कञ्चनपुर घटनाबारे भारतले माफी माग्नु पर्छः सञ्चारमन्त्री
भक्तपुरः सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक नेपालीको गोली हानी हत्या गरेको घटनाबारे भारतले माफी माग्नु पर्ने बताएका छन्।
रफत सञ्चार क्लबले भक्तपुरमा शुक्रबार आयोजना गरेको साक्षात्कारमा सरकारका प्रवक्तासमेत रहेका सञ्चामन्त्री कार्कीले एसएसबीको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको घटनाका विषयमा सरकारले सत्य तथ्य छानविन गरेर भारत सरकारलाई रिपोर्ट पठाएकाले माफी माग्नु पर्ने बताएका हुन्।
उनले भारतीय प्रहरीको गोली लागेर नै गौतमको मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट आएकाले भारत सरकारलाई गल्ती स्वीकार्न आग्रह गरिएको बताए। मन्त्री कार्कीले सप्तरीमा पाँच जनाको ज्यान जाने गरी भएको गोलीकाण्ड एमालेको अपरिपक्वताले घटेको बताए। सरकारका तर्फबाट सो क्षेत्रमा एमालेलाई उत्तेजक भाषण नगर्न आग्रह गरिएको बताउँदै उनले एमालेको सुरक्षाप्रति ध्यान नजाँदा र जिद्दीपनले गोलीकाण्डको घटना भएको बताए।
कार्कीले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गरे। उनले मधेसी मोर्चासँग निरन्तर संवाद भइरहेकाले छिट्टै मोर्चा सहमतिमा आउने र स्थानीय तहको निर्वाचन हुँदैन कि भनेर आंशका नगर्न आग्रह गरे। उनले मधेसी मोर्चाबिना निर्वाचनमा गए मधेसमा अतिवादले प्रश्रय पाउने भएकाले मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनु पर्ने बताए।