एचआर मीट २०१७ हुँदै
काठमाडौं : ग्रोथ सेलर्सले वार्षिक रूपमा आयोजना गर्दै आएको एचआर मीटको दसौं संस्करण एचआर मीट २०१७ आयोजना हुने भएको छ । चैत १६ र १७ गते काठमाडौंको सोल्टी होटेलमा एचआर मीट आयोजना हुने जनाइएको छ ।
'एचआर फर अल, अल फर एचआर' नाराको साथ आयोजना गरिने मानव संसाधन भेलामा निजी, सरकारी, अर्धसरकारी ,गैरसरकारी संघसंस्थालगायत विभिन्न क्षेत्रका दुई सय ५० भन्दा बढीको सहभागिता रहने संयोजन समितिका अध्यक्ष मोहन ओझाले जानकारी दिए । उनले अहिलेसम्म ५० प्रतिशतले भेलामा सहभागिता जनाउने प्रतिबद्धता जनाएको बताए ।
कार्यक्रममा प्रमुख वक्ताको रूपमा भारतबाट टीभीआरएलएसका अध्यक्ष टीभी राव, फ्याकल्टी अफ जेभिएर लेबर रिलेसन इन्स्चिच्युटबाट आईएसएफ राज उपस्थित हुनेछन् । दुई दिनसम्म चल्ने यस कार्यक्रममा स्वदेशी तथा विदेशी विशेषज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
कार्यकारी निर्देशक तथा मानव संसाधन विज्ञबीच नेपालको परिवेशमा मानव संसाधन अवस्थाबारे छलफल हुनेछ । कार्यक्रममा बोल्दै ओझाले अहिलेसम्म नेपाली कर्पोरेट संस्थाले मानव संशाधन विकासका लागि गरिने खर्चलाई लगानीको रूपमा नलिएर खर्चमा समेटेको जानकारी दिए ।