गाउँपालिकाको बोर्ड खोसाखोस
नेपालगन्जः मंगलबार बाँकेको साविक कचनापुर गाविसमा एउटा कार्यक्रम भइरहेको थियो । सरकारले गाविसहरु खारेज गरिदिएपछि गाविस कार्यालयमा ‘राप्ती सोनारी' गाउँपालिकाको बोर्ड झुन्ड्याइयो । कार्यालयभित्र गाउँपालिकाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तयारी भइरहेको थियो ।
एकाएक एक हूल मानिसहरु गाविस परिसर छिरे । बोर्ड झिके अनि फेरि नारा लगाउँदै बोर्ड लगेर हिँडे । कार्यक्रमको तयारी त्यत्तिमै रोकियो । मानिसहरु हेरेको हेर्यै भए । गाउँपालिकाको केन्द्र पायक नभएको भन्दै राप्तीवारी राजमार्ग छेउका वासिन्दा आएर गाउँपालिकाको बोर्ड आफ्नै ठाउँमा लगेर गए ।
बाँकेको फत्तेपुर, बिनौना, बैजापुर, खासकुस्मा, कचनापुर र महादेवपुरी गाविस मिलाएर ‘राप्ती सोनारी गाउँपालिका' बनाइएको थियो । जिल्ला प्राविधिक समितिले कचनापुरकै अगैयालाई गाउँपालिकाको केन्द्र तोकिदिएको थियो । तर, सरकारको घोषणालगत्तै राजपत्रमा भने ‘कचनापुर'मै केन्द्र उल्लेख गरियो।
अगैयाका स्थानीयलाई त्यो कुरा मन परिरहेको थिएन । सोमबार कचनापुर गाविस कार्यालयमा टाँगिएको गाउँपालिकाको बोर्ड मंगलबार सारा गाउँले आएर उठाएर लगे । र, उक्त बोर्ड अहिले अगैयामा रहेको सिक्टा सिचाइ आयोजनाको एउटा भवनमा टाँगिएको छ । कचनापुर गाविस भवन वरिपरिका स्थानीय दिउँसो फेरि अगैयामै पुगे । त्यहाँ छलफल भयो ।
अगैया पनि कचनापुर गाविसमै पर्छ, यो राजमार्ग छेउमै छ । बीचमा बगेको राप्तीपारि कचनापुर गाविस कार्यालय छ । सबै गाविसहरुको पायक पर्ने र स्थानीयलाई आउनजान पनि सजिलो हुने भएका कारण धेरै वासिन्दा अगैयामै गाउँपालिकाको केन्द्र बनाउन लागिपरेका छन् । तर, कचनापुर वरिपरिका वासिन्दा भने राजपत्रमै प्रकाशित भइसकेका कारण अन्यत्र सार्न नदिने पक्षमा छन् ।
गाउँपालिकाको बोर्ड खोसाखोस हुने क्रममा मंगलबार कुनै अप्रिय घटना भने भए । गाउँपालिकाका कार्यकारी अधिकृत डिलाराम रानाको समन्वयमा दुवै पक्षबीच छलफल पनि भयो । ‘यो राजपत्रमै अंकित भइसकेको छ, साविककै गाविस भवनमा केन्द्र राख्ने भन्ने लेखिएको छ' रानाले भने ‘अब त्यसरी विरोध गर्दैमा के होला र ? त्यो फेर्न सकिँदैन ।'
बाँकेमा एउटा उप महानगरपालिका, एउटा नगरपालिका र ६ वटा गाउँपालिका कायम गरिएको छ । अन्य सबै गाउँपालिकाका केन्द्र साविककै गाविस कार्यालयलाई तोकिएपनि जिल्ला प्राविधिक समितिले भने राप्ती सोनारीको केन्द्र अगैयालाई तोकेको थियो । तर, राजपत्रमा भने कचनापुरमै केन्द्र तोकिएपछि विवाद आएको हो । स्थानीयबीच फेरि अगैयालाई नै केन्द्र बनाउन ज्ञापनपत्र बुझाउने सहमति भएको छ ।