तपाईंलाई गर्मी मौसम कस्तो लाग्छ ?
गर्मीले मानिसको सोच्ने शक्तिमा ह्रास ल्याउँछ जस्तो लाग्छ। मलाई गर्मीमा काम गर्न गाह्रो लाग्छ। म गाउँमा हुर्केको मान्छे। गर्मीमा बोटबिरुवाको छहारीमा रमाइलो गरी सिर्र सिर्र हावाको झोकामा आनन्द लिन पाइन्थ्यो। अहिले कामकाजी भइयो। काठमाडौंमा प्रदूषण र गर्मीबाट साह्रै दुःख पाइएको छ।
सुरेशकुमार कार्की, कार्यकारी निर्देशक, रेडियो नेपाल
चिसो रमाइलो लाग्ने हुनाले जाडो मौसम मन पर्छ। रमाइलो पनि हुन्छ। जाडो मौसममा विभिन्न लेयर बनाएर लुगा लगाउन पाइने हुनाले राम्रो लाग्छ। गर्मीमा बाहिर निस्कनै गाह्रो लाग्छ। त्यसैगरी पसिना धेरै आउने हुनाले चलचित्र छायांकनमा पनि गाह्रो हुन्छ।
नम्रता श्रेष्ठ, नायिका
म पहाडमा जन्मेहुर्केकाले होला, गर्मी त्यति मन पर्दैन। अहिले त काठमाडौंमा पनि तराईमा जस्तै गर्मी हुन्छ। गर्मीमा पसिना बढी आउने, मेकअप बिग्रने र छालामा प्रायः काठमाडौंमै बस्ने भएकाले मलाई जाडोभन्दा गर्मी नै रमाइलो लाग्छ। जाडोमा बिहान उठ्नै गाह्रो। पानी चिसो हुने हुनाले नुवाइधुवाइ गरेर फ्रेस हुन पनि गाह्रो। गर्मीमा पानी प्रशस्तै पिउन सकिन्छ। फ्रेस भएर काममा ध्यान दिन सकिन्छ।
बेनिशा हमाल, नायिका
गर्मीमा थोरै लुगा लगाएर हिँड्न सकिने हुनाले काम गर्दा छरितो अनुभव हुन्छ। हाम्रो पेसाले गर्दा एकै ठाउँमा बस्न पाइँदैन। कार्यक्रमको सिलसिलामा जाँदा कतै जाडो हुन्छ त कतै गर्मी। गर्मी ठाउँमा जाँदा लामखुट्टेले सताउँछ। यसले रोग लाग्ने सम्भावना हुने भएकाले सचेत हुनैपर्छ। तैपनि मलाई जाडोभन्दा गर्मी नै मन पर्छ।
पशुपति शर्मा, गायक
गर्मी शब्द सुन्दै मलाई कुल्फी र आइसक्रिमको याद आउँछ। गर्मी मन पर्ने भनेको यसै कारणले हो। तर गर्मीले छालामा एलर्जी र घामले अनुहार कालो बनाउँछ। त्यसैले अनुहार फ्रेस देखाउन यी कुरामा चाहिँ निकै ख्याल गर्नुपर्ने हुन्छ।
प्रजिता कोइराला, विद्यार्थी
गर्मीभन्दा जाडो नै राम्रो लाग्छ। टन्न लुगा लगाएर काम गर्न पनि सकिन्छ। तराईमा बसेको भएर होला, गर्मी भन्ने बितिक्कै पसिनाले निथ्रुक्क भिजेको र सुत्न खोज्दा लामखुट्टे कराएको याद आउँछ। अनि गर्मीमा विभिन्न रोग पनि लाग्ने भएकाले जाडो नै राम्रो लाग्छ।
लोकसरी कुँवर, पत्रकार
मलाई गर्मी ठीकै लाग्छ। किनभने स्वास्थ्यका हिसाबले हेर्दा गर्मीभन्दा जाडो राम्रो हो। खानेकुराहरू छिटो बिग्रने भएकाले त्यस्ता खाना खाँदा बिरामी पर्ने डर बढी हुन्छ। तर गर्मीमा आफूलाई सुहाउने लुगा लगाएर हिँड्नचाहिँ पाइन्छ।
कल्याण मगर, कलाकार
मलाई त गर्मी सुन्दै जीउ सिरिंग हुन्छ। सानोमा त खुब मज्जा लाग्थ्यो। खोलामा नुहाउन गइन्थ्यो। अरूको घरको करेसाबारीबाट कागती चोरेर अहिले भनिने लेमन जुस बनाएर खाइन्थ्यो। अब कहाँ पाउनु यी कुरा।
अहिले त काठमाडौंको धुलो र धुवाँले एलर्जी हुन्छ। आफूलाई तनाव भएको बेला तरुनीको चर्तिकला यसै बेला देखिन्छ। लुगा लगाका छन् कि छैनन् भनेर नसोधी थाहा हुन्न। गर्मीमा तराई गयो भने पंखा चलिरहेको हुन्छ, पसिना बगिरहेको हुन्छ।
असीम तिमिल्सिना, विद्यार्थी