेको गुनासो पोखे ।

‘पैदल हिँडेर विहानभरी एक गाँग्रो पनि पानी लैजान सकिन्न',स्थानीय १६ वर्षिय माया घर्तिले भनिन्,‘केही बसहरुले त रोक्न मान्दैनन् ।' सदरमुकाम खलंगा, विजुवार, बाग्दुला, मच्छि, बाहाने, बरौला, भिंगृ र छिमेकी जिल्ला रोल्पाबाट यसैसडक भएर जिल्ला बाहिर यातायातका साधन ओहोरदोहोर गर्ने गर्छन । ‘एकपटक एउटा बसले ८/१० वटा गाग्री पानी लैजान्छन्',उनले भनिन्,‘बस नआउँदा ट्याक्टरमा पनि लैजान्छौँ ।'

विद्यालय जाने धेरै विद्यार्थीहरु विहान बेलुका घरसम्म खानेपानी लैजानका लागि बस कुरेरै वित्ने गरेको उनले गुनासो गरिन् । ‘गाउँमा खानेपानी नआएपछि विहान र बेलुकाको समय खानेपानी बोक्दैमा वित्छ',सोही ठाउँकी सुस्मीता गुरुङ भन्छिन्,‘पानीको समस्याले गर्दा पढ्नै पाइएको छैन् ।' घरमा एक्लै भएका र बृद्धवृद्धाहरुलाई धेरै समस्या हुने गरेको उनको भनाई छ ।

विकास निर्माण गर्दा खानेपानी आयोजनामा क्षति पुर्‍याएमा सम्वन्धित पक्षले नै मर्मत गरिदिनुपर्ने जिल्ला पूर्वाधार सम्वन्य समिति प्यूठानले नीतिगत रुपमै निर्णय गरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानले जनाएको छ । ‘विनास नगर्ने गरी विकास गर्नुपर्छ',कार्यालयका डिभिजन प्रमुख ग्रिष्म थापाले भने,‘यस क्षेत्रमा चालु आवमा खानेपानी आयोजना निर्माण गर्ने योजना कार्यालयले बनाएको छ ।'

वर्षौदेखिका पुराना संरचना जिर्ण भएको र खानेपानीको ‘हाहाकार' धेरै हुने भएकाले ढुंगेगढी बडडाँडा क्षेत्रमा नयाँ आयोजना निर्माणका लागि छिट्टै सर्वे गर्ने तयारी भइरहेको समेत उनले जानकारी गराए । जिल्ला पूर्वाधार सम्वन्य समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठकबसी क्षति पुर्‍याएमा सम्वन्धित पक्षले नै मर्मत गर्नुपर्ने निर्णय गरिएको थापाको भनाई छ । सांसद् धन बहादुर रायमाझीको सांसद् क्षेत्र विकास कार्यक्रम अन्तर्गत उक्त सडक निर्माणको क्रममा खानेपानी आयोजनामा क्षति पुगेको स्थानीयले जनाएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.