अर्थमन्त्रीको जवाफ चित्त नबुझेपछि लेखा समितिले प्रधानमन्त्रीलाई बोलायो
काठमाडौं : एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिने विषयमा सरकारले गरेको निर्णयका विषयमा बुझ्न व्यवस्थापिका संसदको लेखा समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलाउने निर्णय गरेको छ।
बिहीबार बसेको लेखा समितिको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महरा र राजश्व सचिव राजन खनालको जवाफ चित्त बुझ्दो नभएपछि समितिले प्रधानमन्त्री प्रचण्डलाई बोलाउने निर्णय गरेको हो।
एनसेलको पुँजीगत लाभकरका सम्बन्धमा सरकारले गरेको निर्णयका विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने निर्णय भएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए।
समितिले प्रधानमन्त्रीको समय लिएर बोलाउने निर्णय गरेको भए पनि मिति भने तोकेको छैन्। सरकारले एनसेल बिक्रेता कम्पनी टेलियालाई पुँजीगत लाभकर तिराउने निर्णय गरेर एनसेललाई करबाट उन्मुक्ति दिने निर्णय गरेको विषयमा समितिले प्रधानमन्त्रीसँग जवाफ माग्ने भएको हो।
समितिले टेलियाले नभएर एनसेलले नै कर तिर्नुपर्ने निर्णय समेत गरेको छ।