बाह्य हस्तक्षेप सह्य हुँदैन: पोखरेल
नेपालगन्जः नेकपा एमाले महासचिव इश्वर पोखरेलले कुनै हालतमा निर्वाचन टार्ने र सार्ने कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
नेपालगन्जमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने, ‘निर्वाचन जसरी पनि तोकिएकै समयमा नै हुनुपर्छ, कुनै पनि हालतमा सार्न र टार्न मिल्दैन।'
मेची महाकाली राष्ट्रिय अभियान सकेर फर्किने क्रममा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अभियान दल विशेषको लागि मात्र नभई देश, जनता र संविधानको प्रतिरक्षाको लागि गरिएको बताए । उनले निर्वाचन कुनै पनि हालतमा टार्न मिल्दैन, बाह्य हस्तक्षेप सह्य हुँदैन भन्ने सन्देश जनतासम्म पुर्याउने काम अभियानले गरेको बताए ।
‘जनताको हार्दिकताले हामीलाई थप उत्साह प्रदान गरेको छ, पूर्व मेचीदेखि महाकालीसम्म लाखौ जनता सहभागी भएका छन्,' पोखरेलले भने । उनले देश र जनताको साझा मुद्दा अभियानमा उठेको बताए । उनले संविधान कार्यान्वयनको विकल्प नरहेको बताए । उनले एमालेले देश र जनताविरुद्ध कुनै पनि सम्झौता नगर्ने समेत बताए ।