मधेसी मोर्चा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमाः राई
भक्तपुरः नेकपा एमालेका नेता शेरधन राईले मधेसी मोर्चा संविधान कुनै पनि हालतमा कार्यान्वन गर्न नदिने षड्यन्त्रमा लागिपरेको आरोप लगाएका छन्। राईले पटक–पटक वार्तामा बोलाउँदा पनि आन्तरिक विवाद मिलाउन नसक्ने मोर्चाले कुनै पनि हालतमा संविधान संशोधन गर्न नचाहेको र विभिन्न बहानाबाजी बनाएर संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागिपरेको बताए।
रफत सञ्चार क्लवले भक्तपुरमा बिहीबार गरेको साक्षात्कारमा नेता राईले मधेसी मोर्चाको नियतमै खोट भएको बताए। मोर्चालाई तीन पटक लिखित रुपमा पत्र नै थमाएर वार्तामा बस्न आह्वान गर्दा पनि वार्तामा बस्न नचाहेको बताए। मोर्चाको नियतमै खोट भएकाले मधेसी मोर्चा देशलाई कसरी अराजक, द्वन्द्वमा राखिराख्न सकिन्छ भनेर विभिन्न बहानाबाजी गरिरहेको उनले बताए।
वर्तमान संविधान संशोधनलाई जस्ताको तस्तै पारित गरे पनि मोर्चाले कुनै न कुनै बहाना बनाएर वर्तमान संविधान कार्यान्वयन गर्न नदिने उनले स्पष्ट पारे। उनले भने,‘मोर्चा नेताहरु मौका परे संविधानसभा आउने भक्ता खाने र सरकारमा जाने, मौका नपर्दा संविधान नमान्ने भनेर विरोधमा हिड्ने दोहोरो चरित्रको अत्य गर्नुपर्छ।’ मोर्चाले एउटै स्वरमा वार्तामा बस्न चाहेमा राष्ट्रिय एकता र सदभावमा आँच नआउने गरी संविधान संशोधन गर्न सकिने उनले स्पष्ट पारे।
सरकार स–साना कुरामा अल्झेर संविधान कार्यान्वयनमा इमान्दार नभएको उनले बताए। वर्तमान सरकाले प्रमुख विपक्षी एमालेलाई वाईपास गरेर राप्रपाजस्ता स–साना पार्टीलाई सरकारमा सामेल गराएर तालमेल गर्नुको उद्देश्य सक्ता केही दिन र महिना दिन भएपनि टिकाउने खेल मात्र गरेको दावी गरे।
संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा जस्ताको तस्तै पारित हुन नसक्ने बताउँदै उनले एमालेले संविधान संशोधन पारित गर्न नदिने उल्लेख गरे।