एक वर्षको नाफा ६ महिनामै
काठमाडौः वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विगत एक वर्षको भन्दा बढी नाफा कमाएका छन् । आर्थिक वर्ष २०७०/७१ मा १९ अर्ब १६ करोड ९५ लाख नाफा कमाएका वाणिज्य बैंकहरूले चालू आवको पहिलो ६ महिनामा २० अर्ब ८४ करोड ५५ लाख नाफा कमाएका छन् । यस वर्ष ‘क' वर्गका बैंकले कमाएको नाफा गएको वर्षको सोही अवधिको भन्दा ४१ प्रतिशतले बढी हो । गएको वर्ष पहिलो ६ महिनामा वाणिज्य बैंकहरूले १४ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ नाफा कमाएका थिए ।
भूकम्प र नकाबन्दीका कारण अधिक तरलता खेपीरहेका बैंकहरूले त्यसपछिका दिनमा लगानी बढाउँदा नाफा बढ्न थालेको हो । वित्तीय क्षेत्र विभिन्न व्यवसायमध्ये पारदर्शी र नियामक निकायको निर्देशनमा रहेर कार्य सम्पादन गर्ने क्षेत्र भएकाले पनि यसको प्रभाव राम्रो देखिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाह बताउँछन् । वित्तीय क्षेत्रको नाफा बढ्नुको श्रेय राम्रो र क्षमतावान जनशक्तिमा जाने अध्यक्ष शाहले बताए । ‘बर्सेनि नाफा बढ्दै जानु यस क्षेत्रका लागि सकरात्मक र आम जनताको विश्वास जित्दै जानु हो', उनले भने ।
‘बैंकले मात्र नाफा बढाएर नहुने बैंकसँगसँगै अन्य सबै क्षेत्रले नाफा बढाएमा मात्र नेपालले दिगो आर्थिक वृद्धिदर हासिल गर्न सक्ने शाहले बताए । ‘नेपाल विकासशील देश बन्न पनि बैंक तथा वित्तीय क्षेत्रले मात्र नाफा बढाएर हुँदैन', उनले भने । लगानी भएका हरेक क्षेत्रबाट राम्रो प्रतिफल आउनुपर्ने उनको भनाइ छ ।
उनका अनुसार पछिल्लो समय लगानीका क्षेत्र विस्तार हुँदै जानुले पनि नाफा बढ्न सहयोग पुगेको हो । कृषि, ऊर्जा, उत्पादनमूलक, हायर पर्चेज, घरजग्गा, अटोलगायतका कर्जा बढ्दै गएको छ । छोटो समयमा पुँजी परिचालन भइरहेकोे छ । त्यस कारणले पनि नाफा बढेको सम्बन्ध क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन् ।
आर्थिक वर्ष २०६८/६९ मा १५ अर्ब १० करोड १९ लाख नाफा कमाएका बैंकहरूले गएको वर्ष २०७२/७३ सम्म आइपुग्दा १४२ प्रतिशतभन्दा बढीले नाफा वृद्धि गरेका छन् । गएको वर्ष वाणिज्य बैंकहरूले ३६ अर्ब ५७ करोड ४६ लाख नाफा कमाएका थिए ।
वाणिज्य बैंकहरूले चालू आवको पहिलो ६ महिनामा २० अर्ब ८४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका छन् ।
बढ्दो महँगीको सकारात्मक असर बैंकको नाफामा देखिएको छ । भारतको अघोषित नाकाबन्दीको समयमा बढेको बजार भाउ नाकाबन्दी खुलेपछि पनि नियन्त्रण नहुँदा बैंकहरूको नाफा उच्च भएको हो । व्यापारमा गएको कर्जाकै कारण बैंकको नाफा उच्च भएको बैंकर्स बताउँछन् । अन्य क्षेत्रको कर्जाभन्दा व्यापारको कर्जाबाट बढी नाफा कमाउन सकिन्छ । किनकि यस्तो कर्जा छोटो अवधिको हुन्छ । यसले गर्दा पुँजी घुमिरहेने र यस्तो पुँजीले बढी नाफा दिने बंैकर्सले बताएका छन् ।
पोहोर, परार बैंक अधिक तरलताको अवस्थामा थियो । उद्योग क्षेत्रमा पूर्वाधार निर्माण हुन नसक्दा औद्योगिक क्षेत्रमा पनि लगानी खासै सकेको थिएन । राजनीतिक अस्थिरता, मजदुर समस्यालगायतका कारण उद्योग पनि पूर्णक्षमतामा सञ्चालन हुन सकेका थिएन । पछिल्लो समय लगानीका नयाँ क्षेत्रमा समेत बैंकले योजना ल्याएर लगानीका छन् ।
उत्पादनमूलक क्षेत्रमा खासै बैंकहरूले लगानी गर्न नसक्दा नाकाबन्दीको समयमा वीरगन्ज नाका प्रभावित भए पनि अन्य नाकाको व्यापार अझ बढेको थियो । नाकाबन्दी हटेपछि त्यहाँ रोकिएका सामान पनि एकै पटक आएका कारण व्यापार कर्जाले बैंकको नाफा बढाएको देखिन्छ । सामान्य अवस्थामा उधारोमा सामान बिक्री गर्ने व्यापारीले पनि नाकाबन्दीको समयमा नगदमा कारोबार गरेका र सोही कारण अल्पकालीन कर्जाको बढी प्रयोग हुँदा बैंकको नाफा बढेको उनको तर्क छ । त्यसो त पछिल्ला वर्ष निक्षेप तथा कर्जा बढ्दै गएको छ । बैंकहरूले अधिक तरलता भएको देखाउँदै निक्षेपमा खासै आकर्षक ब्याजदर नदिएर एकोहोरो कर्जामा मात्रै प्रडक्टअनुसार ब्याजदर बढाउँदै लगे । सोही अनुपातमा निक्षेप कर्जालाई ब्याज दिएनन् त्यसैले बैंकहरूको नाफा बढेको हो ।
यसका साथै नाकाबन्दीका समयमा आपूर्ति प्रणालीमा समस्या उत्पन्न भएपछि वस्तुको मूल्यमा अत्यधिक वृद्धि भई १२ प्रतिशतभन्दा माथि मूल्य वृद्धि पुगेको छ । वस्तुको मूल्य र व्यापार बढ्यो त्यो पनि नगदमै छिटोछिटो कारोबार भइराख्दा बैंकको कर्जा बढी उपभोग भएको र त्यसैका कारण बैंकको नाफा बढेको हो ।
व्यापारमा गएको कर्जा, भूकम्प र नाकाबन्दीका कारण समस्यामा परेका उद्योग प्रतिष्ठान तथा व्यापारिक घरानालाई गत चैत मसान्तसम्मका लागि कर्जा पुनर्तालिकीकरण गर्न राष्ट्र बैंकले दिएको सुविधा र ब्याज आम्दानी वृद्धिका कारण बैंकको नाफा बढ्न गएको हो । नाकाबन्दीको समयमा महँगी बढ्दा व्यापारमा संलग्न व्यक्ति र संस्थाले पैसा कमाएका र विगतमा ऋणको किस्ता तिर्न नसकी प्रोभिजनिङ गरिएको कर्जाको ‘राइट ब्याक' बढेका हो ।