मधेसी मोर्चा आजदेखि प्रतिपक्षमा
काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा व्यवस्थापिका संसदमा अवदेखि प्रतिपक्ष बेन्चमा बस्ने भएको छ। मोर्चामा आवद्ध तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले बुधबार संसदमा बोल्दै आफूहरुले प्रतिपक्ष बेन्चमा बस्ने निर्णय गरेको जानकारी गराएका हुन्।
'हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौ, अब हामी प्रतिपक्ष बेन्चमा बस्ने निर्णय गरेका छौ। यसको जानकारी हामी सभामुखलाई पनि गराउँदैछौँ,' यादवले भने।
काग्रेस सासद रामकृष्ण यादवले संविधान संशोधन प्रस्तावका कारण बैशाख ३१ गतेका लागि घोषित स्थानीय निर्वाचनमा बाधा पर्ने देखिएको बताए। उनले भने 'संविधान संशोधन पारित गरेर निर्वाचनमा जानु पर्ने देखिन्छ।'
एमाले साँसद रेवतीरमण भण्डारीले पेट्रोलियम पदार्थ र ग्यासको कृतिम अभाव सिर्जना गराई सरकारले आर्थिक चलखेल गरेको आरोप लगाए। आपुर्तिमा समस्या नभएको वेला अभाव देखिनु रहस्यमय रहेको भन्दै भण्डारीले यसबारेमा संसदलाई सरकारले जानकारी गराउन माग गरे।