संशोधन प्रस्ताव मतदानमा लैजान कांग्रेस सांसदको दबाब

संशोधन प्रस्ताव मतदानमा लैजान कांग्रेस सांसदको दबाब

काठमाडौः कांग्रेसका तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूले संविधान संशोधन विधेयक पास/फेल जे भए पनि संसद्मा पेस गर्न नेतृत्वमाथि दबाब दिएका छन् ।शुक्रबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा बसेको तराई र मधेसबाट प्रतिनिधित्व गर्ने तीन दर्जन सांसदको बैठकले सरकारले पेस गरेको चारबुँदे संशोधन प्रस्ताव संसद्मा अड्काउन नहुने भन्दै छिटो मतदानमा लैजानुपर्ने निष्कर्ष निकालेको हो । ‘संविधान संशोधन प्रस्ताव संसद्मा अड्काएर राख्नु हुँदैन । निर्णयका लागि पेस गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ', बैठकमा सहभागी सांसद भरतकुमार शाहले अन्नपूर्णसँग भने, ‘संशोधन प्रस्ताव अघि बढाउन पार्टी नेतृत्वसँग आग्रह गर्ने निर्णय भएको छ ।'

बैठकमा सहभागी अधिकांश सांसदले संशोधनलाई संसद्मा मतदानमा लगेर मात्रै चुनावी अभियानमा जानुपर्ने धारणा राखेका थिए । उनीहरूले प्रस्ताव फेल भए पनि त्यसले स्थानीय चुनावमा कांग्रेसलाई तराई–मधेसमा फाइदा हुने धारणा राखेका थिए । सुरुदेखि नै संशोधनका पक्षमा रहेको कांग्रेसले संशोधन प्रस्तावको छिनोफानो संसद्बाट जतिसक्दो चाँडै गर्नुपर्ने धारणा राख्दै आएको छ । तर सरकारको नेतृत्व गरेको माओवादी केन्द्र भने प्रस्ताव मतदानमा लैजान तयार भैसकेको छैन ।

मधेस र तराईबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसदले भने मधेससम्बन्धमा कांग्रेसको आफ्नो अडान देखाउन पनि प्रस्तावमा मतदान आवश्यक रहेको धारणा बैठकमा राखेका थिए । ‘पास र फेल जे भए पनि मतदानमा लैजाँदा कांग्रेसलाई फाइदा हुन्छ', बैठकमा सहभागी अर्का सांसदले भने, ‘त्यसका लागि पार्टीले माओवादी केन्द्रसँग वार्ता गरेर छिटो टुंगोमा पुगोस् भन्ने सबैको धारणा छ ।'

बैठकमा सुरुदेखि नै संशोधनको कडा विरोध गर्दै आएको प्रतिपक्षी एमाले पनि प्रस्ताव मतदानमा लैजाँदा पुरानो अडान परिवर्तन गर्नुपर्ने स्थितिमा पुग्ने धारणा व्यक्त गरिएका थिए । एमालेका पनि मधेसी सांसदहरू उक्त चारबुँदे संशोधनको विपक्षमा मतदान गरी मधेसमा चुनावमा जान नसक्ने धारणा अधिकांशले राखेका थिए । ‘संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न मधेसबाट प्रतिनिधित्व गर्ने कुनै पनि दलका सांसदले सक्दैनन्', बैठकमा सांसद फरमुल्ला मन्सुरले राखेको धारणा सुनाउँदै अर्का सांसदले भने, ‘त्यसैले एमाले कुनै पनि हालतमा मतदानमा नलैजाने रणनीतिमा लागेको हो । प्रस्ताव छिटो मतदानमा लैजानुपर्छ ।'

मधेससम्बन्धमा कांग्रसको अडान देखाउन पनि प्रस्तावमा मतदान हुनुपर्ने अडान ।

केही सांसदले भने बैठकमा एमालेका मधेसी सांसदहरूसँग पनि छलफल भएको भन्दै सदनमा प्रस्तावमा मतदान भए परिस्थिति फेरिनसक्ने धारणा राखेको सुनाएका थिए । संविधान संशोधन भए चुनाव पनि सुनिश्चित हुने भन्दै सांसदहरूले प्रस्ताव मतदानमा लगेर पास गराउनतर्फ पार्टी अघि बढ्नुपर्ने धारणा राखेका थिए । बैठकले चैत १० गते हुने पार्टी केन्द्रीय समितिको बैठकमा यससम्बन्धमा छलफल गरी संशोधन प्रस्ताव संसद्मा तत्काल मतदानमा लैजाने गरी निर्णय गर्न आग्रह गर्ने निष्कर्ष निकालेको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले १० गते बिहान केन्द्रीय समिति बैठक डाकेको छ । बैठकमा संविधान संशोधन प्रस्ताव, स्थानीय चुनालगायत विषयमा छलफल गर्ने तयारी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.