तराइमै नेपाली हाते कागज उत्पादन
इटहरीः पहाडी क्षेत्रमा मात्र उत्पादन हुँदै आएको नेपाली कागज तराइमा पनि बन्ने थालेको छ । मोरङको सुन्दर हरैचास्थित एक कागज उद्योगले नेपाली कागज उत्पादन गर्ने गरेको हो । बेत्रावती हाते कागज उद्योगले चार वर्षदेखि मोरङमा उद्योग स्थापना गरेको हो ।
अहिले दैनिक नौ सय प्रति कागज उत्पादन गरिरहेको उद्योगले आठ जनाभन्दा बढीलाई रोजगारी दिएको छ । कागज उत्पादनका लागि लोक्ता र बाबियो प्रयोग गरिन्छ । किलोको सवा सय रुपैयाँको हाराहारीपर्ने लोक्ता पहाडबाट ल्याइन्छ । लोक्तालाई पानीमा उसिनिन्छ, घोल बनाइन्छ र जालीमा राखेर कागजको प्रारम्भिक आकारमा तयार गरिन्छ ।
लोक्ताबाट कागज तयार पार्दासम्म पाँच दिन लाग्ने गरेको उद्योगका सञ्चालक बालकृष्ण धितालले जानकारी दिए । धितालका अनुसार नेपाली हाते कागजको माग राम्रो रहेको र उत्पादित कागज सजिलै बिक्री हुने गरेको छ । तर, मध्यस्थ व्यापारीले बढी नाफा खाने हुँदा उद्यमीलाई चाहिँ खासै फाइदा नहुने उनले बताए ।
कच्चा पदार्थ वर्षको एक पटक ल्याएर भण्डार गर्नुपर्ने हुँदा त्यसले उद्यमीलाई अतिरिक्त आर्थिक भारसमेत थप्ने गरेको छ । साथै स्थानीय बजारमा कागजको खासै खपत नहुने गरेको पनि उनको गुनासो छ । त्यसैले थोरै परिमाणमा कागज स्थानीय बजारमा बिक्री भए पनि धेरैजसो काठमाडौं निर्यात हुने गरेको छ । सरकारी अड्डामा तमासुक, लालपुर्जा तथा कार्यालय प्रयोजनका सम्झौतापत्र नेपाली हाते कागजमा तयार पारिन्छन् ।