रोजगारी दिँदै सामुदायिक वन
दमकः मोरङको मधुमल्लामा रहेको मावा नुनसरी सामुदायिक वन रोजगार दिने वनका रूपमा परिचित हँदै गएको छ । वनले स्थानीयलाई लक्षित गरी विभिन्न रोजगारमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
विशेष गरेर सामुदायिक वनले स्थानीय उपभोक्तालाई विभिन्न किसिमका अवसर सिर्जना गरी स्वरोजगार बनाउन सहयोग पुर्याउँदै आइरहेको सामुदायिक वनका अध्यक्ष राजेन्द्र घिमिरेले बताए । अहिले यो सामुदायिक वनले रेशमखेती, कुरिलोखेती, माछापालन , उन्नतजातका बाख्रा वितरण र नेपाली पोसाक निर्माणसम्बन्धी उपलब्धिमूलक तालिम सञ्चालन गरिरहेको छ । विशेषगरी यस्ता कार्यक्रमले विपन्न समुदायका किसानलाई लक्षित गरेको अध्यक्ष घिमिरेले बताए ।
सामुदायिक वनले स्थानीय कृषकको सहयोगमा साढे ६ हेक्टर क्षेत्रफलमा किम्बुको बोट लगाएर २०६३ सालदेखि निरन्तर रेशमखेती गर्दै आएको छ । क र ख ब्लग छुट्याएर प्रत्येक ब्लगमा १०/१० जना विपन्न वर्ग तथा समुदायका कृषकले रेशमखेती गर्दै आएका छन् । २८ दिन जति खट्दा प्रतिव्यक्ति १५ देखि २० हजारसम्म कमाइ हुने गरेको स्थानीय कृषक कर्णकुमार राईले बताए । ‘सुरु सुरुमा त एक जना बराबर ३० हजारमाथि नै कमाइ हुन्थ्यो अचेल रेशम कीराको बिउ राम्रो नआउने गरेकाले आम्दानी अलि घटेको हो ।
तर, पनि एक महिना एक छिन एक छिन खट्दा पनि १५ हजारमाथि नै कमाइ हुन्छ', राईले भने । यहाँ साना रेशम कीराका लागि सीआरसी भवन र ठूलो कीराका लागि खरले छाएको बेग्लै घरसमेत निर्माण गरिएका छन् । रेशम कीराको कोकुन इटहरी रेशम प्रशोधन केन्द्रमा लगेर बिक्री गर्ने गरिएको छ । एउटा तयारी अवस्थाको कोकुनबाट १० हजार मिटर धागो उत्पादन हुने सामुदायिक वनका कार्यालय सचिव जगत बस्नेतले बताए । त्यहाँका कृषकले आवश्यक प्रयोग सकिएका किम्बुको बोटलाई दाउराका रूपमा प्रयोग गर्ने गरेका छन् ।
यस्तै सामुदायिक वनले एक बिघा क्षेत्रफलमा सातजना दलित कृषकको समूह बनाएर कुरिलोखेतीसमेत गर्दै आएको छ । कुरिलोखेतीबाट पनि मनग्गे आम्दानी हुने गरेको उनीहरूको भनाइ छ । एउटा बोटमा २० केजीसम्म गानो लाग्ने र त्यसको बजार मूल्य प्रतिकेजी चार सय ५० रुपैयाँ केजी छ । कुरिलोको गानो औषधिका रूपमा प्रयोग हुने गरेकोले यसको बजारमा माग बढ्दो रहेको स्थानीय विजय तामाङले बताए । यस्तै स्थानीयको जीवनस्तर उकास्न सामुदायिक वनले नश्ल सुधार गरिएको उन्नतजातको बाख्रासमेत स्थानीय कृषकलाई वितरण गर्दै आएको छ ।
वन समितिले माछा पालनका लागि स्थानीयलाई पोखरीसमेत निर्माण गरिदिएको छ । अहिले त्यहा स्थानीय मिलेर माछापालनसमेत गरिरहेका छन् । उत्कृष्ट सामुदायिक वन ठहरिँदै राष्ट्रिय गणेशमान सिंह पुरस्कार २०७१/०७२ बाट सम्मानित यस सामुदायिक वनले नेपाली पोसाक निर्माणसम्बन्धी विभिन्न प्रकारका तालिम प्रदान गर्दै आएको छ । यसका कारण यस क्षेत्रका महिला आत्मनिर्भर बन्दै गएका छन् । पहिला तालिम लिएकी मधुमल्ला २ कि कविता राई अहिले तालिम दिन सक्ने भएकी छन् ।