बैंक अफ काठमाण्डू लुम्बिनीले २३ प्रतिशत बोनस दिने
काठमाडौं : बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बैंकको बिहीबार सम्पन्न २२ औं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो । सभाले बैंकको नयाँ सञ्चालक समितिका सदस्य पनि निर्वाचित गरेको छ ।
सभाले संस्थापक सेयरधनी समूहबाट सञ्जयबहादुर शाह, केदारनाथ गौतम, प्रकाश श्रेष्ठ तथा राधेश पन्तलाई सञ्चालकमा निवार्चित गरेको छ । त्यस्तै सर्वसाधारण सेयरधनी समूहबाट हेमराज सुवेदी, गोविन्दप्रसाद शर्मा, सौरभ केसी तथा मदनलाल जोशी निवार्चित भएको बैंकले जनाएको छ ।
साथै, बैंकका नवनिर्वाचित सञ्चालकको शनिबार बसेको वैठकले प्रकाश श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा निर्वाचित गरेको छ । बैंकले आव २०७२÷७३ मा सञ्चालन मुनाफा ९९ करोड २६ लाख र खुद मुनाफा ६५ करोड ५२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको सञ्चालन मुनाफा १३ करोड १५ लाख र खुद मुनाफा ३३ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।
साथै, बैंकको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७२÷७३ को अन्तसम्म कुल निक्षेप ६७ अर्ब ८४ करोड पुगेको छ भने खुद कर्जा ५८ अर्ब २२ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।