सेञ्चुरी र अल्पाइन गाभिँदै
काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको छ । शुक्रबार दुई संस्थाबीच प्राप्तीसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौताअनुसार अल्पाइन डेभलपमेन्ट बैंकले आफ्नो पुँजीमा हकप्रद जारी गरी करिब ४४ करोड रुपैयाँ पुँजी पुर्याउनेछ ।
अल्पाइन डेभलपमेन्ट बैंकको हाल १५ वटा शाखा सञ्चालनमा छन् । बैंकले २०७३ पुस मसान्तसम्म पाँच करोड पाँच लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै सेञ्चुरी बैंकले यसअघि नै इनोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने सहमति गरिसकेकोे छ । सेञ्चुरी बैंकले चार वटा संस्था प्राप्तीबाट करिब दुई अर्ब पुँजी वृद्धि गर्नेछ भने नपुग पुँजी हकप्रद सेयर जारी गरेर तथा चालू आवको मुनाफाबाट पुर्याउने लक्ष्य लिएको छ ।
यसैगरि सबै संस्था समाहित भएपश्चात बैंकको कुल शाखा कार्यालय ९० पुग्ने बैंकले जनाएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चालू आवको दोस्रो त्रैमासमा सञ्चालन मुनाफा ३२ करोड ७४ लाख तथा खुद मुनाफा २२ करोड ३९ लाख छ ।
बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले वृद्धि भएको छ भने यस वर्षको प्रथम त्रैमासभन्दा २०१.५० प्रतिशतले वृद्धि भएको हो । हाल सेञ्चुरी बैंककोे चुक्ता पुँजी तीन अर्ब ६८ करोड छ । त्यसैगरि, चालू आवको दोस्रो त्रैमासमा बैंकले ३२ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब एक करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।