पाल्पामा एचआइभी संक्रमितको संख्या २ सय ९५
रामपुर (पाल्पा): पाल्पामा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय ९५ छन् । तीमध्ये एक सय ५७ पुरुष र एक सय ३८ महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीकाअनुसार, सङ्क्रमितमध्ये १८ वर्ष मुनिका ३८ जना छन्। सङ्क्रमितमध्ये ९१ पुरुष र ८० महिला गरी कुल एक सय ७१ जनाले निःशुल्क औषधि सेवन गरिरहेका छन्। औषधि सेवन गर्नेमा १८ वर्षमुनिका २७ बालबालिका छन् ।
उनीहरुले जिल्लाको एकमात्र मिसन अस्पताल पाल्पाबाट निःशुल्क रुपमा औषधि सेवन गरिरहेको सूचना अधिकारी ज्ञवालीले बताए।
गत आर्थिक वर्षमा जिल्लामा दुई सय ६५ जना एचआइभी सङ्क्रमित रहेको थिए । गत वर्षको तुल्नामा चालु आर्थिक वर्षमा २७ जना सङ्क्रमित थपिएका छन्।
सङ्क्रमितमध्ये ४१ जनाले समाजमा खुलेर बसिरहेका छन् भने धेरै बिरामी घरपरिवार, आफन्त र समाजका डरले रोग लुकाएर बस्न बाध्य भएको सूचना अधिकारी ज्ञवालीले बताए।
जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले एचआइभी न्यूनीकरण र उनीहरुलाई समाजमा आत्मसम्मानपूर्वक बँच्नका लागि विभिन्न तालिम, गोष्ठी, जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ। रासस