मेगा बैंकको १४ प्रतिशत बोनस
काठमाडौः मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस दिने भएको छ । बैंकको बिहीबार राजधानीमा सम्पन्न छैटौं साधारणसभाले बोनस सेयरका लागि करसमेत गरी १३.९५ प्रतिशत बोनस सेयर पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि प्रतिसेयर ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने व्यवस्था गरेको हो ।
बैंकका अध्यक्ष भोजबहादुर शाहले आर्थिक वर्ष २०७२/७३ मा बैंकले आर्जन गरेको सञ्चित मुनाफाबाट बैंकको हालको चुक्ता पुँजीको १३.२५ प्रतिशत अर्थात ५३ करोड १६ लाख बोनस सेयर तथा करका लागि चुक्ता पुँजीको ०.७० प्रतिशत अर्थात दुई करोड ८० लाख नगद लाभांश पारित गरेको छ । सञ्चालनको छोटो अवधिमा अहिलेको मुनाफा दिनसक्नु उपलब्धीका रूपमा लिनुपर्ने उनले बताए ।
यसैगरि साधारणसभाले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । यो निर्णयले करिब एक लाख ४० हजार सेयरधनी लाभान्वित हुनेछन् । मेगा बैंकले २०७१/७२ मा बैंकले ३४ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएकोमा २०७२/७३ मा बढेर ५५ करोड १० लाख पुगेको छ । त्यस्तै बैंकको कुल निक्षेप सात अर्ब ७७ करोडले वृद्धि भई ३८ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ भने खुद कर्जा पनि ६ अर्ब ६५ करोडले वृद्धि भई ३४ अर्ब एक करोड रुपैयाँ पुगेको छ ।