यस्ता छन् प्रचण्ड र सीबीच बेइजिङमा हुने छलफलका एजेण्डा
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको छ। चैत १० गते प्रधानमन्त्री प्रचण्ड बेइजिङ प्रस्थान गरी राष्ट्रपति सीसँग भेटवार्ता गरेर बोआओ फोरममा सहभागी हुन जाने कार्यक्रम तय गरिएको छ।
‘एशियाको अवधारणामा स्वतन्त्र व्यापार र विश्वव्यापीकरण’ विषयमा चीनको हेनान प्रान्तमा पर्ने बोआओमा हुने छलफलमा पनि प्रधानमन्त्री प्रचण्डले सहभागिता जनाउने छन्। प्रधानमन्त्री प्रचण्डका एक सहयोगी नेताका अनुसार चिनियाँ राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता गरेर मात्रै बोआओ फोरममा सहभागी हुन जाने कार्यक्रम बनाइएको छ। राष्ट्रपति सीसँगको भेटवार्तामा प्रधानमन्त्री दाहालले चीनले अगाडि सारेको वान वेल्ट,वान रोडको अवधारणामा समर्थन जनाउने ती नेताले बताए।
-वान वेल्ट, वन रोडको अवधारणामा हस्ताक्षर हुन सक्ने
-नेपाल-चीन शान्ति तथा मैत्री सन्धीको प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति गर्ने
-व्यापार तथा पारवहन सम्झौतालाई कार्यान्वयनको प्रक्रियामा लैजाने
-विद्युत आदान प्रदानका लागि प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढाउने
-अन्तरदेशीय रेल्वे लाइन विस्तारको प्रक्रिया अगाडि बढाउने
-चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिने
वान वेल्ट वान रोडको चीनको अवधारणामा भारतले समर्थन जनाउन असहमति जनाएका कारण नेपालले पनि प्रष्ट धारणा व्यक्त गर्न सकिरहेको छैन। वान वेल्ट वान रोड अवधारणा बारेमा चिनियाँ विदेश मन्त्रालयले पठाएको पत्रको जवाफ नेपालको परराष्ट्र मन्त्रालयले पठाइसकेको छ। ‘दुई राष्ट्र प्रमुखबीच यसबारेमा सम्झौता हुन सक्छ,’ उच्च स्रोतले भन्यो।
ती नेताका अनुसार प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच नेपाल-चीन शान्ति तथा मैत्री सन्धीको प्रक्रिया अगाडि बढाउने बारेमा सैद्धान्तिक सहमति गर्ने हुन सक्नेछ। यसअघि ०६५ मा प्रचण्ड प्रधानमन्त्री भएका वेलामा पनि शान्ति तथा मैत्री सन्धीको मस्यौदा आदान प्रदान गर्ने क्रममा समझदारीमा नपुग्दै सार्वजनिक भएका कारण सो सम्झौता तुहिएको थियो ।
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटवार्तामा नेपाल-चीनबीच व्यापार तथा पारवहन सम्झौतालाई कार्यान्वयनको प्रक्रियामा लैजानेबारे पनि छलफल हुने ती नेताले बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा गत वर्ष चीन भ्रमण गरेका वेला नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौता भएको थियो। तर, त्यसलाई कार्यान्वयनमा लैजान अवलम्बन गरिनु पर्ने कुटनीतिक प्रक्रिया भने अगाडि बढेको छैन।
तिब्बतको केरुङबाट अन्तरदेशीय रेल्वे लाइन विस्तार गरी काठमाडाैं, पोखरा र लुम्बिनीसम्म लैजाने प्रक्रिया अगाडि बढाउन पनि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच छलफल हुनेछ । चीनले तीन वर्षभित्र केरुङसम्म रेल्वे लाइन विस्तार गर्ने गरी काम अगाडि बढाइरहेको छ। यसअघि पनि चीनबाट नेपालमा रेल्वे लाइन विस्तार गर्ने र त्यसका लागि चीनले लगानी गर्नेबारे पटक–पटक छलफल भएपनि त्यसबारे प्रक्रिया अगाडि बढेको छैन।
राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्डबीच विकास र समृद्धिका लागि त्रिदेशीय अवधारणामा अगाडि बढाउने उपाय खोज्न थप छलफल हुनेछ। ०६५ मा पनि राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्डबीच यसबारेमा गहन छलफल भएको थियो। त्रिदेशीय समझदारी अगाडि बढाउन भारत सहमत भइनसकेका कारण राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्डको प्रयासले सार्थकता पाउन सकिरहेको छैन।
पूर्वी नेपाल र तिब्बतमा विद्युत आदान प्रदानका लागि प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच छलफल हुनेछ। पूर्वप्रधानमन्त्री ओली चीन भ्रमणमा गएको वेलामा पनि यसबारेमा छलफल भएको थियो। ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका अहिलेसम्म खुलेको छैन। सो नाका खुलाउन प्रधानमन्त्री प्रचण्डले चिनियाँ पक्षलाई आग्रह गर्ने योजना पनि रहेको ती नेताले बताए।
प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिनेछन्। राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने आश्वसन प्रधानमन्त्री प्रचण्डलाई दिन सक्ने ती नेताले बताए। ती नेताका अनुसार गत वर्ष चैत ७ देखि १२ गतेसम्म तत्कालीन प्रधानमन्त्री ओलीले गरेको चीन भ्रमणका क्रममा भएका समझदारीलाई पुनर्ताजगी गर्ने र केही विषयहरुलाई अगाडि बढाउने बारेमा प्रधानमन्त्री प्रचण्डको पहल हुनेछ। ओलीको चीन भ्रमणका वेला जारी गरिएको १० बुँदे व्यापार तथा पारवहन सम्झौता र भ्रमणको अन्त्यमा जारी गरिएको २५ बुँदे संयुक्त वक्तव्यमा समेटिएका विषयहरुलाई पुनर्ताजगी गर्ने र ती विषयहरुलाई कार्यान्वयनमा लैजानेबारे दुई नेताबीच छलफल हुनेछ।
स्रोतका अनुसार दुई नेताबीच नेपालको संविधान कार्यान्वयनको अवस्था, घोषित स्थानीय तहको निर्वाचन, नेपाललाई तीब्र गतिमा विकासमा लैजाने उपायबारेमा पनि छलफल हुन सक्छ। चीनका रक्षामन्त्रीको नेतृत्वमा २३ सदस्यीय टोली चैत १० गते २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउँदैछन्। रक्षामन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री प्रकाशशरण महत, राष्ट्रपति विद्यादेवी भण्डारी लगायतका उच्च अधिकारीसँग भेटवार्ता गर्ने चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डसँगको भेटबारेमा भने अन्यौल देखिएको छ। उच्च स्रोतका अनुसार भ्रमणको कार्यातालिका निश्चित भइसकेपछि प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई रोक्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल भने रोकिएको छैन।