नयाँ संरचनामा केही खुशी, केही अन्याैल
गोरखाः गोरखाका ११ स्थानीय तहमा निमित्त कार्यकारी प्रमुख तोकिएको छ । केन्द्रबाट परिपत्र प्राप्त भएपछि दुई नगरपालिका र नौवटा गाउँपालिकाको निमित्त कार्यकारी प्रमुख तोकेको जिल्ला समन्वय समितिका प्रशासकीय अधिकृत नारायण आचार्यले जानकारी दिए ।
उनका अनुसार गोरखा र पालुङ्टार नगरपालिकामा साविक कै कार्यकारी अधिकृत कायम छन् । अन्यमा गाभिएका गाविसका सचिवहरुमध्यबाट ‘बरिष्ठत्तम' सचिवलाई निमित्त प्रमुख तोकिएको हो । जसअनुसार चुमनुब्री गाउँपालिकामा वेदप्रकाश ढकाल, धार्चे गाउँपालिकामा लाल प्रसाद भट्टराई, सुलिकोट गाउँ पालिकामा चेतप्रसाद अंगाई, आरुघाट गाउँपालिकाका टेकबहादुर घर्ती, भिमसेन गाउँपालिकामा शेखरनाथ न्यौपाने, सहिद लखन गाउँपालिकामा नारायणप्रसाद सापकोटालाई निमित्त कार्यकारी प्रमुख तोकिएको छ । यस्तै गण्डकी गाउँपालिकामा नव राज खनाल, अजिरकोटमा गणेश भक्त त्रिपाठी, सिरानचोक गाउँ पालिकामा ऋषिराम पौडेललाई निमित्त कार्यकारी अधिकृत तोकिएको आचार्यले जानकारी दिए ।
जिल्ला विकास समिति पनि परिवर्तन भई जिल्ला समन्वय समिति बनेको र आइतबारदेखि नै अस्थायी साइनबोर्ड राखेर काम गर्न थालेको उनले बताए । उनीहरुले सोमबारदेखि नै सम्बन्धित गाउँपालिकाको केन्द्रमा बसेर काम गर्न पत्र थमाइएको उनले बताए । ‘सबै निमित्त कार्यकारी प्रमुखलाई जिम्मेवारी तोकिएको पत्र दिइएको छ' आचार्यले भने ‘अब उहाँहरु गाउँपालिका र नगरपालिकाको कार्यालय स्थापनाको तयारीमा हुनुहुन्छ । कतिपयले लेटरप्याड, छाप, बनाइसक्नु भएको छ । कतिपयले बनाउँदै हुनुहुन्छ ।'
कार्यान्वयनमा चुनौती
गाउँपालिकाको निमित्त प्रमुख तोकिएपनि वडा प्रमुखको कार्यविभाजन गर्न भने समस्या रहेको समन्वय समितिका संयोजक नारायण आचार्यको भनाई छ । ११ वटा स्थानीय तहमा ९४ वडा रहने भएका छन् । त्यसमध्ये पालुङटारमा १० र गोरखा नगरपालीकामा १४ वटा वडा रहनेछन् । अन्य ९ गाउँपालिकामा नौ जना र ७० वटा वडामा वडा प्रमुख खटाउन जनशक्ति अभाव भएको आचार्यले बताए । अहिले जिल्लामा ३४ जना सचिवहरु मात्र कार्यरत छन् ।
आबश्यक कागजात बनाउन नसक्दा समस्या भएको गाउँपालिका प्रमुखहरु गुनासो गर्छन् । ‘एक्कासी संरचना परिवर्तन हुँदा नागरिकता, प्रतिलिपिको अनुसूचिको फाराम बनाउन भ्याइएको छैन' अजिरकोट गाउँपालिकाका प्रमुख गणेशभक्त त्रिपाठी भन्छन् ‘ब्यक्तिगत घटना दर्ताका कागजातहरु बनाउन पाइएको छैन ।'
काम गर्न कार्यालयको अभाव भएको आरुघाट गाउँपालिका वडा नं. ४ का प्रमुख हरिश ओखेडाको भनाइ छ । ‘कार्यालय छैन । झोलाबाट चलाउन सकिदैन' उनले भने ‘जनशक्तिको पनि खाँचो छ । यसअघि राखिएका प्राबिधिक सहायक, सामाजिक परिचालकहरुको अबस्था के हुने थाहा छैन ।' गाउँपालिकाको प्रमुख र वडाको प्रमुखको पनि काम गर्नुपर्दा अन्यौल हुने उनको भनाइ छ । ‘कुन सिफारिस गाउँपालिकाबाट दिने, कुन वडा कार्यालयबाट दिने भन्ने पनि स्पष्ट हुन सकेको छैन' उनले भने ।