ओप्पोको एफथ्री प्लस सार्वजनिक
काठमाडौः ओप्पोले आगामी बिहीबार आफ्नो एफथ्री सिरिजअन्तर्गतको एफथ्री प्लस स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । नयाँ डुअल सेल्फी क्यामेरासहितको उक्त फोन एकैपटक विश्वका पाँच मूख्य बजारमार्फत सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । यसमा १६ मेगापिक्सेलको प्रमुख क्यामेरा र आठ मेगापिक्सेलको सव क्यामेराले उच्च गुणस्तरको तस्बिर खिच्ने कम्पनीको दाबी छ ।
भारत, इन्डोनेसिया, म्यानमार, फिलिपिन्स र भियतनाम गरी पाँच प्रमुख बजारमा ओप्पोले एफथ्री सिरिजअन्तर्गतको एफथ्री प्लस एकै पटक सार्वजनिक गर्ने तयारी गरेको हो । ओप्पोका उपाध्यक्ष तथा इन्टरनेसनल मोबाइल बिजनेसका प्रबन्ध निर्देशक स्काइ लीले उत्पादनमा नवप्रवर्तन ओप्पोको मूल उद्देश्य तथा प्रमुख ब्रान्ड भ्यालू भएको बताए । उनले एफथ्री सिरिजले सेल्फी प्रविधिलाई नयाँ उचाइमा लैजाँदै नयाँ ट्रेन्ड सेट गर्नेमा विश्वस्त रहेको उल्लेख गरे । नयाँ प्रविधिले उल्लेख्य सफलता हात पार्नुका साथै अन्य कम्पनीलेसमेत पछ्याउने उनले बताए ।